ओटिसी बजारमा ८४ कम्पनीका २ करोडभन्दा बढी कित्ता सेयर किनबेच, पौने ३ अर्बको कारोबार

  २०८० साउन ९ गते १५:२८     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको २ करोड १२ लाख ६४ कित्ता सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका कम्पनीको सङ्ख्या २ सय ६ वटा छ ।

दर्ता भएका कम्पनीमध्ये गत आर्थिक वर्ष ८४ वटा कम्पनीको सेयर २ अर्ब ८५ करोड ८४ लाख १९ हजार ८ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको हो । ओटिसी बजारमा भएको कारोबारबाट गतवर्ष ५ करोड २९ लाख ५५ हजार ९ सय ८० रुपेयाँ बराबरको पुँजीगत लाभकर प्राप्त भएको पनि नेप्सेले जनाएको छ । ओटिसी बजारमा काठमाडौँ फरेस्ट्री कलेजको सबैभन्दा धेरै प्रतिकित्ता १ हजार एक सय २५ मा दुई हजार दुई सय २२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

ओटिसी बजारमा सेयर कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सयका दरले किनबेच भएको देखिन्छ । नेपाल स्टक एक्सचेञ्जले ओटिसी बजारको अवधारणा विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको थियो ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण नभएका, सूचीकरण खारेज भएका तथा सूचीकरणका लागि आवश्यक शर्त पूरा हुन नसेका पब्लिक कम्पनीको सेयर कारोबार तथा नामसारी नेप्सेले ओटिसी बजारमार्फत् गर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.