पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम ४० प्रतिशत सम्पन्न

  २०८० असार २७ गते ७:१७     विकासन्युज

काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ४० प्रतिशत काम सकिएको छ । परियोजनाअन्तर्गत दोस्रो चरणको काम हालसम्म करिब ४० प्रतिशत सकिएको र बाँकी काम तीव्ररूपमा अघि बढेको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए ।

परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमाबाट बाराको अमलेखगञ्जस्थित डिपोमा ४ हजार सय किलोलिटर क्षमताका २ पेट्रोल ट्याङ्क, २ सय ५० किलोलिटर क्षमताका २ ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माणका भइरहेको प्रमुख उपाध्यायले बताए ।

सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्टयाउने ओडब्ल्युएस सिस्टम तथा पिएमसीसी कक्ष निर्माणको कामअघि बढेको उनको भनाइ छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्ने गरी लिखिता इनफ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ । यसै परियोजनाअन्तर्गत निर्माण हुन लागेको दुई पेट्रोल ट्याङ्कमध्ये एउटा नेपाल आयल निगम र अर्को ट्याङ्क भारतीय आयल निगमको लागतमा निर्माण भइरहेको छ ।

पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गरिदिने सम्झौता भएको प्रमुख उपाध्यायको कथन छ ।

परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलको आयात हुने जनाइएको छ ।

‘एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ, आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुन्छ,’ प्रमुख उपाध्यायले भने ।

यो आयोजनाको काम यही वर्षको डिसेम्बरसम्ममा सकिने र नयाँ वर्ष २०२४ जनवरीदेखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात हुने उनले जानकारी दिए । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख उपाध्यायको भनाइ छ ।

यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ । ९० दिनका लागि इन्धन भण्डारण गर्ने सरकारको नीतिअनुसार नेपाल आयल निगमले थप ५÷५ हजार किलोलिटर क्षमताको २ वटा ट्याङ्क निर्माणको कामअघि बढाएको प्रमुख उपाध्यायले बताए ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.