अब पशुधन र माछा दुबैको बीमा हुने, २ लाखसम्मको दुर्घटना बीमा, कति तोकियो प्रिमियम ?

  २०८० असार २६ गते १८:५४     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पशुधन तथा माछा बीमालेख जारी गरेको छ । प्राधिकरणले आगामी आर्थिक वर्ष अर्थात २०८० साउन १ गतेदेखि लागु हुने गरी उक्त बीमालेख जारी गरेको हो ।

प्राधिकरणले पशुधनमा हुने क्षति विरुद्ध बीमा गर्न पशुधन बीमालेख र माछा पालनमा हुने क्षति विरुद्ध बीमा गर्न माछा बीमालेख ल्याएको हो । यी दुई वटै बीमालेखमा विभिन्न ७ प्रकारको क्षति वा नोक्सानीको रक्षावरण हुन्छ । जसमा अग्निजन्य, हावाजन्य, पानीजन्य, भूमीजन्य, चट्याङ्जन्य, रोगजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणहरुबाट हुने क्षतिको रक्षावरण हुने छ ।

२ लाखसम्मको दुर्घटना बीमा

यो दुबै बीमालेखमा अतिरिक्त सुविधा अन्तर्गत २ लाख सम्मको दुर्घटना बीमा रहेको छ । बीमा अवधिभित्र आत्महत्या बाहेकका अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी हड्डी काम नलाग्ने भएमा, कुनै हात खुट्टा काम नलाग्ने भएमा र दुईवटै आँखाको दृष्टि गुमेमा मात्रै बीमितले यो सुविधा पाउने छन् ।

कसरी गरिन्छ बीमांक निर्धारण ?

पशुधन बीमालेखको बीमांक रकम विभिन्न पक्षबाट निर्धारण हुनेछ । प्रति प्रशुधन एक लाख रुपैयाँसम्मको बीमांक रकम कायम गर्दा बीमक, बीमित र प्राविधिकको आपसी सहमतिमा प्रचलित बजार मूल्यभन्दा बढी नहुने गरी कायम गर्नुपर्ने छ । त्यस्तै, एक लाखदेखि माथि दुई लाख रुपैयाँसम्मको बीमांक रकम कायम गर्दा सम्बन्धित स्थानीय तहबाट सिफारिस लिएको हुनुपर्ने छ । दुई देखि तीन लाखसम्मको कायम गर्दा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत सिफारिस लिनु पर्ने र सोभन्दा माथि प्रति प्रशुधनको बीमांक कायम गर्दा वंशावली अभिलेख, जातीय शुद्धताको प्रमाण, औषत दुग्ध उत्पादन र उमेरको विवरण पेश गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

यता माछाको बीमांक निर्धारण कायम गर्दा माछाको बीमांक निर्धारण सूचक बमोजिम उत्पादन मूल्यलाई आधार लिनु पर्ने निर्देशिकामा स्पष्ट पारिएको छ ।

कति लाग्छ प्रिमियम ?

पशुधन बीमालेख अनुसार पशुधनको बीमा गर्दा बीमांक रकमको पाँच प्रतिशतका दरले बीमाशुल्क (प्रिमियम) लाग्ने छ । दुर्घटना बीमाबापत बीमाशुल्क प्रतिबीमित ५ सय रुपैयाँ लाग्ने छ ।

त्यस्तै, माछा बीमामा तीन प्रतिशत प्रिमियम तोकिएको छ । यो बीमा न्यूनतम तीन महिनादेखि अधिकतम १२ महिनासम्म गर्न सकिने छ । बीमा प्राधिकरणका अनुसार १२ केजीभन्दा माथिको माछाको बीमा हुँदैन । र, पशुधन बीमाको जस्तै माछा बीमामा पनि दुर्घटना बीमा बापत प्रिमियम प्रति बीमित ५ सय रुपैयाँ लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.