एटीआरमय बन्दै आन्तरिक उडान, ठूला जहाज बेच्दै

  २०८० असार २४ गते १२:००     विकासन्युज

काठमाडौं । अहिले आन्तरिक उडान गर्दै आएका बुद्ध र यती एयरलाइन्सले एटीआर जहाज मार्फत् उडान गर्दै आएका छन् । यसअघि अन्य कम्पनीका जहाजबाट समेत उडान गर्दै आएका दुई एयरलाइयन्सले अहिले एटीआर बाट मात्रै उडान गर्न थालेका छन् ।

अन्य जहाजको तुलनामा हवाई इन्धनदेखि सञ्चालन खर्च कम हुन थालेपछि उनीहरुले पुराना जहाज विस्थापित गर्दै एटीआरलाई प्राथमिकता दिएका हुन् ।

दुई वायु सेवा कम्पनीसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमदेखि अन्य निजी क्षेत्रका वायुसेवा कम्पनीको ध्यान एटीआरमा पर्न थालेको छ ।

निगमले एटीआर कम्पनीका ३ जहाज किन्ने

हाल टिवनअटर जहाज मार्फत आन्तरिक उडान गर्दै आएको नेपाल एयरलाइन्सले एटीआर जहाज ल्याउने तयारी थालेको छ । जसका लागि निगमले अध्ययन समिति नै बनाएर जहाज ल्याउने तयारी थालेको निगमका उपनिर्देशक तथा प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

दुई वटा जहाजबाट मात्रै आन्तरिक उडान गर्न नसकिने भएपछि एटीआर मोडलका ३ वटा जहाज खरिद गरेर थप उडान गर्ने तयारी भएको उनको भनाई छ । निगमले ऋणमा नभएर आन्तरिक व्यवस्थापनमै निर्माता कम्पनीबाटै जहाज ल्याउने तयारी गरेको हो ।

सौर्यले पनि एटीआर जहाज ल्याउने 

हाल सिआरजे २०० मोडलको जहाजबाट आन्तरिक उडान गर्दै आएको सौर्य एयरले समेत एटीआर जहाज ल्याउने तयारी थालेको छ । जसका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट अनुमति समेत पाइसकेको छ ।

वायुसेवा कम्पनी डेढ वर्षदेखि आर्थिक संकटमा छ । एयरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्य सिआरजे जहाजको सञ्चालन खर्च महँगो भएपछि एटीआर जहाज ल्याउने तयारी थालिएको बताउँछन् ।

‘अहिले हामीलाई नेपालका बैंक तथा वित्तीय संस्थाले ऋण उपलब्ध गराएका छैनन्, नेपाली बैंकबाट ऋण नपाएपछि हामीले अन्तर्राष्ट्रिय कम्पनी मार्फत नै ऋणमा एटीआर जहाज ल्याउने तयारी थालिसकेका छौँ’, उनले भने, ‘जहाज ल्याउनका लागि छलफल भैरहेको छ, अब छिट्टै एटीआर जहाज ल्याउँछौँ ।’

उनले एटीआर जहाजको सञ्चालन खर्चभन्दा सिआरजे जहाजको सञ्चालन खर्च झन्डै दोब्बर हुँदा लामो समयदेखि कम्पनी नोक्सानीमा सञ्चालन भैरहेको बताए ।

‘एटीआर जहाजभन्दा हाम्रो जहाजको सञ्चालन खर्च दोब्बर जस्तै छ, उनले भने, ‘काठमाडौं विराटनगर रुटमा उडान गर्दा एटीआर जहाजले १ हजार किलोलिटर इन्धन खपत गर्न भने हाम्रा जहाजले १८ सय किलोलिटर खर्च गर्छ, एटीआर ७२ सिटे हो भने हाम्रा जहाज ५० सिटे क्षमताको मात्रै हो ।’

एटीआरभन्दा छिटो उडान गर्ने भएपनि सञ्चालन खर्च नै बढी भएपछि अबको विकल्प नै एटीआर रहेको उनको भनाइ छ ।

कम्पनी लामो समयदेखि नोक्सानीमा चल्दै आएको भन्दै पछिल्लो समय कर्मचारी कटौती गर्न थालेको छ । गत जेठ महिनामा मात्रै कम्पनीले धेरै कर्मचारी भएको भन्दै ३४ जना कर्मचारीलाई हटाएको छ । जसमा २ जना क्यापटेन, ३ जना इन्जीनियर र बाँकी मार्काेटीङका कर्मचारीहरु रहेको एयरलाइन्सले जनाएको छ ।

‘अरु वायुसेवा कम्पनीले सञ्चालन गरेको भन्दा हाम्रा जहाजको उडान खर्च नै बढी हुन्छ, लामो समयदेखि नोक्सानीमा उडान हुँदै आएपछि धेरै भएका कर्मचारी कटौती गरिएको हो’, एयरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्यले भने, ‘एटीआर जहाज आउन केही समय लाग्ने भएपछि पछि राख्ने शर्तमा कर्मचारी हटाएका हौँ ।’

उनले सौर्य एयरलाइन्स बन्द नभई एटीआर जहाज ल्याएर नयाँ ढाँचामा कम्पनी सञ्चालन हुने दाबी गरे ।

५ एटीआरबाट उडान गर्दै यती एयरलाइन्स

निजी क्षेत्रको लगानीमा सञ्चालित यती एयरलाइन्सले हाल ५ वटा एटीआर जहाजबाट आन्तरिक उडान गर्दै आएको छ । सन् २०१७ को जुलाइ २१ देखि ७२ सिट क्षमताको एटीआर जहाजबाट उडान सुरु गरेको हो ।

कम्पनीले विभिन्न गन्तव्यमा ६ वटा एटीआर जहाजबाट उडान गर्दै आएकोमा गत माघ १ गते पोखरामा दुर्घटनाभएपछि ५ वटाबाट मात्रै उडान गर्दै आएको कम्पनीले जनाएको छ । यसअघि यती र तारा एयरको नामबाट एटीआर, टीवनअटर तथा जेट स्ट्रिम गरी १७ वटा जहाजबाट विभिन्न गन्तव्यमा आन्तरिक उडान गर्ने गरेको थियो ।

साना जहाज विस्थापित गर्दै सुगर रुटमा एटीआर जहाज थप गर्दै पुराना जहाज विस्थापन गरिएको यती एयरलाइन्सका जनसम्पर्क तथा सञ्चार निर्देशक सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार जहाज संख्या कम भएपनि सिट संख्या धेरै छ ।

‘हामीले साना जहाजबाट विभिन्न गन्तव्यमा आन्तरिक उडान गर्दै आएका थियौँ, साना जहाजबाट उडान गर्दा सञ्चालन खर्च बढी तथा पुराना जहाज बिग्रने क्रम बढेपछि हामीले आन्तरिक उडानमा एटीआर मात्रै सञ्चालन गर्दै आएका छौँ’, उनले भने, ‘सुगम रुटमा उडान गर्दै आएको यतीले सबै उडान एटीआर बाट गर्ने गरेको छ भने दुर्गम रुटमा उडान गर्ने ताराले टिवनअटर जहाज सञ्चालन गर्दै आएको छ ।’

हाल यतीसँग ५ वटा एटीआर र तारासँग ३ वटा टिवनअटर गरी ८ वटा जहाजले आन्तरिक उडान गर्दै आएकोे छ ।

बिचक्राफ्ट जहाज बेचेर १५ वटा एटीआर बाट उडान गर्दै बुद्ध

बुद्ध एयरले सुरुवाती चरणमा उडान सुरु गरेको (२५ वर्ष) २ थान बिचक्राफ्ट ‘बी १९०० डी’ जहाज बिक्री गरेको छ । १९९७ सेप्टेम्बर ३० मा नेपाल पहिलो पटक नेपाल ल्याईएको बिचक्राफ्ट जहाज २५ वर्ष सञ्चालन गरेर गत माघमा क्यानडाको कम्पनीलाई बिक्री गरेको हो ।

पुरानो जहाज बिक्री गरेर बुद्धले हाल एटीआर कम्पनीका ४२ र ७२ सिटे १५ वटा जहाजबाट आन्तरिक उडान गर्दै आएको छ । सन् २००८ मा ४२ सिट क्षमताको पहिलो एटीआर जहाज भित्र्याएको बुद्धले थप नयाँ एटीआर जहाज ल्याउने तयारी गरेको बुद्धका प्रवक्ता दिपेन्द्र कर्ण बताउँछन् ।

‘हामीले लामो समयदेखि नै थप जहाज ल्याउने तयारी गरेका हौँ, तर विभिद कारणले आउन सकेको थिएन, जुलाईको अन्तिमसातासम्म ७२ सिटे थप एटीआर जहाज आइपुग्ने हाम्रो तयारी हो’, उनले भने ।

बुद्धसँग हाल ३ वटा ४२ सिटे र बाँकी १२ वटा ७२ सिट क्षमताको एटीआर जहाज रहेको छ ।

विस्थापित हुँदै जेट जहाज

आन्तरि उडानका लागि जेट इन्जिन जडान भएका जहाज उडान गर्दै आएका श्री र सौर्य एयरलाइन्सले उक्त जहाज विस्थापित गर्ने तयारी गरेका छन् ।

सञ्चालन खर्च नै धान्न सक्ने अवस्था नभएपछि दुई वायुसेवा कम्पनीले सञ्चालन गर्दै आएका ४ वटा जहाज लामो समयदेखि जहाज नै ग्राउण्डेड गर्दै आएका छन् । जसमा सौर्यको १ र श्रीको ३ वटा जहाज रहेका छन् ।

‘अन्य जहाजभन्दा सिआरजे जहाजको सञ्चालन खर्च एकदमै बढी छ, सञ्चालन खर्च धान्नै सक्ने अवस्था नभएपछि जहाज ग्राउण्डेड गरिएको हो’, श्री एयरका सूचना अधिकारी अनिल मानन्धरले भने, सिआरजे जहाजलाई विस्थापित गर्द हामीले हाल क्यू–४०० सिरिजका ४ वटा जहाजबाट उडान गर्दै आएका छौँ ।’

उनले एटीआर जहाजको सिट क्षमता ७२ हुदा क्यू ४०० सिरिजको जहाजको ८० सिट रहेको बताए । ‘एटीआर जस्तै सञ्चालन खर्च हो, तर सिट क्षमता बढी छ, हामीले सिआरजे मोडलका जहाज विस्थापित गर्दै क्यू–४०० सिरिज जहाज सञ्चालन गर्ने तयारीमा छौँ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.