कालीकोटमा फैलियो अज्ञात रोग, एउटै गाउँमा तीन सय जना बिरामी

  २०८० असार २३ गते १३:१६     विकासन्युज

फाइल फोटो

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन् । अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ ।

चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए । बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ । ‘गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौं,’ उनले भने । नौ बिरामीको रगतको नमुना सङ्कलन गरेर सुर्खेत पठाइएको मतले बताए ।

अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा टङ्कप्रसाद आचार्यले जानकारी दिए । ‘शुक्रबार एक सय ९४ महिला र एक सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेका छौं,’ उनले भने, ‘उपचार गर्न आउने दुई सय छ जना १५ वर्षमुनिका छन् ।’ सबै बिरामीमा एउटै किसिमको लक्षण भएको डा आचार्यले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.