५ वर्षपछि बढ्यो पर्यटन मजदुरको पारिश्रमिक, अब कति ?

  २०८० असार ५ गते १६:०५     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । पदयात्रा पर्यटनमा कार्यरत श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढ्ने भएको छ । कोरोना महामारीका कारण रोकिएको उनिहरुको न्यूनतम पारिश्रमिक ५ वर्षपछि बढ्न लागेको हो ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले पारिश्रमिक बढाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा पठाएको जनाएको छ ।

टानका अध्यक्ष निलहरी बास्तोला टानले पारिश्रमिक बढाउन सिफारिस गर्ने प्रचलन अनुसार बढाउन सम्बन्धित निकायमा जानकारी गराएको बताए ।

‘प्रत्यक २/२ वर्षमा पर्यटनमा कार्यरत कर्मचारीहरुको पारिश्रमिक बढाउने नियम थियो, कोभिडका कारण विगत लामो समयदेखि पारिश्रमिक नबढेको अवस्थामा हामीले बढाउन सिफारिस गरेका हौँ’, उनले भने ।

उनका अनुसार अनुसार बढेको पारिश्रमिक १ साउन २०८० देखि लागु हुनेछ । उनले ३५ प्रतिशतसम्म सेवासुविधा बढाउने गरी सिफारिस गरिएको बताए । उनका अनुसार अब पथ प्रदर्शकका रुपमा खटिने पर्यटन मजदुरले दैनिक ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने छन् । यसअघि अन्नपूर्णमा जाने गाइडको दर २ हजार १०० र सगरमाथा क्षेत्रमा जाने गाइडको पारिश्रमिक प्रतिदिन २ हजार २६८ रुपैयाँ रहेको थियो ।

यस्तै, सहायक पथ प्रदर्शक (सहायक गाइड) को २ हजार ८ सय, सहयोगी पथ प्रदर्शकको २ हजार ५ सय र सहयोगी श्रमिकको २ हजार ४ सय बनाईएको छ । यसअघि अन्नपूर्णमा जाने सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार १६ रुपैयाँ र सगरमाथाको २ हजार १ सय रुपैयाँ प्रतिदिन तोकिएको थियो । यसअघि सहयोगी श्रमिकको पारिश्रमिक अन्नपूर्णमा १ हजार ९३२ रुपैयाँ र सगरमाथा क्षेत्रमा २ हजार १ सय रुपैयाँ रहेको थियो ।

यसअघि अन्नपूर्ण र सगरमाथा क्षेत्रमा जाने श्रमिकको छुट्टा छुट्टै पारिश्रमिक पाउने गरेकोमा अब दुबै क्षेत्रमा समान ज्यालादर लागु टान अध्यक्ष बास्तोलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.