सुधारको दिशामा बैंकिङ : तरलता बढ्दै, ब्याजदर घट्दै

  २०८० असार ३ गते ११:४४     विकासन्युज

काठमाडौं । लामो समय तरलताको समस्या भोगिरहेको बैंकिङ क्षेत्रमा केही सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले बैंकका महत्वपूर्ण सूचकहरु सुधारको गतिमा देखिएका हुन् ।

पछिल्लो समय प्रणालीमा निक्षेप बढेसँगै बैंकहरु सहज अवस्थामा पुगेका हुन् । तरलता अभावकै कारण बैंकहरुले लामो समय ब्याज बढाउनु पर्ने बाध्यता थियो भने व्यवसायीले पनि कर्जा नपाइरहेको अवस्था थियो । तर, पछिल्लो केही तथ्यांकले भने बैंकहरु सहज अवस्थामा पुगेका हुन् ।

लामो समय ७ प्रतिशतको हाराहारीमा बसेको अन्तर बैंक ब्याजदर पनि घटेर साढे ५ प्रतिशतको हारहारीमा झरिसकेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अन्तर बैंक ब्याज दर ५ दशमलव ७४ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो ८४.१९ प्रतिशत कायम भएको छ । यसअघि अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको हाराहारीमा थियो ।

यस्तै, बैंकको निक्षेप पनि बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुमा कुल ५५ खर्ब ४७ अर्ब निक्षेप छ भने कुल ४८ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता हुँदा बैंकहरुले ब्याजदर पनि घटाउन थालेका छन् । असारमा बैंकहरुले सस्तोमै कर्जा लगानी गर्न थालेका छन् । बैंकहरुको आधारदर घटेसँगै कर्जाको ब्याजदर ०.२४ प्रतिशत बिन्दुले घटाएका छन् । असारमा बैंकहरुको औसत आधारदर १० प्रतिशत कायम भएको छ । चैतमा १०.४८ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको आधार दर वैशाखमा १०.२२ प्रतिशतमा झरेको छ । असारमा आधार दर घट्दै १० प्रतिशतमा आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण श्रेष्ठले पछिल्ला केही सूचकहरुले बैंकिङमा सुधारको अवस्था देखिएको बताए । उनले पहिलेको तुलनामा अहिले सुधार हुँदै गएको बताए । उनले उद्योग क्षेत्रमा स्प्रेड नतोक्ने विषयमा पनि सम्बन्धित निकायले सोच्ने पर्ने धारणा राखे । उद्योगमा स्प्रेडदर नतोके उपभोक्तालाई पनि सहज हुने बताउँदै उनले उद्योगमा सहुलियत दिन यस्तो व्यवस्था गर्नु पर्ने बताए ।

यद्यपि, कर्जाको माग भने खासै नबढेको बैंकरहरुले बताएका छन् । कतिपय बैंकहरुलाई अझै पनि प्राथमिक पुँजी कोषको दबाब छ । पुँजी कोषको दबाबले बैंकहरुले अपेक्षा अनुसारको लगानी विस्तार गर्न सकेका छैनन् ।

पुँजीकोषमाथिको दबाब कम गर्न बैंकहरुले खराब कर्जा असुलीलाई बढाउनु पर्ने हुन्छ । तर, बैंकहरुको खराब कर्जा असुली हुन नसकेको बैंकरहरु बताइरहेका छन् । अहिले आधा दर्जन बैंकहरुको प्राथमिक पुँजी कोष ९ प्रतिशत तल छ ।

बैंकहरुले भने पुँजी कोषमाथिको दबाब कम गर्न हकप्रद सेयरको माग गरिरहेका छन् । तर, राष्ट्र बैंक त्यसमा तयार छैन । राष्ट्र बैंकले बैंकहरुलाई पुँजी बढाउनका लागि हकप्रद नदिने अनौपचारिक रुपमा बैंकहरुलाई भनिसकेको छ । राष्ट्र बैंकले हकप्रद सेयरको मागभन्दा खराब कर्जा असुलीमा जोड दिन बैंकहरुलाई भनिरहेको छ ।

उसो त पछिल्लो समय घरजग्गा क्षेत्रमा केही सहज हुँदा त्यसको प्रभाव पनि बैंकिङमा परेको हो । पछिल्लो घरजग्गा क्षेत्रमा केही सुधार भएको तथ्यांकले देखाउँछ । त्यसको प्रत्यक्ष प्रभाव बैंकमा परेको जानकारहरु बताउँछन् । बैंकहरुको अधिकांश लगानी घरजग्गामा भएकोले त्यो क्षेत्र समस्यामा पर्ने बित्तिकै बैंकमा पनि समस्या आएको थियो । अहिले सो क्षेत्रमा केही सुधार हुँदा त्यसको प्रभाव बैंकमा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.