बुबाले अध्यक्षमा उम्मेदवारी दिएपछि कार्कीको समूहबाट बाहिरिन् अविज्ञा, नयाँ उम्मेदवार खोजिँदै

  २०८० जेठ २९ गते १५:३०     विकासन्युज

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्ष पदका उम्मेदवार गणेश कार्की नेतृत्वको समूहमा एउटा सचिव पद खाली भएको छ । यसअघि सचिव पदमा उम्मेदवार बन्ने चर्चामा रहेकी अविज्ञा मल्ल उम्मेदवारी घोषणाबाट पछि हटेपछि कार्कीको समूहमा एक जना सचिवको कमि भएको हो ।

हाल ईप्पानमा तीन जना सचिव रहने व्यवस्था छ । तर,  ईप्पानले विधान संशोधन गर्दै सचिवको संख्या पाँच जना पुर्याइएको छ । कार्कीको टीमले सचिवका लागि चार जनाको नाम मात्रै सार्वजनिक गरेको छ । एक जनाको ठाउँ खाली छ । यसअघि सचिवमा अविज्ञा मल्ल उठ्ने चर्चा भएपनि अन्ततः उनी पछि हटेकी हुन् ।

अविज्ञा अध्यक्ष पदकै दाबेदार किरण मल्लकी छोरी हुन् । मल्ल आफै अध्यक्षका उम्मेदवार भएपनि उनकी छोरी अविज्ञालाई अध्यक्ष पदका अर्का उम्मेदवार गर्णेश कार्की समूहले उम्मेदवार बनाएको चर्चा थियाे ।

कार्की समूहका एक उम्मेदवारले अहिले सचिवका लागि एक जनाको पद खाली भए पनि उक्त पदको लागि छिट्टै उम्मेदवारी घोषणा गर्ने बताए ।

अध्यक्षका उम्मेदवार किरण मल्ल अब अविज्ञा उम्मेदवारको रूपमा नदेखिने बताउँछन् । उनका अनुसार नयाँ कार्यसमितिका लागि अविज्ञाको उम्मेदवारी रहने छैन ।

जेठ ३२ गते वार्षिक साधारण सभापश्चात् हुने निर्वाचनमा जलविद्युत व्यवसायीहरू चुनावका लागि दुई धारमा विभाजन भएर मैदानमा छन् । अध्यक्ष पदका दाबेदार संस्थापन समूहबाट कार्की र संस्थापन इतर समूहबाट मल्लले छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा छन् ।

तर, दुवै पक्षले छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने तयारी गरे पनि अधिकांश उम्मेदवारहरू भने साझा छन् ।

सम्बन्धित सामग्री : ईप्पानको चुनावी रौनक : बाउछोरी फरक-फरक कित्तामा, अधिकांश उम्मेदवार साझा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.