‘पुँजीगत खर्च गर्ने मन्त्रालयहरुको सिलिङ घटाएर सरकार उल्टोबाटो हिँड्यो’

  २०८० जेठ १४ गते १४:३२     विकासन्युज

काठमाडौं । सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च गर्ने मन्त्रालयहरुको सिलिङ घटाएर सरकार उल्टोबाटोमा गएको बताएका छन् ।

आईतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसदहरुले सरकारले पुँजीगत खर्च गर्न नसकी रहेको अवस्थामा सबै भन्दा बढी पुँजीगत खर्च गर्ने मन्त्रालयहरुलको बजेट सिलिङ घटाएर उल्टोबाटोमा सरकार जान लागेको आरोप लगाएका हुन् ।

उनीहरुले योजना आयोगले बजेट निर्माण गर्दा सरकारलाई दिने योजनाहरु वास्तविकतामा आधारित भएर दिन आवश्यक रहेको बताए । उनीहरुले योजना आयोग अब केन्द्रमा मात्रै नभएर ७७ जिल्लामा विस्तार गरी स्थानीय आवश्यकताका आधारमा आयोजनाहरु छनोट गर्न आवश्यक रहेको बताए ।

बैठकमा बोल्दै अर्थसमिति सदस्य सूर्यबहादुर थापाले अहिले सबै भन्दा बढी दबाब भौतिक पूर्वाधारमा भएपनि योजना आयोगले ३२ प्रतिशत बजेटको सिलिङ घटाउनु राम्रो नभएको धारण राखे ।

‘भौतिक मन्त्रालयको १ खर्ब ६६ अर्बबाट १४ अर्ब सिलिङ घटाएको भन्दै पुँजीगत खर्च भएन भन्ने पनि छ तर उपचार पुँजीगत खर्च गर्ने मन्त्रालयको बजेट घटाएर सरकार एनजीओ बेसिसमा सरकार जान खोजेको छ,’ उनले भने । उनले सरकारले पुँजीगत खर्च बढाउने उपचार एकातिर गर्नु पर्ने भएपनि उपचार विधि अर्कोतिर गर्न उल्टोमति भएको बताए ।

त्यस्तै, अर्को सांसद पूर्णबहादुर तामाङले राष्ट्रिय योजना आयोग ७७ जिल्लामा शाखा बिस्तार गरी खानी तथा जलविद्युतको सम्भावनाको विषयमा अनुसन्धान गर्न आवश्यक रहेको बताए ।  ‘स्थलगत रुपमा अनुसन्धान गरी आयोजनाहरुको निर्माणको विषयमा योजना बनाउन आवश्यक छ,’ उनले भने ।

उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षलाई संसद विकास कोष हटाउन लगाएर ७७ जिल्लाकै विकासलाई मार्ने काम नगर्न चेतावनी दिए। उनले देश विकास गर्ने कोषको विरोध नगर्न आयोगलाई चेतावनी दिए । उनले कन्द्रमा ७ अर्बमा सर्वोच्चको भवन बनिरहेको तर जिल्लाका न्यायाधीश बस्ने घर भाडामा रहेको बताए ।

त्यस्तै, सांसद मेटमणि चौधरीले मुलुक दुईरतीन महिनापछि आर्थिक रुपमा टाट पल्टने अवस्था देखिएको बताए । आर्थिक मन्दीको कारण धेरै उद्योगीहरु सडकमा आउन थालेको उनले बताए । ‘धेरै उद्योगीहरुको सम्पती बैंकले लिलाम गर्ने प्रक्रियामा पुगेको छ, यस्तो अवस्थाको विषयमा राष्ट्रिय योजना आयोगले सरकारलाई सुझाव दिने विषयमा के सोचेको छ ?,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.