बाँकेको मदरसा र सामुदायिक विद्यालयमा न शिक्षक नत विद्यार्थी

  २०८० वैशाख २५ गते १२:३१     विकासन्युज

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–४ स्थित मदरसामा शिक्षक र विद्यार्थीको उपस्थिति न्यून छ । उक्त वडामा रहेको जयरामपूर्वाको श्री मदरसा अहले सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती बैजाली र खाजा व्यवस्थापक रामजी साहु वैशाख महिनामा एक दिन पनि हाजिर भएका छैनन् । चैत महिनामा त जयमती दुई दिन र रामजी एक दिन मात्रै हाजिर भएको प्रधानाध्यापक इब्राइम खानले बताए ।

मदरसामा नआए पनि दुबै जनाले गाउँपालिकाको राहतको तलब पाइरहेका छन् । उनीहरूलाई बारम्बार सम्पर्क गर्दा पनि मदरसा नआउने गरेको हाजिरी रेर्कडबाट प्रष्ट बुझ्न सकिने उनको भनाइ थियो ।

‘हामीले धेरै पटक फोन गर्नाका साथै गाउँपालिकामा निवेदन दिए पनि उनीहरु मदरसामा आउनुहुँदैन,’ प्रधानाध्यापक खानले भने, ‘तर तलब भने उनीहरुले खाइरहनुभएको छ ।’

सोही गाउँपालिका–५ जमुनहामा रहेको मदरसा गौसुलवरा जामियाका शिक्षकले पनि वैशाख महिनामा हाजिरी गरेको देखिदैन । मदरसामा भेटिएका एक दुई शिक्षकसँग विद्यार्थीको बारेमा सोध्दा उनीहरुले आफ्नो विद्यालयमा कति विद्यार्थी पढ्छन् भन्ने जवाफ दिनै सक्नुभएन । एक शिक्षकको भनाइ अनुसार उक्त मदरसामा प्रधानाध्यापक मनलागेमात्र मदरसा आउने गरेको बुझिएको छ ।

वडा नं ४स्थित जमुनाहाकै श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि प्रध्यानाध्यपक स्कुल समयमा प्रायः भेटिन्नन । कुनै कक्षा कोठामा पनि शिक्षकको उपस्थिति देखिदैन । तीन शिक्षक र शिक्षिकाले त एकैपटक आएको र गएको हाजिरी गर्ने गरेको समेत भेटियो । केही कक्षामा विद्यार्थीको पनि हाजिरी नगरेको पाइयो । धेरैजसो शिक्षकले हप्ता दिनदेखि हाजिरी नै नगरेको पनि भेटिएको थियो ।

गाउँपालिकाकाको शिक्षा अनुगमन तथा छानबिन समितिका संयोजक कृष्णचन्द्र मौर्यसहितको टोलीले विद्यालयको छड्के अनुगमनका क्रममा विद्यालयमा यस्तो बेथिति भेटेको हो । गाउँपालिका–५ का वडाध्यक्षसमेत रहेका उनले अनुगमनका क्रममा सबै विद्यालय तथा मदरसामा केही न केही त्रुटि र समस्या देखिएको बताए ।

‘पहिलो पटक हामीहरु यसरी छडके अनुमगनमा गएका हौँ । त्यसैले सबै विद्यालय र मदरसालाई मौखिक चेतावनी दिएर आएका छौँ,’ वडाध्यक्ष्य मौर्यले भने,’अर्कोपटक फेरि अनुमगनमा जानेछौंँ । यस्तै समस्या देखियो भने कारबाही गर्नेछौंँ ।’ गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नामका लागि मात्र दर्ता रहेका मदरसाहरुलाई आसन्न शैक्षिक सत्रदेखि खारेज गरिने बताए । नरैनापुरमा सामुदायिक विद्यालय भन्दा मदरसाको सङ्ख्या धेरै छ । गाउँपालिकामा ३० मदरसा र २१ सामुदायिक विद्यालय छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.