देउवा-आरजुको दबाबपछि अर्थमन्त्रीले हटाए सचिव, नयाँ अर्थसचिव बने पोखरेल

  २०८० वैशाख २० गते १९:०३     विकासन्युज

काठमाडौं । लामो रस्साकस्सीपछि अर्थसचिव तोयम रायालाई सरुवा गरिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनीकी पत्नी आरजु राणाको निरन्तर दबाबपछि अर्थमन्त्री डा। प्रकाशशरण महत अर्थसचिव रायको सरुवा गर्न तयार भएका हुन् ।

आफु निकटलाई अर्थ मन्त्रालयमा ल्याउनु पर्ने भन्दै अर्थमन्त्रीमा नियुक्त हुँदै दबाब दिइरहेका देउवा–आरजुले अन्ततः अर्थसचिव रायालाई सरुवा गरेर नयाँ अर्थसचिवका रुपमा अर्जुन पोखरेललाई ल्याएका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव पोखरेललाई बनाउने निर्णय गरेको हो । पोखरेल प्रधानमन्त्री कार्यालयमा थिए । अर्थसचिव  रायालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

बजेट नजिकिएसँगै अर्थमन्त्री डा। महत र अर्थसचिव तोयम रायबीच अविश्वासको वातावरण सिजर्ना बन्दै गएको थियो । कारण थियो सरुवाको तयारी ।

अर्थ मन्त्रालय स्रोतका अनुसार महत अर्थमन्त्रीमा नियुक्त हुँदा नै अर्थसचिवको सरुवा गर्न चाहन्थे । तर, कसलाई ल्याउने भन्ने यकिन नहुँदा रायाको सरुवा गरिएको थिएन । अर्थसचिव राया पनि आफु सरुवा हुनेमा ढुक्क भएको भन्दै बजेट निर्माणमा खासै ध्यान नदिइरहेको बुझिएको थियो । यस विषयमा विकासन्युजले यसअघि नै अर्थमन्त्री र सचिवबीच दूरी बढ्यो, बजेट लेखन प्रभावित हुन सक्ने शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

अर्थमन्त्री बनेपछि आफू र आफ्नो राजनीतिक दलको कर्मचारीलाई टीममा राखेर काम गराउने प्रवृति अर्थमन्त्रालयका लागि नयाँ होइन । त्यही प्रवृतिको अभ्यास अर्थमन्त्री महतले पनि गरे ।

नेकपा एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा राय अर्थसचिव बनेका थिए । हुन त आरजुको रोजाइमा कृष्णहरी पुष्कर पनि थिए । तर, अर्थसचिव बन्ने प्रतिस्पर्धा पोखरेलले जिते । आरजुले पोखरेल र पुष्करमध्ये एक जनालाई अर्थसचिव बनाउनु पर्ने  दबाब महतलाई दिँदै आएकी थिइन् । तर, अर्थमन्त्री महतले पोखरेललाई रोजे ।

सम्पत्ति शुद्धिकरण विभाग प्रमुख, अर्थ मन्त्रालयको प्रवक्ता, सोही मन्त्रालयको प्रशासन महाशाखा प्रमुख भएर काम गरिसकेका पोखरेलले उद्योग सचिवका रुपमा पनि काम गरिसकेका छन् ।

One comment on "देउवा-आरजुको दबाबपछि अर्थमन्त्रीले हटाए सचिव, नयाँ अर्थसचिव बने पोखरेल"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.