ठूला उद्योग बन्द गर्न खोजिँदै छ : अध्यक्ष ओली

  २०८० वैशाख १९ गते ७:५४     विकासन्युज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि सार्वजनिक स्वामित्वका ठूला उद्योगलाई बन्द गराउन खोजिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् । १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आयोजना गरेको कार्यक्रममा उनले ठूला उद्योग बेचेर खाएको भन्दै अहिले पनि बचेका ठूला उद्योग बन्द गराउन खोजेकोले रोक्नुपर्ने बताए ।

हिजो कौडीका भाउमा ठूला उद्योग बन्द गराएर मुलुकको अर्थतन्त्रलाई टाट पल्टाइएको उनको भनाइ छ ।

‘निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गरेर सुरक्षा गर्नुपर्दछ, निजी क्षेत्रलाई सहुलियत दिनुपर्दछ, उद्योग बन्द गराउने काम हुदैनथ्यो, हिजो भए, अहिले पनि बन्द गराउन खोजिरहेका छन्, रोक्नुपर्दछ,’ उनले भने ।

उनले वैदेशिक रोजगारमा गएका युवाले त्यहाँका मजदुरले पाए सरहको सुविधा, त्यहाँका श्रम कानून, त्यहाँका श्रमिकले पाउने सुविधाअनुसार जतिकै पाउनुपर्ने भनाइ राखे । अध्यक्ष ओलीले देशभित्र योगदानका आधारमा पेन्सन जस्तै विदेशमा काम गरेका युवाले पनि पेन्सन पाउनुपर्ने बताए ।

‘समान काम गर्दा समान ज्याला र सुविधा हुनुपर्दछ, हाम्रा वैदेशिक रोजगारमा गएका श्रमिकले पनि त्यहाँका श्रम कानून, त्यहाँका मजदुरलाई दिएको सुविधा कम नहुने गरी पाउनुपर्दछ, हाम्रा देशबाट गएका मजदुर पनि विदेशमा योगदानका आधारमा पेन्सनमा पाउनुपर्दछ, होइन भने उमेर छउन्जेल विदेशमा काम गरेर आउँछ अनि केही नपाउने स्थिति आउँछ,’ उनले भने ।

देश अप्ठ्यारो स्थितिमा रहेको भन्दै देशलाई अप्ठ्यारो अवस्थाबाट सहज अवस्थामा फर्काउनुपर्ने धारराखे । कुनै पनि भुलभुलैयामा नपरी सचेत, अनुशासित, गतिशील युवाले मुलुक बनाउनुपर्ने भनाइ राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.