सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही

  २०८० वैशाख १८ गते १७:५७     विकासन्युज

काठमाडौं । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ ।

आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्रमा पुगिसकेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति लिएका उनीहरु यतिबेला सगरमाथाको पहिलो, दोस्रो र तेस्रो आधार शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् ।

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गरेपछि आरोहण सुरु हुन्छ ।

वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन् । उनीहरुमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । जुन सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए ।

नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

सन् २००७ देखि पर्यटन विभागको सम्पर्क अधिकृत भएर काम गरेका ज्ञानेन्द्र श्रेष्ठले आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको बताए ।

इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको छ । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो । दोस्रो शिविदेखि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ ।

इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाका अनुसार अहिले सगरमाथाको चौँथो शिविरसम्म बाटो बनिसकेको छ । पछिल्लो तीन दिनदेखि सगरमाथा क्षेत्रमा मौसम खराबीले बाक्लो हिउँ परिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टर सगरमाथाको दोस्रो शिविरमा आराम गरिरहेका छन् । मौसम अनुकुल हुने वित्तिकै चुरोसम्म डोरी टाँग्ने काम सुरु हुने निर्देशक शेर्पाले बताए । साउथ कोलबाट चुुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उनको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.