अन्तरिम आदेश खारेजसँगै सुकुम्वासी बस्ती हटाउन महानगरलाई बाटो खुल्यो

  २०८० वैशाख १४ गते ७:३७     विकासन्युज

काठमाडौं । उच्च अदालत पाटनले सुकुम्वासी बस्ती हटाउन रोक लगाउनुपर्ने माग गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै काठमाडौं महानगरलाई सुकुम्वासी बस्ती हटाउने बाटो खुलेको छ । काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध परेको रिटमा बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सुकुम्वासी बस्ती हटाउन काठमाडौं महानगरलाई बाटो खुलेको हो ।

न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेश खारेज गरेको हो । यसअघि उच्च अदालत पाटनले सुकुम्वासी बस्तीमा तत्काल डोजर लगाउने निर्णय रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

काठमाडौं महानगरपालिकाले ११ चैत २०७९ मा ७ दिनको सूचना दिई सुकुम्बासी बस्ती खाली गर्न सूचना निकालेको थियो । सूचनामा नदी किनार, नदी उकास र नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउनु’ भनी उल्लेख थियो ।

उक्त सूचना विरुद्ध परेको रिट निवेदनमा उच्च अदालत, पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले २७ चैत, २०७९ मा अल्पकालिन अन्तरिम आदेश दिएको थियो । उच्च अदालत, पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नपाउने आदेश जारी भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.