सामाजिक सुरक्षा र तलब भत्ता कटौती गर्न सकिँदैन : अर्थमन्त्री महत

  २०८० वैशाख १४ गते ७:२४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सामाजिक सुरक्षा र तलब भत्ता कटौती गर्न नसकिने बताएका छन् । ललितपुरमा आयोजित ‘अर्थतन्त्रका आन्तरिक समस्या र समाधानका उपाय’ अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षा र तलब भत्ता कटौती गर्न नसकिने बताएका हुन् ।

वर्तमान समयमा अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न सबैको साझा दृष्टिकोण लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले अर्थतन्त्रमा धेरै सुधारका आवश्यकता भएको र राज्य संयन्त्रका सबै तह, राजनीतिक दलले समन्वय गर्नुपर्ने बताए ।

‘हामीले समन्वय पनि गरिरहेका छौँ, राजनीतिक दलमा पानी बाराबारको अवस्था छैन, सबैसँग कुरा हुन्छ, अर्थतन्त्रका विषयमा सबैको एउटै भूमिका हुन्छ,’ अर्थमन्त्री महतले भने, ‘विगतमा हामीले पूँजीगत खर्च प्रभावकारीरूपमा प्रवाह गर्न सकेनौँ, आगामी दिनमा यसलाई समाधान गर्नेछौँ, सामाजिक सुरक्षा र तलब भत्ता कटौती गर्न सकिँदैन, अरु साधारण खर्च पुनरावलोकन गर्न सकिन्छ ।’

अहिले पनि अर्थतन्त्रमा कोभिडको समयको प्रभाव रहेको उल्लेख गर्दै उनले अर्थतन्त्रमा धेरै सुधारका आवश्यकता रहेको र यसका लागि राज्य संयन्त्रका सबै तह, राजनीतिक दलले समन्वय गर्नुपर्ने बताए । उनले एक महिनामा नै बजेट प्रस्तुत गर्नुपर्ने भएकाले सबैको सल्लाह लिएर बजेट निर्माण गर्ने बताए ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले जिम्मेवार पदमा बस्नेले जनविश्वास जित्ने गरी संवाद र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

‘अहिलेको समस्या पार्टी विशेषको नभएर देशकै समस्या हो, समस्या समाधानका लागि सरकार र प्रतिपक्ष मिलेर लाग्नुपर्छ, सरकारको मात्रै नियत गलत छ भनेर देखाएर हुँदैन, निजी क्षेत्रले कर्पोरेट नैतिकता कायम गर्नुपर्छ,’ उनले भने ।

स्वदेशमै उत्पादन हुने कच्चा पदार्थलाई प्राथमिकता र संरक्षण दिनुपर्ने बताउँदै प्रतिस्पर्धा हुने हदसम्म स्वदेशी उत्पादनलाई सहुलियत दिनुपर्ने भन्ने उनको धारणा छ ।

अर्थशास्त्री प्रा.डा. रेशम थापाले अन्तरसरकारी समन्वय र सहकार्य ‘फेलियर’ हुनु नै मुख्य समस्या भएको बताउँदै उत्पादनमा वृद्धि गर्न नसक्दा खर्च बढेको र प्राज्ञिक र सञ्चार क्षेत्र चुकेको औँल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.