जावलाखेल र लगनखेलमा स्मार्ट पार्किङ बनाउँदै ललितपुर महानगर

  २०८० वैशाख १३ गते १२:४१     विकासन्युज

फाइल तस्बिर

काठमाडौं । ललितपुर महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने योजना बनाएको छ । महानगरले आधुनिक प्रविधिको स्मार्ट पार्किङ बनाउने योजना अघि सारेको हो ।

सो पार्किङ जावलाखेल र लगनखेलमा निर्माण गर्ने योजना रहेको महानगरपालिकाले बताएको छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा जावलाखेल र लगनखेलको फुटबल ग्राउन्डमा अन्डरग्राउन्ड पार्किङको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नको लागि बजेट पनि छुट्याएको थियो ।

वार्षिक नीति तथा कार्यक्रममा राखेको योजना अन्तर्गत पार्किङ बनाउने योजना अगाडि बढ्न लागेको ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बताइन् । उनका अनुसार चालु आवमा जावलाखेल र लगनखेलको फुटबल ग्राउन्डमा अन्डरग्राउन्ड पार्किङको सम्भाव्यता अध्ययन र डीपीआर गर्नका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

सवारी साधनको चाप र अव्यवस्थित सवारीसाधनको पार्किङलाई व्यवस्थित गर्ने उद्देश्यले महानगर पार्किङ स्थल निर्माणको तयारीमा जुटेको पनि उनले बताइन् । महानगरपालिकाले सो ठाउँमा चालु अवभित्र सम्भाव्यता र डीपीआर गरी आगामी आर्थिक वर्ष २०८०/८१ मा बजेटको सुनिश्चित गरी पार्किङ बनाउने लक्ष्य लिएको थियो । तर, महानगरपालिकाले पार्किङ स्थलको डीपीआर निर्माणको काम यो वर्ष गर्न सकेन ।

जग्गा व्यवस्थापन र जग्गा विवादको कारण कामलाई समयमा नै अगाडि बढाउन नसकेको उपमेयर शाक्यले बताइन् । ‘हामीले यही वर्ष डिपिआर तयार गर्ने भनेर लागेका थियौं, जग्गाको समस्या भएकाले समयमा नै काम अगाडि बढाउन सकिएन, आगामी आर्थिक वर्षमा डीपीआर गरी काम अगाडि बढाउने लक्ष्य लिएका छौं,’ उनले भनिन् ।

महानगरले डीपीआरको काम पूरा गरी आगामी आवको अन्तिम तिरबाट पार्किङ निर्माणको काम शुरु गर्ने शाक्यले बताइन् । उनका अनुसार महानगरपालिकाले पार्किङ निर्माणको जग्गा तथा बजेट व्यवस्थामा सहरी विकास मन्त्रालय लगायतका निकायसँग पनि आवश्यक समन्वय गरिरहेको छ ।

पार्किङ स्थलको निर्माण गर्दा कति खर्च लग्छ भन्ने जानकारी डीपीआर तयार भएपछि मात्र आउने पनि शाक्यले बताइन् । ‘महानगर भित्र पार्किङको आवश्यकता छ, अहिले हामीले सडकमा पार्किङ गर्न दिएका छैनौं, त्यसैले अर्को विकल्प नदिने हो भने अर्को समस्या आउँछ, त्यसैले पनि महानगर भित्रका विभिन्न ठाउँमा पार्किङ बनाउन आवश्यक छ,’ उनले भनिन् ।

अहिले ललितपुर महानगरपालिका भित्रका धेरै स्थानमा सवारी पार्किङ गर्दा शुल्क लाग्दैन । महानगर भित्र जहाँ गयो त्यही शुल्क बुझाउनु पर्ने अवस्थालाई अन्त्य गर्नको लागि पार्किङमा लाग्ने शुल्क हटाएको पनि शाक्यले बताइन् ।

‘हाम्रो लक्ष्य महानगर भित्र पूर्वाधार विकास गरी सफा सहरको रूपमा विकास गर्नु हो, यो उद्देश्य अन्तर्गत सहरमा पार्किङ नहुँदा उपत्यका भित्र धेरै जाम हुने समस्या आयो, त्यसपछि हामीले पार्किङ बनाउनको लागि लगानी गरिदिने सोच बनाएका हौं,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.