म चितवनले रोपेको बिरुवा हुँ : सभापति लामिछाने

  २०८० वैशाख ८ गते ६:३०     विकासन्युज

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले आफू चितवनवासीले हुर्काएको बिरुवा भएको बताएका छन् । चितवनको भरतपुरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले गत निर्वाचनमा रोपेको बिरुवालाई मलजल दिन आग्रह गरे ।

‘गत निर्वाचनमा तपाईंहरूले रोपेको बिरुवा हुँ म, त्यो बिरुवालाई हुर्काउन मल चाहिन्छ, सम्पूर्ण गालीहरूलाई सङ्कलन गरेर मल बनाएका छौँ, हामीले त्यसलाई प्रयोग गर्नेछौँ, यसपटक मल त हालिसकेका छौँ, अब जल हाल्ने जिम्मेवारी तपाइँहरूको हो,’ उनले भने ।

उनले अब चितवनले एक व्यक्तिलाई मात्रै नभएर देशलाई न्याय गर्ने बताए । देशलाई परिवर्तनको जबर्जस्ती आवाज चाहिएको उनको भनाइ छ ।

‘यो साथको निरन्तरता चाहिएको छ, तपाईंलाई झुक्याउन जरुरी छैन, आँधीहुरी जे आए पनि नडराउनुहोला, न्यायका लागि आवाज उठाउनुभयो, न्याय चाहिन्छ भने आजको दिनमा चितवन जानुहोस् भन्ने मान्यता स्थापित भएको छ,’उनले भने ।

उनले अबको ४ वर्षपछि २०८४ मा हुने आमनिर्वाचनमा देशभरबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतको सरकार बनाउने दाबी गरे । कार्यक्रममा तनहुँबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका डा.स्वर्णिम वाग्लेले देशका विकृति र विसङ्गतिको विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी शान्तिपूर्ण विद्रोहमा उत्रिएको बताए ।

सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डीपी अर्याल, प्रवक्ता मुकुन्द ढकाल, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू तोसिमा कार्की, हरि ढकाल, सबिता गौतमलगायतले सम्बोधन गरेका थिए ।

One comment on "म चितवनले रोपेको बिरुवा हुँ : सभापति लामिछाने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.