मूल्य पाउन थाल्यो अण्डाले

  २०८० वैशाख ५ गते १०:०६     विकासन्युज

चितवन । अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका थिए । यतिबेला अण्डाको मूल्य प्रतिक्रेट ३० वटाको दुई सय ४० रुपैयाँ हाराहारीमा झरेको थियो ।

विसं २०७९ असोज २९ गते पहिलो भेला भएर सङ्गठन गरेका उनीहरूले बितेका छ महिनामा देशका अधिकांश जिल्लामा पुगेर त्यहाँका किसान र व्यवसायीसँग छलफल र बजारीकरणमा जुटे । अहिले प्रतिक्रेट ठूलो अण्डाको मूल्य तीन सय ७० रुपैयाँ पुगेको छ । सङ्घका अध्यक्ष विनोद पोखरेले यस बीचमा झन्डै ७२ जिल्ला आफूहरू पुगेर बजारीकरणमा काम गरेको जानकारी दिए । उनले भने, ‘तीन–चारवटा जिल्लाबाहेक सबै जिल्लामा हामी एकपटक पुग्यौँ । कति मुख्य बजारमा धेरैपटक पुगेर छलफल ग¥यौँ ।’

व्यवसायीले अवैध भित्रने कुखुराजन्य पदार्थ रोक्न सम्बन्धित निकायसँग अनुरोधसमेत गर्दैै आएका छन् । व्यवसायीलाई मूल्यमा एकरुपता कायम गर्न उनीहरूले आग्रह गरेका छन् । किसानका अरु समस्या समाधानका लागि पहल गर्दै आएका छन् ।

“पोल्ट्री व्यवसाय बचाउनका लागि अन्तिमपटकको हाम्रो यो प्रयास सफलतातिर गएको छ”, अध्यक्ष पोखरेलले भने । किसानकोमा झन्डै आधा कुखुरा घटेको जनाउँदै उनले लागत मूल्य अझै पाउन नसकेको गुनासो गरे । देशभर ३० हजारभन्दा बढी कुखुरा पाल्ने ५० व्यवसायी यो सङ्घमा आबद्ध छन् । अझै १५ जना जति सङ्घमा आवद्ध नभएका बताइएको छ ।

नेपालको पोल्ट्री क्षेत्रमा परिचय कमाउनुभएका गुणचन्द्र विष्टलाई संरक्षक बनाएर आफूहरू देशव्यापी अभियानमा जुटेको अध्यक्ष पोखरेलको भनाइ छ । व्यवसायी सुरेश वैद्य, त्रिलोचन कँडेल र शिभाजी साह पनि अभियानमा जुटेका छन् ।

व्यवसायीको बीचमा सहमति, सहकार्य र एकता कायम गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन सक्रिय भएको उनको भनाइ छ । सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार १० वर्ष पहिले एक क्रेट ३० वटा अण्डाको मूल्य प्रतिक्रेट तीन सयमा बिक्री हुन्थ्यो । उनले भने, ‘पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो ३० रुपैयाँ हुँदा अण्डा प्रतिक्रेट तीन सय रुपैयाँमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो ६५ रुपैयाँ पर्दा अण्डाको मूल्य उस्तै छ ।’

निजी क्षेत्रको सक्रियताले खपत बढेपछि अहिले अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७० रुपैयाँ पुगेको छ । ढकालको भनाइमा अहिलेको लागतमूल्य प्रतिक्रेट चार सय ५० रुपैयाँ हाराहारी छ । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने उत्पादक र सप्लायर्सबीचमा साझेदारी कायम गर्दै बजारलाई व्यवस्थित गर्न लागिपरेको बताउँछन् । सरकारले समयमा सम्बोधन नगरेमा व्यवसाय समाप्त हुने उनको भनाइ छ ।

औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उनले बताए । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट चार सय पाँच रुपैयाँ पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्र मूल्य प्रतिगोटा १६ रुपैयाँ थियो । लागत मूल्यसम्म पाउन सके किसान बच्न सक्ने उनी बताउँछन् । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुन्छ । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् ।

सरकारले मूल्य निर्धारण, गुणस्तर नियमन, रोगको नियन्त्रण, क्षतिपूर्तिको प्रत्याभूति, बोर्ड गठन गर्नुपर्ने व्यवसायीको माग छ । अहिलेसम्म कुखुराको दानाको अनुमतिपत्र र नियमित खाद्यमार्फत हुँदै आएको छ । सङ्घका सचिव मदन पोखरेल भारतीय क्षेत्रबाट अवैधरूपमा भित्रिने अण्डा नियन्त्रण गर्नुपर्ने बताउँछन् । बैंकको ऋणको ब्याजदर घटाउनुपर्ने र राज्यले समयमै सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘सरकारले हेरेन भने यो व्यवसाय धरासायी भएर जाने अवस्थामा पुगेको छ ।’

आधाभन्दा बढी व्यवसायी पलायन भइसकेको जनाउँदै उनले उत्पादन घट्दै गएको बताए । उत्पादन घट्दासमेत खपत अझै बढ्न नसकेको भन्दै उनले निजी क्षेत्रको प्रयासले मात्रै नपुग्ने भएकाले सरकारले सम्बोध गर्नुपर्ने बताए । व्यवसायीहरू आफ्नो व्यवसाय छाडेर सामूहिक बजारीकरणका लागि जुटेको उनको भनाइ छ । राष्ट्र बैंकको मौद्रिक नीतिका कारण व्यवसायीहरू थप मर्कामा परेको गुनासो गरेका छन् । रासस

One comment on "मूल्य पाउन थाल्यो अण्डाले"

  • c.k.shahi says:

    FOR EGG EATER THS PRICE IS VERY HIGH,MUST BE TO OPEN INDIAN MARKET FOR LOWER PRCES
    PER CRADE RS280.00 SHOULD BE.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.