पोखराको फिस्टेल ड्रिमपार्कभित्र ४ करोड लगानीमा रेष्टुरेन्ट संचालन

  २०७९ चैत २९ गते १५:५३     विकासन्युज

काठमाडौं । पोखराको फिस्टेल ड्रिमपार्कले ४ करोड रुपैयाँ लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

रेष्टुरेन्टमा एकैपटकमा २ सय जना अटाउने क्षमता छ । सुलभ मूल्यमा थ्री स्टार स्ट्यान्डर्डमा खाना खान पाइने कम्पनीका सञ्चालक हिरा केसीले जानकारी दिए । पार्कभित्र आउटडोर फुड स्टल समेत राखिएको छ ।

यस्तै, पार्कले नयाँ वर्षको अवसरमा पार्कले पर्यटकहरूका लागि विभिन्न अफर समेत ल्याएको छ । कम्पनीले आफ्ना सेवाहरूमा १५ प्रतिशत छुट घोषणा गरेको छ । कम्पनीले नयाँ वर्षको अवसर पारेर घुम्न आउने पर्यटकहरूलाई १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो ।

यस्तै छ जनाको समूह पार्क घुम्न गए एक जनालाई फ्रीमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले वाटर पार्क, ड्राइ पार्क सञ्चालन गरिरहेको छ । जसमा इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेल लगायतका करिब २५ थरीका गतिविधिमा रमाउन सकिनेछ । पार्कको प्रवेश शुल्क २ सय रुपैयाँ रहेको छ । तर नयाँ वर्षको अवसरमा ग्राहकहरूले एक सय रुपैयाँमै प्रवेश पाउनेछन् ।

यस्तै, वाटर पार्क प्याकेजको शुल्क १ हजार रुपैयाँ रहेको छ । जसमा विभिन्न १२ खेलहरू समेत खेल्न सकिनेछ । ४ फिटभन्दा कम उचाइ रहेका बालबालिकाहरूका लागि वाटर पार्क प्याकेजमा ६ सय रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

प्रवेशपछि सीमित खेल खेल्न चाहनेका लागि प्रति खेलको १५० देखि ३०० रुपैयाँसम्म लाग्ने सञ्चालक केसीले जानकारी दिए । साथै सबै किसिमका राइड गर्न एक हजार रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.