बाँकेको विद्यालयमा खानेपानी अभाव, घरबाटै लैजानु पर्छ

  २०७९ चैत २७ गते ११:२०     विकासन्युज

बाँके । बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ ।

खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत अञ्जनी कुम्हार बताउँछन् । ‘विद्यालयमा शौच गर्न सधैँ समस्या हुन्छ, पानीको व्यवस्था छैन्’, उनले भने । कक्षा कोठा पनि गतिला नभएको उनको गुनासो छ । विद्यालयका एउटा मात्र हाते पम्प रहेको छ । पिउनलाई शुद्ध पानीको अभाव छ ।

‘पानी किनेर पिउनुपर्ने बाध्यता छ’, कक्षा ५ मा अध्ययनरत कल्पना यादवले भने–’विद्यार्थीले सधैँ पानी किनेर पिउन सम्भव छैन । प्यास लागे प्रायः घरमै गएर पानी पिउने गरेका छौँ ।’ शौचालयमा प्रयोग गर्न पनि पर्याप्त पानी नभएको उनी बताउँछन् । शौचालय जाँदा बाहिरबाटै पानी बाकेर लैजानुपर्ने विद्यार्थी बताउँछन् ।

विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयमा खानेपानीको व्यवस्थाका लागि वडा कार्यालयले आश्वासन दिएको प्रधानाध्यापक रेखा धितालले बताइन् । उनले भने, ‘वडाले आश्वासन त दिएको छ, तर हालसम्म केही सुरसार छैन ।’

उनान्चालीस विद्यालय रहेको उक्त पालिकाको सबैभन्दा धेरै विद्यार्थी भएको शिवपुरी माध्यमिक विद्यालय । उक्त विद्यालयमा भने भौतिक संरचना जीर्ण छ । दुई वर्षदेखि कक्षा कोठाको छतबाट पानी चुहिँदै आएको प्रधानाध्यापक देव रानाले बताए । ‘टालटुल गरेर पठनपाठन भइरहेको छ’, उनले भने । जीर्ण भएकै कारण भर्ना हुन आएका विद्यार्थीलाई फिर्ता पठाएको रानाले बताए ।

पाँच ब्लकमा १२ कक्षाकोठा रहेको उक्त विद्यालयमा छात्राका लागि शौचालयको उचित व्यवस्था नभएको रानाको भनाइ छ । यहाँ सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । उक्त पालिकामा प्राथमिक विद्यालय १६, निमावि तीन र माध्यमिक विद्यालय पाँच छन् । यहाँ १४ मदरसा छन् ।

छ सामुदायिक विद्यालय रहेको उक्त पालिकामा एक गुरुकुल पनि सञ्चालनमा छ । माविसम्म सीमित रहेको उक्त पालिकामा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ सञ्चालनका लागि कार्यपालिकाबाट निर्णय भइसकेको शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले बताइन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.