रविका सांसद र दुर्गा प्रसाईंबीचको २ करोडको अडियो प्रकरण : यस्तो छ १०:४३ मिनेटको कुराकानी

  २०७९ चैत २६ गते १६:०६     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।

कपुरबोट मिडियाले श्रेष्ठ र प्रसाईंबीच भएको डिलको अडियो सार्वजनिक गरेको छ । अडियाे सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेकाे छ ।

अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन् ।

यस्ताे छ प्रसाईं र श्रेष्ठबीच भएकाे अडियाेकाे वार्तालाप

दुर्गा प्रसाईं – नमस्ते, के छ नि हालखबर ?

ढाकाकुमार श्रेष्ठ – ठिक छ सर । म नि भर्खरै उठेको

प्रसाईं – ए, त्यै त म नि ! राति, मैले पनि फोन अफ गरेँ । फोन अफ भनेको सुत्ने टाइम भयो होला, फोन चार्जमा पनि राखेको । के भने नि खास्सै कुरा के हो ? मलाई भन्नुस् त डक्टर साप !

श्रेष्ठ – स्वास्थ्य हामीले पाउने भयो । पार्टीलाई अलिकति सहयोग गर भनेर आन्तरिक तरिकाले कोर टीम छ दुई-तीन जनाको तिनीहरूले भनिरहेका छन् । मलाई दुई जति चाहियो, साढे दुई जति चाहियो भन्दैथिए मलाई हिजो । मेरो पक्का चाहिँ पक्का भयो । त्यो आज मैले फिक्स गर्नुछ दाइ, सर । अलिकति आर्थिकमा म त्यस्तो पनि छैन । मन्त्री पनि बन्नुपर्योे । अब यो धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सुधार पनि गर्नुछ । मैले धेरै गर्छु भनेर सोचे गरेको छु । अब त्यसमा हजुरहरूको सपोर्ट सहयोग चाहियो ।

प्रसाईं– एउटा कुरा बुझ्न खोजेको । डक्टरसाप मैले त स्वतन्त्र पार्टीमा डाक्टर भनेको हाम्रो तोसिमा कार्की मात्रै छिन् भनेर बुझ्या थिए त ?

श्रेष्ठ – होइन हामी तीन जना छौं ।

प्रसाईं – को को हुनुहुन्छ ?

श्रेष्ठ – म भए, तोसिमा भयो, अनि चन्दा कार्की

प्रसाईं – साँच्चि चन्दा म्याम पनि पो हुनुहुन्छ त है । डाक्सापको घर चाहिँ कहाँ हो ?

श्रेष्ठ – मेरो पोखरा हो सर ।

प्रसाईं – ए, अनि एमबीबीएस कहाँ गरेको तपाईंले ?

श्रेष्ठ – मैले चाइनामा ।

प्रसाईं – अनि एमडी ?

श्रेष्ठ – एमडी मैले गरेको छैन । म एमएस मात्रै हो । पछि यता अर्कैतिर पढ्ने भन्दाभन्दै पोलिटिक्सतिर आएँ ।

प्रसाईं – अब हेर्नुस् है, धेरै ठूलो समस्या छ स्वास्थ्यमा, हैन डक्टरसाप । देशमा भएका नर्सिङ क्याम्पस बन्द गराए । आज नर्स पढ्न पाउँदैनन् । मैले त जहिले भनेको छु, दुबईका डान्सबारमा हाम्रा चेलीबेटीले डान्स गर्नुभन्दा नर्स पठाउँ । हो कि होइन ?

श्रेष्ठ – हो नि त ।

प्रसाईं – मैले त डक्टर उत्पादन गरौं बरु १०० वटा मेडिकल कलेज खोलौं विदेशबाट इन्डियाबाट विद्यार्थी ल्याउँ पढाउँ…

श्रेष्ठ – हो नि त ।

प्रसाईं – हस्पिटल फ्री गरौं । कति राम्रो कुरा गरेको मैले…

श्रेष्ठ – हो नि ।

प्रसाईं – त्यस्तो छ । डक्टरसापको नाम चाहिँ ढकबहादुर के हो ?

श्रेष्ठ – ढाकाकुमार श्रेष्ठ ।

प्रसाईं – ढाकाकुमार श्रेष्ठ, आच्छा ! मैले त्यो कुरो बुझेँ । सल्लाह गरेर अघि बढौंला । अनि फेरि तपाईंसँग एउटा कुरा भन्न खोजेको । हामी त ह्वाट्सएपमा छौं केही मतलब भएन । अनि मुकुलहरूले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा ।

ढाका – स्वास्थ्य, शिक्षा मुकुलजीलाई त्यति थाहा छैन सर यो । आन्तरिक कुरा हो । मुकुलजी पनि कोर टीममा हुनुहुन्न । उहाँ बाहिर महामन्त्री नै हो । अब हजुरलाई पार्टीको कुरा गर्दाखेरि, त्यहाँ दुईतीन जना छुट्टै हुनुहुन्छ पार्टीलाई धेरै सहयोग गर्ने, सुरुवाती क्षणदेखि नै सहयोग गर्ने रवि सरलाई । त्यो टीमबाट मलाई कुरा आएको हो । आज मैले फिक्स गर्नुपर्छ पैसा । उधारो हुन्न भन्छन् फेरि ।

प्रसाईं – क्यास अढाइ करोडको कुरा । दुई करोड ?

श्रेष्ठ – दुई, साढे दुई भनेका छन् । मैले अहिले १ दिए भनेपनि मान्छन् होला । पछि चेक दिए पनि मान्छन् दुई तीन दिनको ।

प्रसाईं – फेरि आज बन्द छ नि त ! आज बन्द छ । फेरि ९ लाख ९९ हजारभन्दा माथिको चेक साटिँदैन । सुन्नुस् क्लियर कुरा । एउटा टाइम राखेर म दिन्छु । तपाईंले भनिहाल्नुभयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले ।

श्रेष्ठ – हैन, त्यो त म गर्छु । मलाई त यो दिक्क लाग्छ गोविन्द केसी देखेर । कहिले मर्छ जस्तो लाग्छ मलाई त। पुरै जेनेरेसन पढ्न नपाएको पनि तिनले गर्दा हो ।

प्रसाईं – मैले मेरो छोरीलाई जापान पठाउनुपर्‍यो त्यो टोकियो युनिभर्सिटीमा ३ करोड तिरेर एमडी गर्नलाई । यहाँ आफ्नोमा छ रेडिएसन अंकोलोजी, पढाउन पाइनँ भैले ।

श्रेष्ठ – त्यै त यो सबै बेथिति छ ।

प्रसाईं – मेरो त हेर्नुस् न म त कति मरेको छु । मेरो मेडिकल कलेज हेर्नस् त सबै भौतिक पूर्वाधार पुगेको काठमाडौं उपत्यका बाहिर मेची अञ्चलमा । ल भन्नुस् त ३२ लाख पपुलेसन छ । म त डुबेको छु कि छैन भन्नुस् त ? म त मर्न मात्रै बाँकी छ।

श्रेष्ठ – त्यै त ! यो हटाउनपर्छ सर यस्ता कुराहरू । यो समस्या समाधान गर्नुपर्छ ।

प्रसाईं – अनि शिक्षा चाहिँ कसले लिने भएछ सर भाइ ? … शिक्षा चाहिँ कसले लियो डक्टरसाप ।

श्रेष्ठ – शिक्षा हामीलाई परेन जस्तो छ सर ।

प्रसाईं – शिक्षा हाम्रा हजुरबुबाले राखे होलान् ।

श्रेष्ठ – सायद राखे होलान् शिक्षा

प्रसाईं – किनभने मलाई यसपाली एफिलिएसन पनि दिनुपर्नेछ कि हजुरबुबाले । सबै कुरा सकिएको छ । काठमाडौं युनिभर्सिटी एफिलिएसन दिएको छ । संख्या मात्रै तोकिदिएको छैन । त्यो त नारायणकाजीको मान्छे हो नि त गिरि । त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो क्या त्यो ! ल यसो गर्नुस् त …

श्रेष्ठ – निश्चिन्त हुनुस् काम मिलेर गर्ने हो, तपाईं म ।

प्रसाईं – एकछिन एकछिन । यहाँ सुन्नुस् । भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ २ गते । आज त छुट्टी भइगयो । म भोलि बेलुका हजुरबुबासँगै काठमाडौं आउँछु । भोलि बेलुका भेटुँला । तपाईंको ग्यारेन्टी गर्नुस् । अब तपाईंलाई मैले गर्ने सहयोग गर्छु । तपाईंले जुन भन्नुभयो नि दुई, म आएर गरौंला । तर अलिकति टाइम लाग्छ है । पैसा मिलाएर निकाल्नुपर्छ । त्यत्तिकै हचुवामा निक्लिँदैन । अहिले त बैंकले जम्मै सिस्टम खोज्छ । त्यति सजिलो हुँदैन । भकभक बाकसमा पैसा ल्याएर गाह्रो छ । कुरो बुझ्नुभयो के ? त्यो कसैले पनि दिन सक्दैन आजको आजै पैसा । नेपालमा कसैले सक्दैन ।

श्रेष्ठ– त्यै त ।

प्रसाईं – हिजो पुस मसान्त । हिजो ब्याज बुझाइयो ।

श्रेष्ठ – हजुरलाई नि साह्रै गाह्रो छ होला है विचरा ।

प्रसाईं – गाह्रो छ नि ! मैले त हिजो पुस मसान्त ब्याज बुझाए । मेरो स्वास्थ्य बीमाको पैसा १४/ १५ करोड पैसा अझै दिएन स्वास्थ्य बीमाले अढाइ वर्षदेखि ।

श्रेष्ठ – बीमा पनि १२ अर्बको लगानी हुँदो रहेछ नेपालमा । बीमा पनि सबैतिर लागु गर्नुपर्नेछ ।

प्रसाईं – बीमा कसरी लागु गर्ने म भनिदिन्छु हैन । तपाईंले एउटा कुरा के ग्यारेन्टी गर्नुस् भने म २ करोड दिने भए तपाईंलाई । यो पैसा पनि तपाईंले उही रवीलाई पनि बुझाउनुपर्ला नि त हैन ? भोलि पर्सी ।

श्रेष्ठ – अँ । मैले रवीसरलाई भन्दा पनि रवि सर देखा पर्नुभएको छैन । बाहिरको दुई तीन जना साथीहरू हुनुहुन्छ । उहाँहरूलाई दिने हो । पार्टीलाई जान्छ भनेका छन् के रे ।

प्रसाईं – पार्टीमा पनि सबै कमाउनेकै हुन् नि भाइ ।

श्रेष्ठ – कसरी गर्छन् थाहा छैन । पार्टीमा जान्छ कि जान्न त्यो पनि मलाई थाहा छैन । सोधेकै छैन के । पार्टी कमजोर छ । सुरुवाती क्षण पनि छ । साह्रै गाह्रो छ भन्या छन् ।

प्रसाईं – ल सर म भोलिबेलुका नभए पर्सी आउँछु अनि दाजुभाइ भेटुँला नि त । तपाईंले ग्यारेन्टी गर्नुस् म दिन्छु भनेर । तर मलाई अलिकति टाइम चाहियो भन्नुस् ।

श्रेष्ठ – अँ हुन्छ। म त्यै कुरा गर्छु सर । हजुर भोलि आउनुहन्छ बेलुका ?

प्रसाईं – अँ म भोलि बेलुका । हजुरबुबा आउने भएर बस्नुपर्‍छ कि । अनि म भोलि आउँछु । है डक्टरसाप ।

श्रेष्ठ – ल तपाईं म सबै के के गर्नुपर्छ सल्लाहले ।

प्रसाईं – मैले तपाईंले एउटा कुरो के ग्यारेन्टी गरे भने दूई करोड दिने ग्यारेन्टी गरेँ । तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु । म आएर मिलाइदिन्छु । त्यसमा पीर नगर्नुस् उनीहरूसँग टाइम माग्नुस । म दिन्छु भनेर भन्नुस् सकियो कुरा । तपाईं र म एक ठाउँमा भेट्नुपर्छ । भेटिराख्नु पनि पर्दैन । फोन गर्नु नि पर्दैन । तपाईंलाई म जति भिडेको छु नि स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ । दुई करोडको म ग्यारेन्टी दिन्छु । तपाईं पीर नगर्नुस् अघि बढ्नुस् है । अनि तोशिमाले फेरि लडाइँ त गर्दिनन् नि ? तोसिमा कार्कीले तपाईंसँग ?

श्रेष्ठ – गर्दिनन्, गर्दिनन् । केही समस्या छैन । त्यै टीमले गरेपछि सकियो । रवि सरलाई म्यान्डेट दिएका छौं । उहाँले जसलाई राख्नुभयो भयो । ।

प्रसाईं – फेरि तोसिमाले पैसा निकाल्न पनि सक्दैनन् । तोसिमाले पैसाको कुरा गर्न पनि सक्दैनन् किन भन्नु न गोविन्द केसीको मान्छे भन्छन् । उसले कहीँ कुरै गर्न मिल्दैन । उसँग डराउँछन् ।

श्रेष्ठ– तिनी मन्त्री भइन् भने पनि काम पनि छैन । केही छैन ।

प्रसाईं – हस् ! हस् भाइ ! हस् डक्टरसाप ।

श्रेष्ठ – हस् नमस्कार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.