व्यवसायमा ट्रयाक खोल्दै, छोरानातिलाई सँगसँगै डोर्याउँदै

  २०७९ चैत १७ गते १०:२०     सन्तोष रोकाया र सीआर भण्डारी

काठमाडौं । एउटा ठूलो कोठा । कोठाको तीनतर्फ तीन वटा सोफा सेट । भित्तामा ठूलो टीभीको जस्तै स्क्रिन । तर, त्यो टीभी होइन, सीसीटीभीको निगरानी गर्ने डिस्प्ले हो त्यो । त्यही डिस्प्ले निगरानीमै व्यस्त देखिन्छन् प्रदिपजंग पाण्डे ।

नेपाली उद्योग व्यवसायमा परिचित नाम हो प्रदिपजंग । काठमाडौंको लाजिम्पाट नजिकै रहेको उत्तरढोकामा छ लोमस फर्मास्यूटिकल्सको केन्द्रिय कार्यालय । त्यही कार्यालयमा बसेर उनले व्यवसायिक योजना बनाउँछन् । केन्द्रिय कार्यालयबाटै पेप्सिकोलामा रहेको लोमस फर्मास्यूटिकल्स उद्योगको निगरानी गर्छन् ।

जाँगर चलेको बेला उद्योगमै पुग्छन् । कर्मचारीहरुलाई सल्लाह सुझाव दिन्छन् । काम गर्न उप्रेरणा जगाउँछन् र हौसला दिन्छन् । आजकल यसरी नै बित्छ उनको दैनिकी ।

उमेर ७५ वर्ष । युवाहरुको जस्तो जोस जाँगर । देशविदेशमा हुने घटनाक्रम र अर्थतन्त्रको जल्दोबल्दो अवस्थाको अपडेट । यतिसम्मको उर्जा पाण्डेमा कसरी आउँछ होला ? उनको सक्रियताभित्रको उर्जाको राज हामीले खोतल्ने प्रयास गर्यौं ।

उनले मुसुक्क मुस्कुराउँदै जवाफ दिए, ‘जहिल्यै पनि सकारात्मक भावना राख्नु पर्छ, यदि नकारात्मक सोच्यो भने आफैलाई खान्छ, राम्रोसँग निद्रा लाग्दैन, रोग वृद्धि हुन्छ, शरीर पुरै गल्छ, खुसी हुन सकिँदैन, काममा सन्तुष्ट हुन सक्नु पर्छ, उर्जा आफै आउँछ ।’

तपाईं आफ्नो उद्योग व्यवसायमा सन्तुष्ट हुनुहुन्छ ? हामीले पुनः जिज्ञासा राख्यौं, ‘एकदम सन्तुष्ट छु, एउटा खुड्किलो टेकिसकेपछि मात्रै अर्काे खुड्किलो टेक्नुपर्छ भन्ने मेरो मान्यता हो, एकैपटक चार खुड्किलामाथि टेक्यो भने लडिन्छ, एउटा खुड्किलोमा टेकेपछि सफल भएर मात्रै अर्काे खुड्किलोमा टेक्नु पर्छ, लोमसको सफलतापछि मात्रै मैले अन्य क्षेत्रमा हात हालेँ, मैले कहिल्यै पनि एकै पटक ४ वटा क्षेत्रमा लगानी गरिनँ, जुन क्षेत्रमा लगानी गरेँ, त्यो क्षेत्रबाट म पूर्ण सन्तुष्ट र सफल भएको आभास गर्छु,’ उनले भने ।

उनी भएका व्यवसायलाई सफल बनाउन तर्फ लाग्न सल्लाह दिन्छन् । एउटा व्यवसायसँगै अर्कोमा जम्प गर्दा त्यसले सफलता र सन्तुष्टि नमिल्ने उनको भनाइ छ ।

‘मैले हेलिकप्टरमा लगानी गरेँ, तर अब एयरलाइन्समा लगानी गर्नुपर्छ भनेर कहिल्यै सोचिनँ, जे छ त्यसैमै सन्तुष्ट भएँ, हुन त हजार इच्छाहरु हुन्छन् तर, सबै इच्छाहरु पुरा हुँदैनन्, सारा मान्छेले होटल खोले भने मैले पनि होटल खोल्नुपर्छ भनेर कहिल्यै सोचिनँ,’ तर अरुले सम्भावना नदेखेको र योजना नबनाएका क्षेत्रमा लगानी गर्ने योजना बनाएँ,’ उनले आफ्नो व्यवसायिक रणनीति सुनाए ।

आफुले जति पनि संरचनाहरु विस्तार गरेँ ती नम्बर वान भएको उनको दाबी छ । अब त्यसलाई खस्किन नदिन, दीगो बनाउन र उत्कृष्ट बनाउन यो उमेरमा पनि सक्रिय भएर लागि परेको उनी बताउँछन् ।

‘जबसम्म मेरो स्वास्थ्य र विवेकले काम गर्छ, तबसम्म सक्रिय भएर काम गर्छु,’ उनले भने, ‘मान्छे जति सक्रिय हुन्छ, त्यति नै स्वस्थ हुन्छ, सक्रिय भएपछि व्यस्त भइन्छ, व्यस्त भएपछि उर्जा बढ्दै जान्छ, ।’

व्यवसायमा ट्रयाक खोल्दै

अहिले जुनसुकै क्षेत्रमा पनि देखासिकी हावी छ । एउटा व्यवसायीले होटल खोल्यो भने अर्को व्यवसायीलाई पनि होटल खेल्ने इच्छा जाग्छ । एउटा व्यक्तिले एयरलाइन्समा लगानी थप्यो भने अर्कोलाई पनि सोही क्षेत्रमा काम गर्न मन लाग्छ । तर, उद्योगी पाण्डेलाई भने त्यस्तो कहिल्यै लागेन ।

नेपाली औषधि उद्योगममा उनको पृथक किसिमको छाप छ । जतिखेर नेपालमा विदेशी औषधिको दबदबा थियो । बिरामीहरुले विदेशी औषधि खाएर जीवन बचाउनु पर्ने विवशता थियो । तर, त्यो बाध्यताको बाटो पाण्डेले सदाका लागि अन्त्य गरे ।

त्यो अवस्थामा नेपालमै औषधि उद्योग खोल्न सकिन्छ भन्ने न कुनै उद्योगी व्यवसायी नत कुनै प्रशासकहरुले सोचेका थिए । तर, त्यो विवशतामाथि बुद्धी लगाएर पाण्डेले औषधि उद्योग खोल्ने योजना बुने र वि.सं २०४४ सालमा स्थापना गरे लोमस फर्मास्यूटिकल्स ।

‘मैले नेपालमा औषधि उद्योग खोल्दा देशमा औषधि उद्योग नै थिएनन्, उद्योग खोल्नु अगाडि २/३ वटा उद्योग थिए तर खासै चलेका थिएनन्, औषधि के हो जनतालाई पनि थिएन, धेरैजसोले जडिबुटी प्रयोग गर्थे, डाक्टर र सचिवहरुले पनि नेपालमा औषधि बन्छ र भनेर प्रश्न गर्थे, त्यो बेला जोखिम नै लिएर २५ लाख पुँजीमा गोंगबुमा उद्योग खोलेँ, तर जोखिमको प्रतिफल राम्रै पाइँदो रहेछ,’ सुरुवाती दिनहरु स्मरण गर्दै पाण्डेले भने ।

दिनहरु बित्दै गए । लोमसको औषधिले बजारमा चर्चा पाउँदै गयो । आइएमएस हेल्थले गरेको सर्वेक्षणमा सन् २००१, २००२ र २००३ मा भारत र नेपालबाट बिक्री हुने औषधिहरुमध्ये सबैभन्दा उत्कृष्ट बन्यो लोमस ।

संरचनाहरु विकास र नियम कानुनहरु परिमार्जन हुँदै गए । गोगंबुमा उद्योग विस्तारका लागि ठाउँ नपुगेपछि पेप्सीकोलामा पाण्डेले २५ रोपनी जग्गा खरिद गरे । त्यतिबेला प्रतिरोपनी ७ लाख रुपैयाँमा जग्गा खरिद गरेको उनले बताए । अहिले सोही क्षेत्रमा आनाको ५० लाख रुपैयाँ मूल्य पुगेको छ ।

‘पहिला एउटै भवनमा ३४ वटा औषधि उत्पादन गरिन्थ्यो तर, दिनप्रतिदिन माग बढ्न थालेपछि विस्तार गर्दै लगियो, अहिले ४ सयभन्दा बढी औषधि उत्पादन भइरहेका छन्, हर्वल, स्टोरेन्ट, पेनिक्लिनिक लगायत सबै प्रकारका औषधि छट्टाछुट्टै भवनमा बन्छन्, उनले भने ।

पाण्डेले सबै काम एउटै उद्योगबाट सञ्चालन गर्दा गाह्रो हुन्छ भनेर जनकपुरमा समेत आफ्नो उद्योग विस्तार गरेका छन् । उनको सबैभन्दा पछिल्लो लगानी यही हो । जनकपुरमा साढे ४ बिघा जमिनमा विभिन्न प्रकारका औषधि उत्पादन भइरहेको छ ।

‘मेरो फराकिलो सोच छ, ५०/६० वर्षको भिजन लिएर काम गरिरहेको हुन्छ, काठमाडौंमा ठाउँ पुगेन भने फ्याक्ट्री सञ्चालन गर्न दिँदैनन्, काठमाडौंमा उद्योग बन्द गर्न लगाइयो भने पनि हामी तुरुन्तै जनकपुर जान सक्छौं,’ उनले आफ्नो आगामी कदम पनि सुनाए ।

लोमस औषधि उद्योग स्थापनाको किस्सा भने रोचक छ । मान्छेलाई हानी हुने भन्दा पनि त्यसले सबैलाई टेवा पुग्ने क्षेत्र आफुले रोज्ने गरेको उनी बताउँछन् । ‘म चुरोट, रक्सी, मासु बेच्दिन, त्यसमा लगानी पनि गर्दिनँ, चुरोट र रक्सीले स्वास्थ्यलाई हानी गर्छ भने मासु खानु भनेको अर्काको ज्यान लिनु हो, स्वास्थमा खराब हुने काम नगर्ने मेरो संकल्प छ, जनतालाई नोक्सान गर्ने पेशा कहिल्यै गर्दिनँ, त्यसैले पनि औषधि क्षेत्रमा हात हालेको हुँ,’ उनले भने ।

औषधि उद्योगपछि उनले सिमेन्ट उद्योग खोले । उनले दुई दशक अगाडि कसमस सिमेन्ट उद्योग सञ्चालनमा ल्याए । सिमेन्ट उद्योग स्थापना गर्दा पनि देशमा खासै सिमेन्ट उद्योग थिएनन् । पछि उनले सिमेन्ट उद्योग खोले । विस्तारै नेपालमा सिमेन्ट उद्योग स्थापनाको लहर सुरु भयो ।

औषधि व्यवसायबाट व्यवसायिक जीवन सुरु गरेका पाण्डेको सिमेन्ट, बैंक, जीवन तथा निर्जीवन बीमा, सूचना प्रविधि र पर्यटन लगायत क्षेत्रमा लगानी छ । उनी सबै क्षेत्रमा आफु सफल भएको दाबी गर्छन् । ती क्षेत्रमा नयाँ ‘ट्रेण्डसेट’ गर्न पनि आफु सफल भएको उनी सुनाउँछन् ।

उद्योगी व्यवसायी भन्दा जति सजिलो छ त्यो भन्दा कयौं गुण दुःख पीडा भोग्नु पर्ने उनी बताउँछन् । २०६२/६३ को जनआन्दोलन उनको मानसपटलमा ताजै छ । त्यो सकस उनी अहिले सम्झिन पनि चाहन्नन् ।

‘औषधि उद्योग गोंगबुमा थियो, आन्दोलनका बेला सडकमा हिड्डुल गर्न पनि सकस हुन्थ्यो, म बिहानै ७ बजे फ्याक्ट्रीमा पुगेर कर्मचारीलाई खाना खुवाएर काम गराउँथे, बेलुका सुरक्षित घर पुर्याउँथे, त्यतिबेला धेरै जोखिम मोलियो, चन्दा माग्न लाइन लाग्थ्यो, चन्दा नदिए तेरो घर जलाउछु भन्थे,’ डरत्रासका बिच व्यवसाय गर्नु पथ्र्यो,’ उनले विगत स्मरण गर्दै भने । तर, आफुले कहिल्यै चन्दा नदिएको उनी सुनाउँछन् ।

उहिलेको भन्दा अहिले सकस

७५ वर्षको अवधिमा पाण्डेले धेरै जोखिमहरु मोले । धेरै चुनौतीहरुको सामना गरे । चन्दा माग्नका लागि टेबल अगाडि पेस्तोल ताक्नेहरुसँग उनी डराएनन् । अनुशासित भएर आफ्नो उद्योग व्यवसायमा रमाए । परिणाम स्वरुप उनी निजी क्षेत्रको ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत बने ।

तर, महासंघको अध्यक्ष बन्दै गर्दा अध्यक्ष पदबाट बाहिरिनुको अनुभव भने नमिठो छ । त्यसलाई उनी राजनीतिक विषय ठान्छन् । ‘मलाई राजनीति गरेर महासंघबाट बाहिर गरे, त्यसैले पनि मलाई राजनीतिदेखि घृणा लाग्छ, उनीहरुले मलाई दुख दिए, उजुरी पनि हाले, सर्वाेच्च अदालतले मलाई सफाइ दियो, ममाथि कुनै दाग लागेको छैन,’ उनले महासंघभित्र बस्दाका विवादहरु स्मरण गर्दै भने ।

ती विभिन्न सकस र समस्याहरुभन्दा अहिले बढी चुनौति भएको उनी बताउँछन् । उनी अहिलेको अर्थतन्त्रमा देखिएको समस्या आफ्नो जीवनकालको सबैभन्दा ठूलो सकस भएको सुनाउँछन् । व्यवसायी र ब्यक्तिगत जीवनमा सबैभन्दा धेरै दुखको क्षण अहिले भएको उनी बताउँछन् ।

‘अहिले अवस्था गम्भीर छ, आर्थिक क्षेत्रमा ठूलो संकट आउने देखिन्छ, त्यसैले पनि दिनरात आफैले खटिएर संघर्ष गर्नुपरेको छ,’ उनले भावुक हुँदै भने ।

अहिले बाँच्नका लागि संयमित, चनाखो, बुद्धिमता र लागत कम गरेर काम गर्नु पर्ने उनको भनाइ छ । ‘अर्थतन्त्रमा देखिएको समस्याले धेरै उद्योगहरु धराशायी भइसके, आर्थिक क्षेत्र डामाडोल छ, धेरै सहकारी संस्थाहरु बन्द भए, प्रमोटरले लगानी गरेको रकम डुबेको छ, बैंक तथा वित्तीय संस्थाहरुले पनि राम्रो गर्न सकेका छैनन्, बैंकको नाफा पनि घट्दै गएको छ, भएका संरचनाहरु टिकाइ राख्नु अहिलेको मुख्य चुनौति हो, हरेश नखाएर अर्थतन्त्रलाई सही दिशामा ल्याउने अभिभारा निजी क्षेत्रमाथि छ,’ उनले भने ।

छोरानातिलाई सँगसँगै डोर्याउँदै

उद्योगी प्रदिपजंग पाण्डेका तीन छोरा छन् । छोराहरुलाई पनि उनले व्यवसायमा अभ्यस्त बनाइसकेका छन् । छोराहरुसँगै नातिलाई पनि उनले व्यवसायमा नै सक्रिय बनाएका छन् ।

जीवनको उत्तरार्धमा रहेका पाण्डेका तीन छोरा प्रवल, प्रताप र प्रज्वल पनि विभिन्न उद्योग व्यवसाय सम्हालिरहेका छन् । तीन जना छोराहरु नै उनको व्यवसायका सारथी हुन् । प्रवलले भारतको बैंगलोरबाट इन्जिनियरिङ, प्रतापले फिलिपिन्सबाट एमिबए र प्रज्वलले ढाकाबाट एमफर्मा पास गरेका छन् । तीनै छोराले हासिल गरेको शिक्षा अनुसार व्यवसाय पनि बाँडफाँट गरिएको छ ।

पारिवारिक विजनेशमा औषधि उनी आफैले हेर्छन् । उनी सिटिजन्स लाइफ इन्स्योरेन्सको अध्यक्ष पनि हुन् । उनलाई कान्छो छोराले सहयोग गर्छन । सिमेन्ट उद्योग प्रबलले हेर्छन । वित्तीय क्षेत्रको लगानी प्रतापजंग पाण्डेले हेरिरहेका छन् ।

दायाँबाट क्रमशः प्रतावजंग, प्रबलजंग, प्रदिपजंग र प्रज्जलजंग पाण्डे

छोराहरु पनि निजी क्षेत्रका विभिन्न संघ संस्थाका उच्च ओहदामा रहेर काम गरिरहेका छन् । प्रज्वल फार्मेसी काउन्सिल र एफक्यानको अध्यक्ष पनि हुन् । छोराहरुसँग सँगै व्यवसायिक यात्रा गर्दा खुसी र रमाइलो पनि लाग्ने उनी बताउँछन् ।

प्रनवजंग पाण्डे

पाण्डे परिवारको दुइटा वाणिज्य बैंक र तीन वटा बीमा कम्पनीमा पनि ठूलो लगानी छ । सिटिजन्स इन्टरनेनल बैंक, हिमालयन बैंक, शिखर इन्स्योरेन्स, आइजीआई इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्समा लगानी छ । कैलाश हेलिकप्टर पनि पाण्डे परिवारले सञ्चालन गरिरहेको छ । अहिले उनका नाती प्रनवजंग पाण्डेले पनि व्यवसायमा साथ दिइरहेका छन् ।

‘उनीहरुलाई पनि म जतिकै संयमित बनाइरहेको छु, कहिँकतै गल्ति गरे सच्याउन लगाउँछु, सबैसँग राम्रो व्यवहार गर्न संस्कार दिन्छु, उद्योगबाट उत्पादन भएका वस्तुहरुमा गुणस्तरीयता कायम गर्न, दीगो बनाउन र प्रतिस्पर्धी, क्षमता वृद्धि गर्नु पर्छ भनेर सिकाउँछु,’ उनले भने, ‘आफू मात्रै सन्तुष्ट भएर हुँदैन, संस्थामा आवद्ध कर्मचारी र मजदुरलाई पनि सन्तुष्ट बनाउनुपर्छ भनेर सल्लाह दिन्छु, छोराहरुसँगै नातीलाई व्यवसायिक सारथी बनाउन पाउँदा खुसी छु ।’

‘त्यसपछि सरकारी जागिर छोडें’

उद्योगी प्रदिपजंग पाण्डे कुनैबेला सरकारी जागिरे थिए । सरकारी जागिरको प्रशंग बुझ्नु अगाडि उनको बाल्यकाल बुझौं । वि.सं. २००५ सालमा पाण्डेको जन्म काठमाडौंको क्षेत्रपाटीमा भयो । घर क्षेत्रपाटी । खेत लाजिम्पाटमा थिए ।

उनी आफ्नो बाल्यकाल अझै सम्झन्छन् । त्यतिबेला खेल्नका लागि बल पाइँदैनथे । सानो हुँदा भोगटेको भकुण्डो खेलेको उनको मानसपटलमा ताजै छ । उनले विं.सं २०२२ सालमा जीबी पब्लिक स्कूलबाट एसएलसी (हालको एसईई) पास गरे । व्यवसायमा सफल भएजस्तै उनी शैक्षिक योग्यता हासिल गर्न पनि कहिल्यै असफल भएनन् ।

उनले एसएलसी प्रथम श्रेणीमा पास गरे । वि.सं. २०२४ सालमा प्लस टू (आइकम) पब्लिक कमर्स कलेजबाट गरे । त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०२६ सालमा स्नातक (विक्रम) र २०२८ सालमा स्नातकोत्तर (एमकम) पास गरे ।

कानुन विषय पढ्न उनले कलेज भर्ना गरे । तर, परीक्षा दिन उनको मनले मानेन । ‘वकिल भएपछि पक्ष र विपक्ष भएर वकालत गर्नुपर्छ, मलाई कहिल्यै पनि पक्ष र विपक्ष हुन मन लाग्दैन, आधिकारिक वकिल नभएपनि कानुनका आवश्यक काम म आफै गर्छु,’ उनले भने ।

उनी आफु सकारी जागिर छोडेर व्यवसायी बनेको बताउँछन् । ‘मैले दुई वर्षसम्म एउटा सरकारी कार्यालयमा काम पनि गरेँ, त्यसलाई निरन्तरता दिएको भए अहिलेसम्म सचिव भएर पनि अवकाश भइसक्थें होला तर मलाई जागिर गर्न मन लागेन, त्यसमा प्रगति हुने नदेखेपछि व्यवसाय नै गर्नु पर्छ भन्ने लाग्यो,’ उनले जागिरे जिन्दगीबाट व्यवसायमा जम्प गर्दाका क्षणहरु स्मरण गर्दै भने ।

उनका धेरै साथीहरु सरकारी क्षेत्रमा छन् । महालेखापरीक्षक भानु शर्मा, पूर्वमन्त्री नारायण खड्का, गजेन्द्र बहादुर श्रेष्ठ लगायत उनका ‘क्लासमेट’ हुन् । ‘मेरो क्लासमेटहरु मुख्य सचिवसम्म भए, उनीहरु एक टाइम भएपछि फेज आउट भएर जान्छन् तर व्यवसाय गर्ने मान्छे आफ्नो शक्ति भएसम्म काम गर्न सक्छन्,’ उनले व्यवसायी बनेकोमा गर्व गर्दै भने ।

उनी थप्छन्, ‘मेरो पुर्खा (कालु पाँडे)ले युद्ध लडेर देशका लागि बलिदानी दियो, म देशको अर्थतन्त्रमा टेवा पुर्याएर काम गरिरहेको छु, आर्थिक क्षेत्रबाट यो देशका लागि योगदान दिइरहेको छु, यसमै खुसी छु, सन्तुष्ट छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.