सीतापाइलामा रहेको आरक्ष सहकारीबाट बचतकर्ताले लाखौं रकम फिर्ता पाएनन्

  २०७९ चैत १३ गते १४:२८     विकासन्युज

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँमा कपडा पसल सञ्चालन गर्दै आएकी निरेशोकुमारी रानाले आरक्ष बचत तथा ऋण सहकारी संस्थामा बचत गरेकाे ५० हजार फिर्ता पाउन नसकेको छ महिना पूरा भयो ।

रानाले चार वर्षअघिदेखि यो सहकारीमा बचत गर्न थालेकी थिइन् । जम्मा गरेको बचतले पसलमा सामान थप्ने सोचले बचत गरेकी रानालाई अहिले त्यही पैसा पाए पनि व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने थियो । तर आफैँले बचत गरेको थोरै रकम पनि उनले समयमा पाउन सकेकी छैनन् ।

आरक्ष सहकारीबाट बचत फिर्ता नपाउनेमा राना मात्र होइन बौद्ध, जोरपाटी क्षेत्रकै दर्जन पीडित छन् । बौद्धका राम श्रेष्ठले पनि आरक्ष सहकारीबाट आठ लाख बचत फिर्ता पाउनुपर्ने तर अझै पाउन सकेका छैनन् ।

जोरपाटी क्षेत्रका अमृता श्रेष्ठ र बिना श्रेष्ठले पनि सहकारीबाट एक लाख हाराहारीमा रकम फिर्ता पाउन सकेकी छैनन् । सहकारीले करिब पाँच वर्षअघि बौद्धमा सदस्य सेवा केन्द्र स्थापना गरेको थियो । सहकारीको मुख्य कार्यालय भने काठमाडौं महानगरपालिका– १५ सीतापाइलामा छ ।

बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि गत भदौदेखि नै कार्यालय बन्द रहेको बचतकर्ताको गुनासो छ । सहकारीको कार्यालयमा राखिएको फोनमा फोन उठदैन । कार्यालयमा तालाबन्दी भएको छ । सयौँ पीडितको दिनचर्या सधैँ सहकारी धाउने हुन थालेको छ । बचत फिर्ता पाउँ भनी पीडितले महानगरपालिकाको सहकारी विभागमा उजुरी दर्ता गराएका छन् ।

उजुरी दर्ता गराए पनि पैसा कहिले पाइन्छ भन्ने पीडितलाई पत्तो छैन । महानगरपालिका कार्य क्षेत्र भएका धेरै सहकारीले बचत फिर्ता गर्न नसकेको समाचार सार्वजनिक भएपछि स्थानीयस्तरमा सहकारी समिति पनि गठन गरिएको छ ।

महानगरपालिका–९ का अध्यक्ष रामजी भण्डारीले समिति संयोजकका रुपमा काम गरेकाे छ । महानगर क्षेत्रका सहकारीको गतिविधि र अवस्था अध्ययन गरी सहकारी व्यवस्थापनका लागि कानुनी व्यवस्था गर्न लागिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए ।

महानगर क्षेत्रका सहकारीमा बचत गरेका बचतकर्ताको पैसा फिर्ता गर्ने गरी समितिले स्थानीय सरकारका तर्फबाट कानुनी व्यवस्था गर्न लागेको उनले सुनाए । महानगरपालिकाले महानगर क्षेत्रका सहकारीमा बचत गरेको प्रमाणसहितको प्रतिलिपि बुझाएर सहयोग गर्न पनि बचतकर्तालाई आह्वान गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.