नारायणघाट बुटवल सडक शिलान्यास भएको ४ वर्षपछि कालोपत्र सुरु

  २०७९ चैत २ गते ९:०९     विकासन्युज

काठमाडौं । शलान्यासको ४ वर्षपछि पूर्वपश्चिम नारायणघाट–बुटवल सडकको पूर्वी खण्डको कावासोती क्षेत्रमा कालोपत्रको काम सुरु भएको छ । नारायणघाटबाट ३० किलोमिटर पश्चिममा रहेको कावासोती र लोकाहाबीचको जङ्गल क्षेत्रमा पाँच सय मिटर सडकमा बिहीबार कालोपत्र गरिएको हो ।

गत २०७५ चैत ८ गते शिलान्यास भएको पूर्वपश्चिम जोड्ने मुख्य राजमार्गको यसअघि पूर्वी खण्डको हर्कपुर र पश्चिम खण्डको भुमहीमा कालोपत्रको परीक्षण गरिएको थियो । कावासोतीदेखि लोकाहासम्मको ४ किलोमिटर सडक एक साताभित्र कालोपत्र गरिसक्ने आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए । उनका अनुसार राजमार्गको उत्तरतर्फको साढे सात मिटर फराकिलो सडकमात्र पहिलो चरणमा कालोपत्र गरिएको हो ।

‘बुधबार गरिएको कालोपत्र छ सेन्टिमिटर बाक्लो छ, दोस्रो चरणमा चैत मसान्तभित्र त्यसमाथि थप चार सेन्टिमिटर बाक्लो कालोपत्र थपिने छ,’ झाले भने ।

कावासोतीको लोकाहादेखि पश्चिम केरुङ्गेखोलासम्मको क्षेत्र कालोपत्र गर्न थप १ लाख घनमिटर ग्राभेल आवश्यक पर्ने भएकाले निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र कावासोती नगरपालिकाबीच ग्राभेल खरिदको सम्झौता सम्पन्न भएको जानकारी दिँदै झाले कावासोतीको लोकाहादेखि पश्चिम केरुङ्गेखोलासम्मको सडक चैतभित्र कालोपत्र गरिने बताए ।

फागुन मसान्तसम्म सडक विस्तारको कार्य प्रगति २६ प्रतिशतमात्र भएको सडकको निर्माण कम्पनी चाइना स्टेट इञ्जिनियरिङ करपोरेशनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलो मिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा ४ लेन तथा दाउन्नेमा ३ लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्गकोे विस्तार गरिरहेको छ ।

लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । साढे ३ वर्षमा सडक निर्माणको काम सक्ने र ५ वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विं.सं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.