भोलि बैंक बन्दको पत्राचार, सीडीओको सहयोगमा खोल्न बैंकर्सको निर्देशन

  २०७९ फागुन २९ गते २०:१७     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायीहरुले भोलि एकदिन बैंक बन्द गर्न आग्रह गर्दै प्रत्येक बैंकलाई पत्र पठाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला सदस्य मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न बैंकहरुलाई पत्र पठाएर भोलि बैंक बन्द गर्न आग्रह गरेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदरको विषयमा उद्योगी व्यवसायीहरुले विरोध जनाएको र सोही विरोधलाई सहयोग स्वरुप भोलि बैंक बन्द गर्न सम्पूर्ण बैंकहरुलाई आग्रह गरेको हो ।

‘आर्थिक मन्दीको कारण उद्योगका उत्पादनहरुको बिक्रीमा गम्भीर धक्का लागेको छ, व्यवसायीहरुको न्यून बिक्रीको कारण आर्थिक सन्तुलन बिग्रिएको छ, उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई टुवा पुर्याउन एक अंकको ब्याजदर कायम गरी राहत दिन यहाँ मार्फत् अनुरोध गर्दै फागुन ३० गते हाम्रो अनुरोधलाई सघाउन बैंक बन्द गरिदिन अुरोध गर्दछौं,’ पत्रमा लेखिएको छ ।

उद्योगी व्यवसायीहरुले बैंक बन्द नै गर्नका लागि पत्र पठाएपछि बैंकर्सले भने बैंक बन्द नगर्न आफ्ना शाखाहरुलाई आन्तरिक सर्कुलर गरेका छन् । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बैंकका शाखाहरु बन्द नगर्न बैंकका म्यानजेरहरुलाई निर्देशन दिएको बताएका छन् ।

‘उद्योगी व्यवसायीहरुले बैंक बन्द नै गर्न पत्र पठाएका रहेछन्, बैंकिङ व्यवसाय अन्य व्यवसाय जस्तो मन लागेको बेला खोल्ने र मन नलागेको बेला बन्द गर्ने होइन, यो अत्यावश्यक सेवा हो, यसमा आम सर्वसाधारणहरुको दैनिकी जोडिएको छ, बैंक नै बन्द गर्नु भनेर यस्तो अराजकता देखाउनु हुँदैन, यो वित्तीय क्षेत्रका लागि राम्रो काम होइन,’ उनले भने ।

उनले शाखा कार्यालयहरुलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सहयोगमा बैंक खोल्न भनिएको बताए । उनले सबै बैंक तथा वित्तीय संस्थालाई निर्वाद रुपमा कार्यालय खोल्न पनि आग्रह गरेका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको ब्याज उच्च भएको भन्दै केही उद्योगी व्यवसायीहरु आन्दोलित छन् । आज मात्रै केही उद्योगी व्यवसायीहरु राष्ट्र बैंक पुगेर विरोध गरेका थिए ।

उनीहरुले मौद्रिक नीति परिमार्जन गर्नुपर्ने, ब्याज दरमा स्थिरता कायम गर्नुपर्ने, चालू पुँजी निर्देशिका स्थगित गर्नुपर्ने लगायतका मागहरु राखेर राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गरेका थिए । जसमा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष दिनेश श्रेष्ठको पनि सहभागिता थियो ।

पछिल्लो समय श्रेष्ठले बैंक तथा वित्तिय क्षेत्रमाथि धावा बोल्दै आएका छन् । कतिपयले उनको अभिव्यक्तिलाई महासंघको चुनाव लड्ने स्टन्टका रुपमा पनि बुझेका छन् । उनले उद्योगी व्यवसायीहरुको मत पाउनकै लागि उनीहरुलाई उचालेर आफु हिरो बन्न खोजेको धारणा धेरैको छ ।

श्रेष्ठले पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रममै बैंक विरोधी अभिव्यक्तीहरु दिन थालेका छन् । उनले उद्योगी टाट पल्टने अवस्था बन्दा समेत बैंक गम्भीर नभएको बताइरहेका छन् ।

‘कञ्चनजङ्गादेखि कञ्चनपुरसम्मका उद्योगीहरु हाल काठमाडौँमा बैंक ब्याजको विरोधमा सडकमा ओर्लिएको अवस्था छ, हामी सबै उद्योगी अहिलेको अवस्थामा मिलेर दबाब दिन आवश्यक छ, त्यसैले आउनुस् हातेमालो गर्दै नेतृत्व पङ्क्तिलाई आग्रह गरौँ,’ उनले सोमबार राष्ट्र बैंक अगाडि भएको विरोध सभामा भने, ‘बैंकले हामीलाई पीडा दिए ।’

महासंघकै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल भने बैंकविरुद्द अराजक गतिविधि नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरिरहेका छन् । उनले केही व्यक्तिहरुले समाजमा पपुलर बन्नका लागि स्टन्ट गरिरहेको बताउँदै त्यस्ता व्यक्तिहरुको पछाडि नलाग्न सबै उद्योगी व्यवसायी र सर्वसाधारणलाई समेत आग्रह गरिरहेका छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छा पनि यस्ता अराजक गतिविध नगर्न आग्रह गरिरहेका छन् । उनले संस्थागत रुपमा भने यस्ता गतिविधि गर्नेलाई कुनै पनि निर्देशन दिन सकेका छैनन् । महासंघको निर्वाचन नजिकिँदै गएकाले पनि अराजक गतिविध गर्ने केही व्यवसायीविरुद्द महासंघले एक्सन लिन नसकेको बुझाइ धेरैको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवाल पनि बैंकविरुद्द व्यवसायीहरु उत्रिनु गलत भएको धारणा राख्दै आएका छन् । उनले बैंकविरुद्दका अभियान सञ्चालन गर्नु अराजकता भएको बताउँदै यस्तो कार्य नगर्न पनि आफ्ना सदस्यहरुलाई आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल पनि उद्योगी व्यवसायीले अराजकता प्रदर्शन गर्न नहुने. बताउँछन् । बैंकिङ क्षेत्रबिना अर्थतन्त्र चलायमान नहुने बताउँदै उनले बैंकको अस्तित्वमाथि नै प्रश्न उठ्ने खालका गतिविधि नगर्न आग्रह गरे ।

‘हामी सबैले ऐन नियमभित्र बस्नु पर्छ, समस्या परेको बेला एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्नु पर्छ, बैंकको ऋण तिर्दिन भन्नु गलत हो, तिर्नु पर्छ, तर बैंकहरुले पनि बढी ब्याज लिनु भएन,’ उनले भने ।

सम्बन्धित सामग्री : उद्योगी व्यवसायीलाई बैंकहरु नचाहिएको हो ? निजी क्षेत्र किन मौन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.