सात महिनामा सवा ८ खर्ब व्यापार घाटा, घट्यो आयात निर्यात

  २०७९ फागुन २८ गते १३:०२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको सात महिना महिनामा नेपालले ९३ अर्ब बराबरको निर्यात गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको  (गत साउनदेखि माघ मसान्तसम्म)  तथ्यांक अनुसार नेपालले ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको हो । बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अबधिमा ८८.३ प्रतिशतले निर्यातमा वृद्धि भएको थियो । गत आवको तुलनामा चालु आवको सो अवधिमा २९ प्रतिशतले निर्यातमा कमी आएको हो ।

सात महिनाको अबधिमा नेपालले भारत र चीनतर्फ गर्ने निर्यातमा कमी आएको छ भने अन्य देशको निर्यातमा बृद्धि भएको छ । भारतमा ३७.७, चीनतर्फ १३.४ प्रतिशतले निर्यातमा कमी आउँदा अन्य मुलुकतर्फको निर्यातमा ८ प्रतिशतले बृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

सात महिनाको अबधिमा नेपालले जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

चालू आवको सात महिनाको अबधिमा नेपालले विभिन्न देशबाट ९ खर्ब १९ अर्ब १७ करोड बराबरको विदेशी वस्तुको आयात गरेको छ । अघिल्लो आवकोे तुलनामा चालू आवको सो अबधिमा १९.९ प्रतिशतले आयातमा कमी आएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो । भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८ प्रतिशत, २४.३ प्रतिशत र २२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

चालू आवको सात महिनाको अबधिमा नेपालको कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले कमी आई ८ खर्ब २५ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ७१ अर्ब ७८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२८ अर्ब १७ करोड बराबरको भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.