अरुण ३ जलविद्युत परियोजनाको उच्चस्तरीय भ्रमण, ६१.२ प्रतिशत काम सम्पन्न

  २०७९ फागुन २५ गते १८:०८     विकासन्युज

काठमाडौं । नेपाल भ्रमणमा रहेकी बेलायतकी फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो–प्यासिफिक) एने–म्यारी ट्रेवेलियनले अरुण ३ जलविद्युत परियोजनाको अनुगमन गरेकी छिन् । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको परियोजनाको विद्युत गृह स्थल तथा ट्रान्सफर्मर वेको अवलोकन गरेकी हुन् ।

उनले नेपालले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनका क्षेत्रमा अभूतपूर्व उपलब्धी हासिल गर्नेतर्फ मुखरित रहेको भन्दै खुसी व्यक्त गरिन् । उनले नेपालले जलविद्युत उत्पादनमा नेपालको तुलनात्मक र प्रतिस्पर्धी लाभको चर्चा गर्दै स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रीय व्यापारबाट कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महत्वपूर्ण भूमिका रहेकोमा प्रसंशा गरिन् ।

अरुण–३ जलविद्युत परियोजना भारतीय विकासकर्ता कम्पनी एसजेभीएनको मुख्य स्वामित्वमा स्थापित एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत विकास भइरहेको छ । परियोजनाको उत्पादन तर्फको हालसम्म भौतिक प्रगति करिब ६१.२ प्रतिशत सम्पन्न भएको छ ।

विकासकर्ता स्वयंले परियोजना विद्युत गृहदेखि भारतको सीतामढीसम्म ४ सय केभी क्षमताको कुल २५३ किमी लामो अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिरहेको छ । सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

राष्ट्रिय महत्वका पूर्वाधार परियोजनामा सार्वजनिक–निजी साझेदारीमा लगानी जुटाउने तथा विकास गर्ने नोडल एजेन्सीको रूपमा रहेको लगानी बोर्डको क्षमता विकास र संस्थागत सुदृढीकरणमा विगत लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आएको बेलायत सरकारले प्राविधिक सहयोगलाई निरन्तरता दिने उल्लेख गरेको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण–३ जलिवद्युत परियोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण कोशेढुंगा रहेको बताए । लगानी बोर्डले कोभिड १९ महामारीको कठिन समयमा पनि परियोजना कार्यान्वयन जारी राख्न आवश्यक सबै सहजीकरण गरेको उनको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले नेपालमा निर्माणाधीन र निर्माणका लागि गृहकार्य अघि बढाइएका ठूला जलविद्युत परियोजनाहरूले विद्युतको माग सम्बोधन हुने बताए । साथै, उनले क्षेत्रीय विद्युत व्यापारलाई सार्थक बनाउन दक्षिण एसियाली देशहरूबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.