हुलाकी राजमार्ग अन्तर्गत बाँकेमा तीन वटा सडक बन्दै

  २०७९ फागुन २५ गते १४:०१     विकासन्युज

खजुरा । हुलाकी राजमार्ग अन्तर्गत बाँके जिल्लामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । बाँकेको राप्ती पूल पूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७ दशमलव ४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ ।

नेपालगञ्ज–गुलरिया सडकखण्डमा बाँके खण्ड ११ दशमलव ६ किलोमिटर छ । बाँकेमा चालु आर्थिक वर्षमा हुलाकी लोकमार्गका तीन योजना अन्तर्गत ४१ किलोमिटर सडक निमार्ण भइरहेको छ ।

राप्तीपुल पूर्व नारायणपुरदेखि कुण्डासम्म २१ किलोमिटर सडक ६८ करोड सात लाखको लागतमा अस्फाल्ट कालोपत्र सुरु गरिएको हो । राप्तीसोनारी गाउँपालिकामा पर्ने राजमार्गको २१ किलोमिटर खण्डमा अक्सफाल्ट प्रविधिद्वारा कालोपत्र गर्न सुरु गरिएको हो ।

खड्का कृष्ण कन्स्ट्रक्सनले हुलाकी लोकमार्गको अस्फाल्ट प्रविधिवाट सडक कालोपत्र गर्ने बोलपत्र प्रक्रियाद्वारा सम्झौता गरेको थियो । आव २०७५/७६ मा सुरु भएको योजना २०८० साल कात्तिकमा सक्ने सम्झौता रहेको छ ।

नेपालगञ्ज–गुलरिया सडकखण्ड दुई अर्ब ७८ करोड २९ लाख ४१ हजार आठ सय ३६ मा निर्माणका लागि यसै वर्ष मङ्सिर २८ गते शर्मा एण्ड कम्पनीसँग सम्झौता भएको थियो । अस्फाल्ट क्रङ्क्रिट सडक निर्माणको काम अगाडि बढिसकेको छ ।

सडकको बाँके खण्डमा ५ दशमलव ४ किलोमिटर चार लेन र ६ दशमलव ३६ किलोमिटर दुई लेन बनाइने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनीयर कृष्णप्रसाद पाण्डेले बताए ।

उनका अनुसार बर्दियातर्फ भने ६ दलशमलव २ किलोमिटर चार लेन र नौ दशमलव ६६ किलोमिटर दुई लेन बन्नेछ । उक्त सडक खण्ड चौडा पर्ने र अस्फाल्ट कालोपत्र गर्ने योजनाको काम सुरु भएको हो । उक्त योजना २०८२ मङ्सिर २७ गते सम्पन्न गर्ने सम्झौता निर्माण कम्पनीसँग भएको छ ।

इञ्जिनीयर पाण्डेले बसपार्कदेखि राप्तीपुतसम्म सडक चौडा पार्ने योजना कार्यान्वयनमा रहेको भन्दै उनले राप्तीपुलसम्मको नौ किलोमिटर सडक चौडा पार्ने सम्झौता भई निर्माण सुरु भएको बताए । यसैवर्ष कात्तिक ६ गते सरु भएको योजना २०८० कात्तिकमा सक्ने सम्झौता छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.