‘उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुन्छ’

  २०७९ फागुन २४ गते ७:५६     विकासन्युज

काठमाडौं । खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुने अर्थतन्त्रका जानकार तथा यस क्षेत्रका विज्ञले जोड दिएका छन् । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विज्ञले हाल विश्वमा सतप्रतिशत आत्मनिर्भरता असम्भव रहेकाले खुला व्यापारको विकल्प नरहेको बताए ।

नेपालले विश्व व्यापार सङ्गठनमा प्रवेश गरको दुई दशक बित्दा पनि देश थप आयातमुखी हुनुको कारण पहिल्याएर उचित नीति तय गरेर कार्यान्वयन गर्नुपर्ने उनीहरुले आवश्यकता औँल्याएका छन् ।

इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट एकेडेमी, बैङ्गलोरअन्तर्गत साउथ एसिया बोर्ड एकेडेमी अफ इन्टरनेशनल बिजिनेसका अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमण्यमले व्यापारमा खुलापनले आफैँमा अवसर ल्याउने बताए । उनले नेपालले आफ्नै स्थायीन स्रोतमा आधारित उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

‘यसले प्रतिस्पर्धी क्षमताको विकास र प्रविधिको प्रयोगले उत्पादनमा गुणस्तर बढाउने अवसर दिन्छ, कुनै पनि देशको एउटा निश्चित ब्रान्ड हुन्छ, स्थानीय स्रोतमा आधारित र विश्वबजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको पहिचान नेपालले गर्नसक्छ, व्यापार प्रणालीका सुधारसँगै सूचना प्रविधिको प्रयोगले समग्र यी उपलब्धि हासिल हुनसक्छन्,’ उनले भने ।

भारतीय सरकारका पूर्ववाणिज्य सचिव डा.अनुप वाधावनले व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ त्यति धेरै अर्थतन्त्रले लाभ पाउने बताए । उनका अनुसार अहिलेको समयमा सतप्रतिशत आत्मनिर्भर असम्भव रहेकाले खुला व्यापारको विकल्प कम्तीमा व्यापारमा सिर्जनशीलता चाहनेका लागि सम्भव छैन ।

‘कुनै पनि देशले खुला व्यापार अपनाउनुको अर्थ विकसित र प्रतिस्पर्धी अर्थतन्त्रको लाभ लिएर आफूलाई उन्नत बनाउने हो,’ उनले भने ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएको र देशको उच्च व्यापार घाटा जोखिमपूर्ण रहेको बताए । नेपालले अपनाएको अहिलेसम्मका व्यापार नीतिबाट उत्पादन र बजारको खोजीमा असफलता नै धेरै हात लागेको बताउँदै उनले असफलताको समीक्षा गरी उपयुक्त नीतिगत पहिचानका लागि यो सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

‘विश्वविद्यालयका रूपमा हामीले दक्ष जनशक्ति विकासमा काम गरिरहेका छौँ, अझै नयाँ युगको आवश्यकता अनुसारको जनशक्ति विकासमा हामीले ध्यान दिइरहेका छौँ,’ उनले भने ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक अच्युत वाग्लेले देशको ८५ प्रतिशत व्यापार २ छिमेकी भारत र चीनसँग मात्र भइरहेकाले व्यापार विविधीकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने बताए ।

ठूला छिमेकीले इतिहासमा आफ्नो भू–राजनीतिक स्वार्थ पूरा गर्न व्यापारलाई रणनीतिक वस्तुका रूपमा उपयोग गरेकाले व्यापार विविधीकरण महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । वस्तु निर्यातमा कमजोर रहँदारहँदै सेवा व्यापारमा पनि नेपाल कमजोर रहेको उनले बताए ।

व्यापारमा खुलापन, आर्थिक विकास र आर्थिक दिगोपन विषयमा आयोजित सो अन्तर्राष्ट्रिय सम्मेलन बुधबारसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.