व्यवसाय विस्तारमा ग्लोबल आइएमई बैंक आक्रामक, नबिल र एनआइएमबिले पछ्याउँदै

  २०७९ फागुन २३ गते १६:१९     विकासन्युज

काठमाडौं । पछिल्लो समय मर्जरमा गएका वाणिज्य बैंकहरुबीच व्यवसाय विस्तारमा रोचक प्रतिस्पर्धा भएको छ । मर्जरमा गएका नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि), कुमारी बैंक, प्रभु बैंक र हिमालयन बैंकबीच व्यवसाय विस्तारमा रोचक प्रतिस्पर्धा हुने गरेको हो ।

मर्जरमा गएका यी बैंकबीच नम्बर वान बन्न ठूलै अभ्यास भइरहँदा निक्षेप संकलन र कर्जा विस्तार रोचक प्रतिस्पर्धा भएको नेपाल बैंकर्स संघको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुले ४७ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन र ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

जसमा मर्जरमा गएका यी ६ बैंकले माघ मसान्तसम्ममा १९ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन र १८ खर्ब १७ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । हाल सञ्चालनमा रहेका बैंकहरुमध्ये निक्षेप संकलन र कर्जा प्रवाहमा यी ६ बैंकको हिस्सा धेरै देखिन्छ ।

सबैभन्दा धेरै निक्षेप ग्लोबल आइएमई बैंकले संकलन गरेको छ । बैंकले ७ महिनाको अवधिमा १८ अर्बभन्दा बढी निक्षेप भित्र्याएको हाे । जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा धेरै निक्षेप संकलन गर्ने बैंकमा पर्छ । माघसम्मको तथ्याङ्क अनुसार बैंककाे निक्षेप ४ खर्ब १५ अर्ब रुपैयाँ पुगेकाे हाे । गत असार मसान्तसम्म बैंकसँग ३ खर्ब ९७ अर्ब ५९ करोड रुपैयाँ निक्षेप थियो ।

यस्तै, नबिल बैंकले ७ महिनामा ३० अर्ब ८८ करोड रुपैयाँ निक्षेप वृद्धि गरेर ३ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप पुर्याएकाे छ । गत असार मसान्तसम्ममा बैंकले ३ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९ अर्ब रुपैयाँ निक्षेप बढाएर ३ खर्ब ५१ अर्ब रुपैयाँ संकलन गरेको छ । गत असारमा बैंकसँग ३ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप थियो । यस्तै, हिमालयन बैंकले माघसम्म ३ अर्ब ९२ करोड रुपैयाँ बढाएर २ खर्ब ७१ अर्ब रुपैयाँ संकलन गरेको छ । गत असारसम्ममा बैंकसँग २ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप थियो ।

७ महिनाको अवधिमा २ बैंकको निक्षेप संकलन भने घटेको छ । कुमारी बैंकको १८ अर्ब रुपैयाँ घटेर ३ खर्ब ५ अर्ब रुपैयाँ र प्रभु बैंकको ९ अर्ब रुपैयाँ घटेर २ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप पुगेकाे छ । गत असारमा कुमारी बैंकसँग ४ खर्ब २४ अर्ब रुपैयाँ र प्रभु बैंकसँग २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप थियो ।

कर्जा विस्तारमा ग्लोबल आइएमई बैंक आक्रामक बनेकाे छ । माघसम्म बैंकले ३ खर्ब ७८ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको तथ्याङ्कले देखाएको छ । गत असारमा बैंकले ३ खर्ब ७८ अर्ब ९३ करोड रुपैयाँ कर्जा दिएको थियो । बैंकले सबैभन्दा धेर कर्जा प्रवाह गरेपनि ७ महिनाकाे अवधिमा भने ३४ करोड रुपैयाँ कर्जा घटेको छ ।

यस्तै, नबिल बैंकले १४ अर्ब वृद्धि गरेर ३ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असार मसान्सतम्म बैंकले ३ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेको थियो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले १० अर्ब वृद्धि गरेर ३ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसअघि गत असारमा बैंकले ३ खर्ब १८ अर्ब रुपैयाँ कर्जा वितरण गरेको थियो ।

यस्तै, कुमारी बैंकको १ अर्ब रुपैयाँ कर्जा घटेको छ । बैंकले माघसम्म २ खर्ब ८४ अर्ब रुपैयाँ प्रवाह गरेको थियो । गत असार मसान्तसम्म बैंकले २ खर्ब ८६ अर्ब रुपैयाँ प्रवाह गरेको थियो ।

यस्तै, प्रभु बैंकले ७ अर्ब ९७ करोड बढाएर २ खर्ब ४९ अर्ब रुपैयाँ र हिमालयन बैंकले ७ अर्ब ९४ करोड बढाएर २ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असारसम्म प्रभु बैंकले २ खर्ब ४१ अर्ब रुपैयाँ र हिमालयन बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.