पूर्वपश्चिम राजमार्ग स्तरोन्नति कामले पायो तीव्रता

  २०७९ फागुन २१ गते १६:५१     विकासन्युज

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको कामले तीव्रता पाएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत सडक चौँडा बनाउने काम गरिरहेको हो ।

डिभिजन कार्यालयले पूर्वपश्चिम राजमार्ग स्तरोन्नति गर्नको लागि आठ करोड रुपैयाँमा मा ठेक्का लगाएको थियो ।

राजमार्ग चौँडा गर्न माटो भरान गर्ने, कल्भर्ट बनाउनेलगायत काम भइरहेको कार्यालयमा सूचना अधिकारी पियुस चटौटले बताए । उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा एक हजार दुई सय मिटर सडक स्तरोन्नतिको काम भइरहेको छ ।

डिभिजन कार्यालयको सडक स्तरोन्नति पश्चात् कालोपत्र गर्ने योजना छ । ‘दश वटा पाइप कल्भर्ट चौँडा गर्ने काम अन्तिम चरणमा पुगेको छ, सडक मर्मत गरी चार लेनको बनाइँदैछ, ट्राफिकको चाप बढी भएका ठाउँमा सडकमा एक/एक लेन थप्न लागेका हौं,’ उनले भने ।

गत आर्थिक वर्ष २०७८/७९ मा सडक बोर्डमार्फत राजमार्गको भाँसी सडक खण्ड चौँडा गरिएको थियो । गड्डाचौकी, दैजी, सिसैयालगायतका क्षेत्रमा यसअघि नै सडक चौँडा गरिएको छ । सडक निर्माणका लागि मुमताज कन्ट्रक्सन, जसलिङ जेभी कम्पनीले र कल्भर्ट निर्माणका लागिमैनाचुली जेभिसँग ठेक्का सम्झौता गरिएको थियो ।

पुराना ठेक्काबाट बचेको रकमबाट पुनः बोलपत्र आह्वान गरी सडक स्तरोन्नतिको अगाडि बढाइँदै आएको छ । चालु आर्थिक वर्ष २०७९/८० को असारमसान्तसम्म सडक र कल्भर्ट चौँडा गर्ने काम सम्पन्न गरिसक्ने गरी समय सीमा निर्धारण गरिएको छ ।

यसै गरी सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमध्ये सातमा सडक निर्माण गरिरहेको छ । ‘जग्गा प्राप्ति नहुँदा एक निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति अगाडि बढ्न सकेको छैन, बाँकी सातमा कार्य अगाडि बढिरहेको छ, लगभग हालसम्म १५ प्रतिशत काम सम्पन्न भएको छ,’ उनले भने ।

पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको काम सुरु भएको दुई वर्षभित्र सक्नु पर्ने गरी ठेक्दार कम्पनीसँग सम्झौता भएका पनि चटौटले जानकारी दिए । सातवटै सडक स्तरोन्नतिका लागि तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ । निर्माण थालिएका सातवटै सडक आठदेखि १० किलोमिटरका हुनेछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.