इन्टरनेट र मोबाइल नेटवर्कमा समस्या भए क्षतिपूर्ति पाइने

  २०७९ फागुन १६ गते ११:३२     विकासन्युज

काठमाडौं । अब इन्टरनेट तथा मोबाइल नेटवर्कमा समस्या भए क्षतिपूर्ति पाइने भएको छ । प्राधिकरणले तोकेको गुणस्तर कायम नभए मोबाइल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले ग्राहकलाई क्षतिपूर्ति दिनुपर्नेछ ।

नियामक निकायको रुपमा रहेको प्राधिकरयाले दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७९ पारित गरेसँगै क्षतिपूर्ति मागदाबी गर्न पाईने भएको हो ।

आगामी वैशाख १ गतेदेखि लागू हुने उक्त विनियमावली अनुसार तोकिएकोभन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा सम्बन्धित ग्राहकले आफूलाई परेको असुविधा वापत सेवा प्रदायकबाट क्षतिपूर्ति माग दाबी गर्न सक्नेछन् ।

यसरी माग दाबी गरेको खण्डमा सम्बन्धित सेवाप्रदायकले ग्राहकबाट दूरसञ्चार सेवा शुल्क वापतको उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ ।

विनियमावली अनुसार इन्टरनेट डाउनलोड वा अपलोड हुने दर ८० प्रतिशतभन्दा बढी हुनुपर्नेछ । यस्तै, फोरजीको प्रयोगकर्ताको डाउनलोड १५ एमबीपीएस, अपलोड ७.५ एमबीपीएस, थ्रिजी प्रयोगकर्ता डाउनलोड ३ एमबीपीएस र अपलोड १.५ एमबीपीएस हुनुपर्नछ ।

प्राधिकरणले अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्ड सार्वजिनक गरिएको भन्दै प्रविधिमा भएको विकासक्रम तथा विद्यमान सेवाको गुणस्तर समबन्धी समस्याहरुलाई समेत सम्बोधन हुने जनाएको छ ।

ग्राहकले मोबाइल डाटा/भ्वाईस प्याकेज सेवा खरिद गरेको तर उक्त प्याकेजको अवधिमा सेवा प्रदायकको नेटवर्क डाउन भई ग्राहकले सेवा प्राप्त गर्न नसक्दा, फिक्स ब्रोडब्याण्ड इन्टरनेट सेवा तोकिएको भन्दा बढि समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसक्दा सेवा प्रदायक कम्पनीले ग्राहकको दावी अनुसार सेवा शुल्क वापतको क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ ।

यस्तै, प्रदायकले फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवा अवरुद्ध भएको तथा सेवा पुनः सञ्चालनमा आएको जानकारी तथा सूचना ग्राहकलाई एसएमएस, मोबाइल एप आदि माध्यमबाट उपलब्ध गराउनु पर्नेछ ।

प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७९ जारी गरेसँगै यसअघिको दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७३ खारेज भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.