नवलपरासीमा १५ शय्याको अस्पताल बनाईँदै

  २०७९ फागुन १६ गते १०:०२     विकासन्युज

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित सुनवल नगरपालिकाले आफ्ना दुई वडामा १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने भएको छ । १२ औँ नगरसभाले सुनवलको वडा नं ८ र वडा नं ५ मा अस्पताल निर्माण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

नगरप्रमुख विमला अर्यालले दुवै स्थानमा अस्पताल आवश्यक रहेको बताइन् । सुनवलमा अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि परासी, बुटवल, भैरहवा जानुपर्ने बाध्यता रहेको थियो । उनले पाँच वर्षभित्रमा सामान्य उपचारका लागि नगर बाहिर जानुपर्ने अवस्थाको अन्त्य गरिने बताइन् । नगरसभाले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रको एकीकृत विकास गर्न योजना तर्जुमा गरेको छ ।

सेफहाउस सञ्चालन, हिंसापीडित कोषको स्थापना, महिला विद्यालय सञ्चालन, बाल संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि विद्यालय सञ्चालन गर्ने, प्रत्येक आर्थिक वर्षमा एक नमूना विद्यालय बनाउने लगायतका योजना नगरसभाले अगाडि सारेको छ । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी तरकारी, माछा मासु, फलफूल, अन्डा, दूध र तेलहनमा आत्मनिर्भर हुने गरी रणनीति तय गरिएको पनि नगरपालिकाले जनाएको छ ।

यसैगरी सुनवल रिङरोड निर्माण गर्ने, एक हजार किलोमिटर सडक कालोपत्र, चार नयाँ झोलुङ्गे पुल निर्माण, चार सडक पुल र ५० किलोमिटर नयाँ सडक निर्माण गर्ने पनि सुनवलले पाँच वर्षे योजनामा सार्वजनिक गरेको छ । एक नगर एक नमूना बस्ती, फोहरमैला उद्योग, अटोभिलेज निर्माण, एक वडा एक खेलमैदानलगायतका महत्वकांक्षी योजना पनि समेटिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.