पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : दैनिक १८ घण्टा सञ्चालन, रात्रिकालीन उडानका लागि तयार

  २०७९ फागुन ११ गते १२:४५     विकासन्युज

काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ । गत जनवरी १ तारिखदेखि औपचारिक रुपमा उद्घाटनमा आएको क्षेत्रिय विमानस्थल बिहीबारदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएकोे हो ।

विमानस्थलमा इन्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न योग्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले जनाएको छ ।

विमानस्थलका प्रमुख विक्रम गौतम आइएफआर प्रणाली जडान भएसँगै दैनिक १८ घण्टा सञ्चालनमा आएको जानकारी दिए । उनका अनसार बिहान ६ बजेदेखि साँझ १२ बजेसम्म विमानस्थल खुला रहनेछ ।

विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआइपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने गौतमले बताए ।

‘एआइपी प्रकाशन भएको बिहीबार ४२ दिन पुग्दैछ, हामीले यसको जानकारी कम्पनीलाई दिएका छौँ, यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागिसमेत परिपक्क भएको छ’, उनले भने । यसअघि एआइपी प्रकाशन गरेको ४२ दिन नपुगेका कारण रात्रिकालीन उडानका लागि समय पर्खिनुपरेको बताइन्छ ।

हाल विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतण हुँदै आएको छ । आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिएफआरको तुलनामा सुरक्षितसमेत रहेको बताइन्छ । विमानस्थल रात्रिकालीन उडानका लागि योग्य भएसँगै निजी क्षेत्रका हवाई कम्पनीले रात्रिकालीन उडानको समेत तयारी थालेका छन् ।

बुद्धएयरले आगामी फागुन २५ देखि रात्रिकालीन उडानको तयारी गरेको जनाएको छ ।

बुद्धका चारवटा जहाज रातिको समयमा पोखरा विमानस्थलमा रहनेछन् । हाल दैनिक १० उडान गर्दै आएको बुद्धले मार्च ९ तारिखदेखि २ वटा रात्रीकालिन उडान गरी दैनिक १२ वटा उडान गर्ने जनाएको छ ।

हाल साँझ ४ बजेसम्म मात्र उडान हुँदै आएको पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै यात्रुलाई सहज हुने विश्वास छ । यसबाट पर्यटन क्षेत्रलाई समेत लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान भए पनि अन्तर्राष्ट्रिय उडान अझै सुरु हुन सकेको छैन ।

पोखरा विमानस्थलका प्रमुख गौतमले अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी मुलुकसँग कूटनीतिक पहलका लागि आफूले प्रधानमन्त्रीसँग समेत आग्रह गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.