चुनावमा गरेको वाचा पुरा गर्दै विनोद चौधरी, चिसापानी अस्पतालको स्तरोन्नती सुरु

  २०७९ फागुन ९ गते १६:२०     विकासन्युज

काठमाडौं । चौधरी फाउण्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नति गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आज मंगलबार एक कार्यक्रमका बीच नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालका रुपमा विस्तार गर्न दुईपक्षबीच सम्झौता भएको हो ।

नवलपरासी (पश्चिम) जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा सामान्य बिरामी हुँदा समेत यहाँका वासिन्दालाइ उपचारका लागि बुटवल र भैरहवा जानुपर्ने अवस्थाको अन्त्यका लागि चौधरी फाउण्डेसनले चिसापानी अस्पताललाई रिफरल अस्पतालका रुपमा विकास गर्न पहल लिएको बताएकाे छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले निर्वाचनका बेला चिसापानी अस्पताललाई विशेषज्ञ सेवा सुविधासहितको अस्पतालका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका थिए । चुनावी प्रतिवद्धता अनुसार अस्पताललाई नवलपरासी जिल्लाकै सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्न लागिएको फाउण्डेसनले बताएकाे छ ।

चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

फाउण्डेसन र अस्पतालबीच भएको सम्झौता अनुसार अस्पतालमा सहज र झन्झटमुक्त आपतकालीन र अन्य सेवाहरू सुनिश्चित गरिने र सात वटा क्षेत्रमा अस्पतालको स्तरोन्नतिका काम हुनेछन् । 

अस्पतालमा २४ सै घण्टा ल्याब सुविधा उपलब्ध हुने, शल्यक्रिया सेवासहितको बर्थिङ सेन्टर स्थापना गरिन् र २४ सैं घन्टा आपतकालीन सेवाहरूको सुनिश्चितता गरिने सम्झौता पत्रमा उल्लेख छ ।

यसैगरि ओपीडी दर्ताका लागि टोकन प्रणाली लागू गर्ने, आर्टिफिसियल लिम्ब (कृत्रिम हातखुट्टा) सेवा उपलब्ध गराउने र आगामी ४ वर्षभित्र अस्पताललाई आत्मनिर्भर बनाउने दुई पक्षबीच समझदारी भएको छ । अस्पतालमा स्त्री रोग विशेषज्ञ, सर्जन, प्रोस्थेटिस्ट, सामान्य सेवा विशेषज्ञ लगायतको सेवा उपलब्ध हुने बताइएकाे छ ।

सम्झौता पत्रमा हस्ताक्षरपछि प्रतिक्रिया दिँदै सांसद चौधरीले चिसापानी अस्पतालको विशेषज्ञसहितको सेवा प्रवाहले यहाँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।

उनले भने, ‘निर्वाचनका बेला हामीले यो अस्पताललाई विशेषज्ञसहितको सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका थियौं, अब त्यसले साकार रुप लिन लागेको छ, आगामी दिनमा यस अस्पतालको सेवालाई थप विशिष्टिकृत बनाउँदै लैजान म निरन्तर लागि नै रहनेछु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.