निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ : प्रमुख आयुक्त थपलिया

  २०७९ फागुन ७ गते १०:२७     दिनेश कुमार थपलिया

वि.सं. २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज (फागुन ७ गते) हामी सातौँ निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउँदै छौं । आयोगको परामर्शमा नेपाल सरकारबाट तोकिएका मितिमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराएर आयोगले आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गरेको छ भन्न पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ । यो वर्ष निर्वाचन आयोग तथा आम मतदाताहरूका लागि पनि विशेष वर्षको रूपमा रहेकोले सातौँ निर्वाचन दिवस पनि विशेष र अविष्मरणीय रहन गएको मैले महशुस गरेको छु ।

‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने निर्वाचन आयोगको मूल मन्त्रलाई आत्मसात् गरी आयोगको नेतृत्वमा सबै सरोकारवालाहरूको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, मंसिर ४ गते मुलुकभर एकै चरणमा सफलतापूर्वक सम्पन्न भएका छन् । यही फागुन २५ गते र चैत ३ गते हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि सबै आवधिक निर्वाचनहरू पूरा हुनेछन् । निर्वाचन दिवसको यस गौरवमय अवसरमा आयोगलाई निरन्तर सहयोग, योगदान र प्रेरणा प्रदान गर्नुहुने अग्रजहरूको सम्मान एवम् प्रशंसा गर्दै सम्पूर्ण नेपाली मतदाताहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु । त्यसैगरी यसै वर्ष सम्पन्न स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनबाट आफूले रोजेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने नागरिक अधिकारको वैधता र सुनिश्चितता प्राप्त भएकोमा खुशी व्यक्त गर्दै निर्वाचन दिवसको अवसरमा म निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरू एवं निर्वाचनमा सहभागी सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।

निर्वाचन लोकतन्त्रको सार्थक अभ्यास गर्ने सबैभन्दा सशक्त माध्यम हो । लोकतान्त्रिक प्रणाली अन्तर्गत सम्पन्न हुने आवधिक निर्वाचनले नै प्रतिनिधिमूलक शासन व्यवस्थालाई संस्थागत र मजबुत बनाउँछ । निर्वाचनमा बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेमात्र नभई कानूनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने र निर्वाचित हुने अवसर एवं अधिकार प्राप्त हुन्छ । यस तथ्यलाई मनन् गरी आयोगले स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूति सहित निर्वाचन व्यवस्थापनको दायित्व निर्वाह गर्दै आएकोे छ । यसरी निर्वाचनको स्वच्छता र विश्वसनीयतामा कुनै प्रश्न उठ्न नसक्ने वातावरण तयार गर्ने कार्यमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, आमसञ्चार तथा सम्बद्ध सरोकारवालाको सहयोग अपरिहार्य हुन्छ भन्ने कुरामा आयोग विश्वस्त रहेको छ । यस वर्षका निर्वाचनको सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानूनको पालनासहित अवलम्बन गरेका नवीन अभ्यासहरूको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको छ भने देखिएका समस्या र चुनौतीलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएका छन् । आयोगले ती सबै सुझावलाई समेटेर आगामी निर्वाचनको तयारी गर्नेछ भने निर्वाचन कानून र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा पनि दृढतापूर्वक अग्रसर हुनेछ । यसै क्रममा निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचना सहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेश गर्न लागिएको व्यहोरा जानकारी गराउन चाहन्छु ।

सातौँ निर्वाचन दिवसको यो पावन अवसरमा म निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनु पर्छ भन्ने आयोगको मान्यतालाई सकारात्मकरूपमा लिई निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र स्वतन्त्र बनाउन भूमिका निर्वाह गर्ने राजनीतिक दल, उम्मेदवार, निर्वाचन व्यवस्थापनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारक्षेत्र, अन्तर्राष्ट्रिय समुदाय लगायत सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने सातौँ निर्वाचन दिवसको नारालाई सार्थक बनाउन सबैको निरन्तर सहयोग, साझेदारी, सहकार्य र समन्वय अझ मजबुत हुनेछ भन्ने विश्वास लिएको छु ।

(निवार्चन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले सातौं निर्वाचन दिवसका अवसरमा राखेका सन्देश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.