रजस्वला हुँदा छुट्टी दिन भन्दै भारतको सर्वोच्च अदालतमा निवेदन

  २०७९ फागुन ४ गते १६:३४     विकासन्युज

एजेन्सी । महिलालाई रजस्वला हुँदा प्रत्येक महिना सार्वजनिक बिदा दिन माग गर्दै भारतको सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यही फागुन २४ गते उक्त मुद्दामाथि सुनुवाई हुँदैछ । अधिवक्ता शैलेन्द्रमणि त्रिपाठीले दायर गरेको निवेदनमा महिनावारी समस्या भएका महिलालाई बिदा दिने नियम बनाउन राज्य सरकारलाई निर्देशन दिन सर्वोच्च अदालसमक्ष माग गरिएको छ ।

सर्वोच्चमा दायर गरिएको मुद्दामा युनिभर्सिटी कलेज अफ लन्डनले गरेको एक अध्ययनलाई आधार बनाइएको छ । जसमा भनिएको छ कि महिनावारीको बेला महिलाहरुलाई धेरै दुख्ने गर्छ । महिनावारीको दुखाइ हृदयाघातको दुखाइ जस्तै हो। जसका कारण कामदार महिलाको दक्षतामा असर परेको छ ।

सर्वोच्चमा दायर गरिएको निवेदनमा भारतको मातृत्व लाभ ऐन, १९६१ को दफा १४ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिन अदालतलाई अनुरोध गरिएको छ । निवेदनमा छात्रा र कामदार महिलालाई महिनावारीको दुखाईका लागि बिदाको माग गरिएको छ । यस ऐनको व्यवस्था कार्यान्वयन गर्न पदाधिकारी नियुक्तिको पनि सुनिश्चितता हुनुपर्ने निवेदनमा भनिएको छ ।

साथै उक्त निवेदनमा बिहारका महिला कर्मचारीहरूलाई दिइएको बिदा अवधिबारे पनि उल्लेख गरिएको छ। बिहारमा १९९२ को नीति अन्तर्गत महिला कर्मचारीहरूलाई विशेष महिनावारी बिदा प्रदान गर्ने गरिन्छ । महिलालाई महिनावारीको दुखाइ वा महिनावारीको बिदा दिन अस्वीकार गर्नु संविधानको धारा १४ बमोजिम समानता र मर्यादाको जीवनयापन गर्ने मौलिक संवैधानिक अधिकारको हनन हुने निवेदनमा उल्लेख गरिएको छ ।

विश्वमा बेलायत, चीन, जापान, ताइवान, इन्डोनेसिया, दक्षिण कोरिया, स्पेन र जाम्बियामा महिलालाई महिनावारीको बेला हरेक महिना ३ दिन बिदा दिने गरिन्छ । दैनिक भास्करबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.