‘ब्याजदर सडकबाट निर्धारण हुनु हुँदैन, १२ सय प्रतिशत लाभांश दिने कम्पनी पनि नेपालमा छन्’

  २०७९ फागुन ३ गते १७:१४     सुनिल केसी

अहिले बैंकिङ क्षेत्रको विषयमा नकारात्मक टिप्पणीहरु भइरहेका छन् । जुन दुखदायी विषय हो । विश्वव्यापी रुपमा नै अर्थतन्त्र सकसमा छ । स्थिति सुधार हुन सकेको छैन । अझै ब्याजदर बढ्ने क्रम जारी छ । अमेरिकामा समेत ४.५ प्रतिशत पुगेको छ । अमेरिकामा ब्याजदर एक वर्ष अगाडि एक प्रतिशतको हाराहारीमा थियो । अमेरिका एउटा शक्तिशाली अर्थतन्त्र भएको देश भएकोले पनि यसको असर संसार भर नै पर्छ । भारतमा पनि ०.२५ प्रतिशतले ब्याजदर बढाइयो । अहिले तेलको मूल्य पनि बढिरहेको छ । आइएमएफ र विश्व बैंकले पनि अर्थतन्त्र तत्कालै सुधार हुने स्थिति नभएको रिपोर्टहरु प्रकाशन गरिरहेका छन् । यसले पनि हाम्रो अर्थतन्त्र अहिले नै सुधार हुन्छ भन्ने अवस्था देखिँदैन ।

विश्वव्यापी अवस्थाबाट नेपाल पनि छुट्टै बस्न सक्दैन । अहिले बैंकको ब्याजदर एकल अंकमा झार्नु पर्छ भन्ने मागहरु पनि उठिरहेका छन् । जुन माग नाजायज हो । यो आफैमा गाह्रो पर्ने विषय हो । नेपालको अर्थतन्त्रको मुख्य सूचक रेमिट्यान्स हो । अहिले रेमिट्यान्स बढिरहेको छ । विगतमा एक महिनामा ७६ अर्बको हाराहारीमा रेम्टियान्स आउँथ्यो । पछिल्लो समय ९८ अर्बको हाराहारीमा पुगेको छ । गत महिना मात्रै १०४ अर्ब पुगेको छ । मासिक रुपमा रेमिट्यान्सको ग्रोथ बढिरहेको छ । आयात पनि विगतका महिनाहरुको तुलनामा घटिरहेको छ । पहिले प्रत्येक महिना १६७ अर्बको आयात हुन्थ्यो । अहिले घटेर १३० अर्बसम्ममा झरेको छ । यसले हामीलाई केही सुधारको संकेत देखिएको छ । करेन्ट एकाउन्ट डेफिसेट पनि घटिरेहेको छ ।

अहिले निक्षेप पनि २०० अर्ब बढेको छ । अबको पाँच महिनामा ५ सय अर्बको हाराहारीमा निक्षेप पुग्ने हामीले अनुमान गरेका छौं । निक्षेप यही हारहारीमा बढ्यो भने कर्जा लगानी पनि ४ सय अर्बसम्म गर्न सकिन्छ । यसले पनि तरलता सहज हुने अवस्थाको अनुमान गर्न सकिन्छ । अहिले ८६.३९ प्रतिशत सीडी रेसियो छ । बाह्य र आन्तरिक परिस्थिति पनि केलाउनु पर्ने हुन्छ । अझै हेर र पर्खको अवस्थामा छौं । यसअघि हामीले एकदमै नियालेर ब्याजदर केही घटायौं । अब आत्रिक ट्रेजरी जारी गरेर मनि सप्लाई बढाउनु पर्छ । बाहिरबाट ऋण ल्याउँदा समय लाग्छ । सरकारको फोकस पनि यसमा हुनु पर्छ । तरलतामा अझै चाप आउने देखिन्छ । केही राम्रो हुने संकेत देखिँदा पनि केही सजगता भने अपनाउनै पर्छ । सोही ढंगले हामीले अगाडि बढ्नु पर्छ ।

अहिले ब्याजदर बढी भयो भनेर कम गर्नु पर्ने माग छ । अहिलेको परिस्थितिले ब्याज घटाउने अवस्था देखिँदैन । तर, विस्तारै घट्न सक्छ भन्ने हाम्रो अनुमान छ । आजको दिनमा बैंक तथा वित्तीय संस्थाको कुल ५३ खर्ब निक्षेप छ । वाणिज्य बैंककै ४७ खर्ब छ । ४ करोड ४७ लाख निक्षेप खाता छन् । हरेक मानिसहरु बैंकसँग जोडिएका छन् । उनीहरुसँगको हाम्रो उत्तरदायित्व बढी छ । हामीले ४ करोड ४७ लाख खाताको पैसा १८ लाख ऋणाीलाई दिएका छौंं । हाम्रो आजको बुझाइ भनेको निक्षेपकर्ताको भलो चाहनु पर्छ । कसैले ५ हजार कसैले १० हजार जम्मा गरेर छोराछोरीको पढाइ खर्च, घर खर्च भनेर जम्मा गर्नु भएको छ । उहाँहरुकै पैसा चलाएर हामीले १८ लाख ऋणाीलाई कर्जा दिने हो ।

अहिले हामीलाई दबाब भनेको १८ लाख ऋणीबाट छ । किनकी उनीहरुको आवाज बढी सुनिन्छ । उनीहरुको हरेक क्षेत्रमा पहुँच हुन्छ । हामीले सन्तुलित व्यवहार गर्नु पर्ने हुन्छ । सबैको पैसा सुरक्षित रुपमा फिर्ता गर्नु पर्ने हाम्रो दायित्व रहन्छ । हामीले ६ सय अर्ब बढीको पुँजी चलाइरहेका छौं । यो सबै पैसा जनताको नै हो । जहिले पनि निक्षेपकर्ताको इन्ट्रेष्टको कुरा कम आउने र ऋणीको कुरा बढी आउने भइरहेको छ । त्यसमा पनि जसले तिर्न सकिरहेका छैनन्, उनीहरुले अनेक बाहना खोज्ने काम भइरहेको छ । उनीहरुले नेपालको बैंकिङ क्षेत्रलाई समस्यामा पार्न खोजिरहेका छन् । त्यसले गर्दा हामीले साढे चार करोड खातालाई अन्याय गरेर १८ लाख ऋणाीको न्याय गर्नु कत्तिको जायज हो ?

जुनसुकै अवस्थामा पनि हामीले ग्राहकलाई हरेक दिनको ब्याज दिइरहेका छौं । तर, ऋणीले अनेकन बाहना खोजिरहेका छन् । बैंकिङ क्षेत्रका ऋणाीहरुमा पनि हाम्रो दायित्व छ । ऋणीहरुलाई ८० प्रतिशतसम्मको कर्जा हामीले लगानी गरेका छौं । २० प्रतिशत उनीहरुको जोखिम हुन्छ । व्यवसायीहरुको लगानीमा हाम्रो पनि लगानी हुन्छ । त्यसमा हामीले पनि साथ दिनु पर्छ । उनीहरु समस्यामा परे भने हामी पनि समस्यामा पर्छौं भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । तर, कुरा बुझ्नु पर्छ । केही दिन अगाडि मात्रै हामीले राष्ट्र बैंकलाई आग्रह गरेर साना ऋणाीलाई केही सहज नीति आयो । उहाँहरुलाई सपोर्ट गर्नु पर्छ भन्ने माग हाम्रो पनि हो । त्यसले केही राहत पुग्ला ।

अहिले बैंकहरुको नाफाको विषयमा पनि अनेकन चर्चा हुन्छन् । अहिले बैंकहरुसँग करिब ७ सय अर्बको पुँजी छ । आजको दिनमा बैंकहरुको नाफा ३० अर्ब छ । अब केही सुधार भयो भने ६० अर्ब पुग्ला । ७ सय अर्बले ६० अर्बलाई भाग गर्यो भने ११ प्रतिशत मात्रै हुन्छ । अहिले बैंकको औसत रिर्टन ११ प्रतिशत मात्रै छ । यो भनेको कसरी बढी नाफा भयो ? अहिले केही व्यवसायको नाफा ७०÷८० प्रतिशतले बढेको छ । लाभांशदर कतिको शतप्रतिशत छ भने कतिपयको १२ सय प्रतिशतसम्मको लाभांशदर छ । ती व्यवसायहरुको आरओई एकदमै बढी छ । तर, बैंकहरुको आरओई ११ प्रतिशत मात्रै छ । बैंकहरुको आरओई प्रत्येक वर्ष घटिरहेको छ । कति लगानीमा कति नाफा भयो भनेर बुझ्नु पर्छ ।

अहिले बैंकिङ क्षेत्र एउटा प्रेसरमा काम गरिरहेको छ । त्यो प्रेसर कोभिडको समयदेखि सुरु भएको हो । अहिले फेरि बाह्य र आन्तरिक कारणले समस्या भएको हो । यसमा हामीले कसरी जाने भनेर काम गरिहरेका छौं । खराब कर्जा २.२४ प्रतिशत छ । यो अझै बढ्न सक्ने जोखिम देखिन्छ । हाम्रो खराब कर्जा दक्षिण एसियाको अन्य देशको तुलनामा कम हो । अहिले परिस्थितिले हामीलाई निरुत्साहित गरिरहेको छ । कोभिडको समयमा हामीले ब्याज घटाएका थियौं । सडकबाट ब्याजदरको विषय खोजिन्छ भने सबै कुरा सिधिन्छ । हामीले पनि सिमेन्टको मूल्य यति रुपमा पाइनु पर्छ भनेर विरोध गर्यो भने परिस्थिति कस्तो बन्छ ? यस्तो अवस्था आउनु राम्रो होइन ।

(नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका केसीले बुधबार पत्रकार सम्मेलनमा राखेको विचार ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.