एउटा संस्थामा आवद्ध डाक्टर अर्कोमा काम गर्न नपाउने

  २०७९ माघ २५ गते १८:०४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर, कान्ति र परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागु गर्ने भएको छ । मन्त्रालयले स्वास्थ्यका नीतिगत प्राथमिकता र न्यूतम कार्यक्रमको कार्ययोजना तयार गर्दै उक्त कार्ययोजनामा सो विषय समावेश गरेको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रममा आधारित रहेर स्वास्थ्यका नीतिगत प्राथमिकता र न्यूतम कार्यक्रमको कार्ययोजना तयार गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पेस गरेको छ । सरल र सहज सार्वजनिक सेवाको प्रवन्ध गर्न मन्त्रालयले सो कार्यक्रम लागु गर्न लागेको कार्ययोजनामा उल्लेख गरिएको छ ।

सरकारले २०७७ मा नै ‘एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी कार्यविधि, २०७७’ मन्त्रीपरिषदबाट स्वीकृत गरिसकेको छ । एक चिकित्सक एक स्वास्थ्य संस्था नीति लागु भइसकेपछि भने चिकित्सकहरुले सम्बन्धित स्वास्थ्य संस्था बाहेक अन्यत्र चिकित्सकीय काम गर्न पाउँदैनन् ।

तर, सो नीति लागु भएका स्वास्थ्य संस्थाले भने अतिरिक्त सेवा सुविधा उपलब्ध गराउने विषय उक्त कार्यविधिमा उल्लेख गरिएको छ । उक्त कार्यविधिमा कतिपय स्वास्थ्यकर्मीहरुले पनि तत्कालिन समयमा असहमति जनाएका थिए । तर, सो नीति लागु हुन सकेमा स्वास्थ्य संस्था बलिया हुने, शुसासन कायम गर्न र सेवा प्रवाह गर्न सजिलो हुने धेरैको बुझाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.