सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

  २०७९ माघ २५ गते ११:११     विकासन्युज

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिनुहुने भएको छ ।

प्रदेशसभाका सचिव देवबहादुर बोगटीले आज अपराह्न बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिनुहुने कार्यसूची रहेको जानकारी दिए । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले आज विश्वासको मत लिन लागेका हुन् । त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ ।

सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिनेबारे हालसम्म टुङ्गो लागेको छैन । रावलको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले आजसम्म पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको मन्त्रालय पनि तोकिएको छैन ।

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आजसम्म सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताए । सो पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ । एमालेका युवा नेता एवं प्रदेशसभा सदस्य धर्मराज पाठकले भने मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

प्रदेशसभामा सत्तापक्षीय नेकपा एमालेका दश, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक दश, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य छन् । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका चार र एक स्वतन्त्र सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.