बैंकको धितो : २ करोडको जग्गा ८० लाखमा पनि बिक्दैन !

  २०७९ माघ २४ गते १५:३०     अनुसा थापा

पछिल्लो समय बैंक तथा वित्तिय संस्था एक किसिमको दबाबमा छन् । बैंकहरुले निक्षेप नपाउँदा ऋण लगानी गर्न सकेका छैनन् भने लगानी भइसकेको कर्जा पनि असुल हुने ठेगान छैन । कर्जा लगानी गर्दा बैंकहरुले धितो राखेका हुन्छन् । ऋणीले ऋणको सावाँ ब्याज नतिरेपछि बैंकहरुले धितोलाई लिलाम गर्ने प्रक्रिया अगाडि बढाउँछन् । अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले सो प्रक्रिया अगाडि बढाएका छन् । तर, पनि धितो नबिकेको गुनासो बैंकरहरुले विभिन्न सार्वजनिक कार्यक्रममै राख्ने गरेका छन् ।

धितो बिक्री नहुँदा बैंकहरु एक किसिमको दबाबमा छन् । हिजोका दिनमा घरजग्गा व्यवसायीहरुले मँहगोमा सर्वसाधारणलाई जग्गा बिक्री गर्थे । विगतमा बैंक तथा वित्तीय संस्थामा उच्च तरलता तथा लगानीयोग्य पुँजी हुँदा बैंकले पनि घरजग्गा भन्नेबित्तिकै आँखा चिम्लेर कर्जा दिए । अहिले सो धितो लिलाम गर्न ठूलै सास्ती भएको देखिन्छ । एकातिर घरजग्गाको मूल्य छैन । घरजग्गामा मन्दी छ । कसैसँग पैसा छैन । दुई वर्षअगाडि ४० लाखमा किनेको जग्गा २० लाखमा बेच्छु भन्दा पनि खरिदकर्ता भेटिँदैनन् ।

९५ प्रतिशतले बैंक र सहकारीबाट कर्जा लिएर घरजग्गा किनेका छन् । अधिकांशको घरजग्गा वित्तीय संस्थाको नाममा छ । केही वर्षयता उच्च मूल्यमा पुगेको घरजग्गामा यसरी मन्दी आउनेबित्तिकै सर्वसाधारणहरु पनि दबाबमा छन् । सहकारीका बचतकर्ताहरु समेत आफ्नो बचत जोगाउन दौडधुप गरिरहेका छन् । वित्तीय संस्थाको कर्जा लगानी नै जोखिममा परेपछि बचतकर्ताहरु आफ्नो पैसा निकाल्न प्रयास गरिरहेका छन् ।

पछिल्लो समय वित्तीय संस्थामा पैसा निकाल्न जानेको भीड अत्यन्तै छ । बैंकलाई एक लाख रुपैयाँ फिर्ता गर्न गाह्रो परिरहेको भन्ने सुनिन्छ । सहकारीमा त झन ठूलो समस्या छ । कतिपय सहकारीहरुले ६ महिनादेखि बचतकर्तालाई साँवा र ब्याज नदिएको विषय पनि सुनिन्छ । आफ्नो पैसा सुरक्षित हुन्छ भनेर बचतकर्ताले वित्तीय संस्थामा पैसा राखेका हुन्छन् । दुई करोड रुपैयाँ पर्ने घरजग्गा राखेर सर्वसाधारणले एक करोड रुपैयाँ ऋण लिए । अहिले वित्तीय संस्थाको कर्जा तिर्न नसक्दा सो छोड्नुपर्ने बाध्यता देखिएको छ । एकातिर घरजग्गाको मूल्य घटेको छ अर्कोतिर वित्तीय संस्थाले निरन्तर ब्याज बढाइरहेको छ । मालपोत कार्यालयहरुमा घरजग्गा नामसारी छैन ।

मालपोतहरु सामसुम छन् । अहिले बजारमा घरजग्गा बेच्ने यत्तिकै छन् । तर, खरिदकर्ता कोही भेटिदैनन् । अधिकांशलाई एउटै पीर छ । मेरो घरजग्गा बैंकले लिलाम गर्ने भो । कतिले त ऋण तिर्न नसकेर हात उठाइसकेका छन् । घर धितो राखेर दिएको कर्जा उठाउन बैंकलाई नै सास्ती भएको छ । बैंकले लिलाम सूचना निकालेपछि कतिपय आफैंले सामान निकालेका छन् । कतिपयले स्थानीय प्रशासनलाई साक्षी राखेर सामान निकाल्ने काम गरिरहेका छन् ।

दुई वर्षअघि दुई करोड मूल्याकंन भएको घरहरु ८० लाखमा बेच्छु भन्दा पनि कसैले किन्नलाई चासो देखाउँदैनन् । पैसा भए त किन्ने हुन् । पहिले सर्वसाधारणहरुले त्यही जग्गा धितो राखेर वित्तीय संस्थाबाट कर्जा लिँदै घर बनाए । कतिपयले घरको तला थपे । अहिले ऋण तिर्न नसकेपछि आफ्नो लगानी डुब्यो । बैंकले जसरी भएपनि आफ्नो लगानी उठाउन प्रयत्न गर्छ ।

बैंकको पैसाबाट घरजग्गा व्यवसायीले पनि राम्रै कमाए । तर, जग्गाको मूल्यमा गिरावट आएपछि व्यवसायीहरुमा पनि एक किसिमको समस्या सिर्जना भएको छ । सुरुमा जग्गाधनीसँग दुई लाख आनामा जग्गा किने । त्यसलाई खण्डीकरण गरेर टुक्राटुक्रा पारेर आनाकै ४० लाखमा बेचे । जग्गाको मूल्य आकाँसिदा त घरजग्गा व्यवसायी र बैंकले पनि कमाए । २० लाख हुनेलाई ऋण दिएर बैंकले उक्त जग्गा बेच्यो । अहिले उसले ऋण तिर्न नसकेर हाल–बेहाल छ । बैंकले सो जग्गा लिलाम गर्न खोजेपछि उनीहरु त समस्यामा परे ।

जग्गाको मूल्यमा कहिल्यै गिरावट आउँदैन् झनझन बढ्दै जान्छ भनेर उनीहरुले सोचे । तर, अहिले त कायापलट भइसकेको छ । घरजग्गा खरिदबिक्रीमा ठूलो गिरावट आएको छ । अब घरजग्गाको मूल्य बढ्ने अवस्था देखिँदैन । यो तत्काल सम्भव छैन । बैंक र सहकारीमा पैसा छैन । कसले लगानी गर्ने ? मुलुकको अर्थतन्त्र पनि नकारात्मक अवस्थामा छ ।

सर्वसाधारणलाई बिहानबेलुका छाक टार्न पनि महाभारत छ । अनि घरजग्गा कसले किन्ने ? भएको पैसा पनि लुकाएको धेरैको बुझाइ छ । सरकारले घरजग्गामा कर्जा दिन अंकुश लगाएन् । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागले पहिल्यै कडाइ गरेको भए यस्तो अवस्था आँउदैन्थ्यो । सरकारले नियमन नगर्दा वित्तीय संस्थाले आँखा चिम्लेर लगानी गरे । बैंक र सहकारीको उद्धेश्य नाफा कमाउनु हो । छिटो नाफा कमाउने देखेपछि यतै लगानी गर्ने काम भयो ।

काँग्रेस सभापति शेरबहादुर देउवाको सरकार हटेर पुष्पकमल दाहाल नेतृत्वको सरकार आउने वित्तिकै सर्वसाधारणमा अलिकति पनि आशा जागेको थियो । घरजग्गाको मूल्य बढ्छ भनेर धेरैले सोचेका थिए । सेयर र निजी गाडीको मूल्य बढ्छ भनेर अपेक्षा गरेका थिए । जुन कल्पनामै सीमित भयो । प्रचण्डको सरकार बनेपछि केही दिन सेयरको मूल्य बढ्यो । तर, अहिले फेरि तल झरेको छ । बैंक तथा वित्तीय संस्थाबाट सेयर, गाडी र घरजग्गा धितो राखेर कर्जा लिएकाको न किस्ता तिर्ने समयावधि बढ्यो नत पूरानो ऋणलाई नयाँ नवीकरण गरिदिए न ब्याज घट्यो । बैंकहरुले उच्च ब्याज दिन्छु भन्दा पनि सर्वसाधारणले बैंकमा पैसा राख्ने आँट गरिरहेका छैनन् । यो अवस्थाको अन्त्य कसले गर्ने ?

(उल्लेखित विचार लेखककाे व्यक्तिगत हुन्)

One comment on "बैंकको धितो : २ करोडको जग्गा ८० लाखमा पनि बिक्दैन !"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.