चीनले अनुदानमा दिएको ४० लाख डोज खोप प्रयोगविहीन, सरकारको उदासिनताले म्याद सकिने चिन्ता

  २०७९ माघ २४ गते १०:४८     विकासन्युज

काठमाडौं । चीन सरकारले नेपाललाई दिएको ४० लाख डोज प्रयोगविहीन भएको छ । चीनले गत वर्ष दिएको कोभिड–१९ भाइरस विरुद्धको ४० लाख खोप प्रयोगविहीन भएको हो । हाल कोरोना भाइूरस कम हुँदै जाँदा सो खोप आवश्यक नपरेको कारणले प्रयोगमा नआउने र समयमा नै उचित व्यवस्थापन नहुँदा खेर जानसक्ने सम्भावना बढको छ ।

झण्डै १ वर्ष अगाडि चीन सरकारले दिएको सो खोप प्रयोगको लागि अब ११ महिना मात्रै बाँकी छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्रप्रसाद चौरासियाका अनुसार सो खोपको म्याद आगामी डिसेम्बर महिनासम्म मात्रै छ । खोप आवश्यक नभएको विभागको सुझावका बाबजुद पनि आएको सो खोपको बारेमा मन्त्रालय र सरकारको तहबाट समयमा नै आवश्यक कुटनीतिक पहल नगर्दा खोप खेर जानसक्ने चिन्ता पैदा भएको विभागका कर्मचारीहरुले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार शाहका अनुसार खोपलाई अन्य कुनै देशमा पठाउने विषयमा अहिलेसम्म कुनै पहल भैसकेको छैन । उनले मन्त्रालयमा सो खोपको विषयमा कुनै निर्णय नभएको बताए ।

‘त्यसलाई के गर्ने, त्यसलाई कुनै देशमा दिने वा के गर्ने भनेर निर्णय भएको छैन, यसको उपयोगिताको सम्भावना कम नै छ, अरु देशले पनि लिन्छ वा लिँदैन कतैबाट कुनै जानकारी पनि आएको छैन’, उनले भने । मन्त्रालय वा सरकारको तहबाट कुनै निर्णय भइनसकेको कारणले अन्य देशसँगको कुटनीतिक पहल पनि नभएको उनले बताए ।

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार चीन सरकारले दिएको सो खोप लगाउने संख्या नरहेको कारणले सो प्रयोगविहीन भएको हो । ‘हामीले ५ देखि ११ वर्ष उमेर, १२ देखि १७ र १८ देखि माथि सबै उमेरकालाई खोप लगाइसक्यौं’, उनले भने ‘अब खोप लगाउने संख्या नगन्य मात्रामा होला, त्यसैले हामीलाई यो खोप नचाहिने अवस्था बनेको छ ।’

दाहालका अनुसार चीन सरकारले दिएको सो खोप १८ वर्ष माथिका उमेर समूहलाई लगाउने पहिलो डोजको खोप हो । अब कति नेपालीलाई खोप लगाउन बाँकी छ भन्ने नै सरकारसँग आधिकारिक तथ्यांक छैन । नेपालमा हालसम्म पाँच करोड ७२ लाख ६४ हजार २०१ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

दाहालका अनुसार सल्लाहकार समितिले चीन सरकारले दिएको ४० लाख डोज खोप अब प्रयोगको लागि आवश्यक नपर्ने भनेर मन्त्रालयलाई सिफारिस गरेको छ । ‘४० लाख खोपलाई जहाँ प्रयोग हुन्छ, त्यहाँ पठाउन पाए हुन्थ्यो भनेर त्यसको लागि समन्वय गर्नुपर्यो भनेर विभागबाट मन्त्रालयमा सिफारिस गरेका छौं, त्यसलाई मन्त्रालयले हेर्दै होला’, उनले भने ।

अहिले विभागसँग खोपको स्टोरेज गर्ने क्षमता राम्रो भएको कारणले समस्या नभएको तर खोपको समयमा नै प्रयोगको विषयमा भने आफूहरु चिन्तित भएको उनले बताए । अन्तर्राष्ट्रिय मूल्य अनुसार नेपालमा स्टोरेज अवस्थामा रहेको सिनोभ्याक खोपको मूल्य अरबौं रुपैयाँ पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.