दाङमा नापतौल कार्यालय नहुँदा व्यवसायी नेपालगञ्ज जान बाध्य

  २०७९ माघ २२ गते १५:०१     विकासन्युज

दाङ । दाङमा नाप तौलको कार्यालय नहुँदा उद्योगी तथा व्यवसायी नेपालगञ्ज पुगेर नापतौलका सामग्री जाँच तथा नवीकरण गर्नुपर्ने बाध्यता छ ।

जिल्लामा गुणस्तर तथा नाप तौलको कार्यालय नहुँदा नापतौलका सामग्री जाँच तथा नवीकरणका लागि नेपालगञ्जसम्म जानुपर्ने बाध्यता रहेको घोराही सुनचाँदी व्यवसायी समितिका अध्यक्ष विनोद विकले बताए । उनका अनुसार नेपालगञ्ज जानुपर्दा आर्थिक तथा समयको खर्च हुनुका साथै सामान हराउने गरेको छ ।

‘सुन चाँदी व्यावसायीले हरेक वर्ष जाँच तथा नवीकरण गरिनुपर्ने बाध्यता छ, नवीकरण नगरेमा जरिवाना लाग्छ, जाँच तथा नवीकरणका लागि जिल्लामा सुविधा छैन’, उनले भने ।

नेपालगञ्ज जाँदा आफ्नो सवारी नहुनेलाई दुई दिनसम्म लाग्ने उद्योगी तथा व्यवसायी बताउँछन् ।

जिल्लामा नापतौलको कार्यालय भएमा व्यावसायीलाई सहज हुने अध्यक्ष विकको भनाइ थियो । आफुहरुले समस्याका बारेमा पटक–पटकसम्बन्धित निकायमा जानकारी गराए पनि समाधान नभएको उनले बताए ।

‘नापतौलका सामग्री धेरै प्रयोग हामीले गर्दछौँ, कति बेला बिग्रिन्छ थाहा हुँदैन, नयाँ किनेका सामग्री ३५ दिनभित्र दर्ता गर्नुपर्ने व्यवस्था छ । दर्ता गर्नका लागि नेपालगञ्ज जानुपर्छ’ गल्ला तथा किराना व्यवसायी समिति घोराहीका अध्यक्ष विनोदप्रसाद पाण्डेले भने ।

उनले ३५ दिनपछि गएमा दर्ता तथा नवीकरणसमेत नहुने बताए । ‘जिल्लामा कार्यालय छैन टाढा जानुपर्ने बाध्यता छ, समयमा जान सकिएन भने दर्ता हुदैन’ उनले भने ।

उद्योगी तथा व्यवसायीले समस्याका बारेमा सम्बन्धित निकायमा, मन्त्री, सांसद, राजनीतिक दललगायतलाई जानकारी गराए पनि समस्याको समाधान नभएको व्यापारीको भनाइ छ ।

जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कसिंह बुढाथोकीले जिल्लामा गुणस्तर तथा नापतौलको कार्यालय स्थापनाका लागि आफुहरुले सम्बन्धित निकायमा निरन्तर प्रयास जारी राखेको बताए । ‘हामीले लामो समय देखि आवाज उठाउदै आएका छौँ, जिल्लामा मात्र नभइ साविक राप्ती अञ्चलमा नै नापतौलको कार्यालय छैन’, उनले भने ।

उद्योगी, व्यावसायीको सहजताका लागि उद्योग वाणिज्य सङ्घले नापतौल कार्यालयसँग समन्वय गरेर समय–समयमा शिविर सञ्चालन गदै आएको उनले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.