धार्मिक पर्यटनको गन्तव्य बन्दै बाँके, छुट्याइयो ३८ लाख बजेट

  २०७९ माघ ९ गते १६:२०     विकासन्युज

 

बाँके । बाँकेको चुरे क्षेत्रमा पर्ने बर्फानी बाबा मन्दिर र सन्तानेश्वर महादेवको मन्दिर धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास हुन थालेको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ स्थित बर्फानी मन्दिर र नरैनापुर गाउँपालिका–५ वेदिहिवा चुरे पहाडमा रहेको सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटनका लागि प्रदेश सरकारले पूर्वाधार निर्माण सुरु गरेको छ ।

पूर्वाधार निर्माणका लागि बनाइएको विकास योजना अन्र्तगत हेलिप्याड निर्माणको सुरुवात गरिएको लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले जानकारी दिए । ‘त्यहाँ पुग्ने दर्शनार्थीका लागि आवश्यकपर्ने धर्मशाला निर्माण, पानी तथा शौचालयको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण सुरु भएको छ’, उनले भने ।

हिँडेर त्यहाँसम्म पुग्न नसक्ने तीर्थालु तथा पर्यटकले हेलिकप्टर प्रयोग गर्न सकुँन् भने हेलिप्याड निर्माण गर्न लागिएको मन्त्री केसीले जानकारी दिए । बाबा बर्फानी पुग्नका लागि नरैनापुर क्षेत्रबाट बाटो पनि बनाउन लागिएको छ । अघिल्लो वर्ष नै बाटोको योजना बनाइएको भ एपनि यो वर्ष मात्रै पूर्णता पाउने जानकारी दिँदै मन्त्री केसीले आश्रमलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लुम्बिनी प्रदेश सरकारले ३८ लाख बजेट विनियोजन गरिसकेको उल्लेख गरे ।

बाबा बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन, आवागमनका लागि आवश्यक पूर्वाधार बनाउन आफूले पहल गरेको उनको भनाइ थियो । राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको सङ्गमस्थलमा पर्ने चुरे पहाडमा रहेको उक्त मन्दिरमा पर्यटनको विकास गरी प्राकृतिक धार्मिक पर्यटकीय सर्किट निर्माण गरिने योजना समेत रहेको मन्त्री केसीले जानकारी दिए ।

नरैनापुरस्थित सन्तानेश्वर मन्दिरलाई पनि पूर्वाधारयुक्त बनाउन आवश्यक अध्ययन गरिरहेको बताउँदै उनले सन्तानेश्वरमा खानेपानीका खोलाबाट सोलार प्रविधिमार्फत पानी लैजाने सम्भावनाको अध्ययन भइरहेको बताए । ‘सो क्षेत्रको स्थलगत अवलोकन गर्दैै स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा र मन्दिरका पुजारी श्री १००८ केशव गिरीलगायतसँग छलफल पनि गरिरहेका छौं’, केसीले भने ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले डिपीआर निर्माण गरेर दीर्घकालीन महत्वका पूर्वाधार बनाउन आवश्यक रहेको सुझाव दिँदै सरकारले पर्यटन क्षेत्रलाई बुझेर मात्रै लगानी गर्दा समुदायले पनि लाभ लिन सक्ने बताए । सन्तानेश्वरमा पनि हेलिकप्टरबाट आउन चाहने तीर्थालु भक्तजन तथा पर्यटकका लागि हेलिप्याड निर्माणको काम सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.