अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सबैको साथ आवश्यक छ : अर्थमन्त्री पौडेल

  २०७९ माघ ७ गते १३:०४     विकासन्युज

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताउनुभएको छ । शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतिको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताएका हुन् । उनले अर्थमन्त्रालय मुलुकको चुनौतिपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन,आर्थिक मितव्ययिता,खर्च कटौती,सुविधा कटौती गर्ने अवस्थामा रहेको बताए ।

‘अहिले अर्थमन्त्रीको हैसियतमा मितव्ययिता,खर्च कटौती,सुविधा कटौतीका निम्ति सिंगो राष्ट्रलाई आग्रह गर्नुपर्ने ठाउँमा छु । हामी सबैलाई थाहा छ मुलुकको आर्थिक सामथ्र्य कहाँ आइपुगेको छ । मुलुकको आम्दानी र खर्च कस्तो रहेको छ । खर्च गर्ने मुलुकको सामथ्र्य कहाँ छ । आजका मितिसम्म आइपुग्दा पनि राजश्व परिचालनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको मात्रै होइन । गत वर्ष यही समयमा जति राजश्व परिचालन गरेका थियौं । त्यो भन्दा पनि पछाडि छौं । राजश्व परिचालनको अवस्था यस्तो छ’, उनले भने ।

अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समिक्षा गर्ने बेलामा समेत राजश्व संकलनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको स्वीकार गरे । उनले गत आर्थिक वर्षमा यही समयमा भएको राजश्व संकलन बराबरको समेत हुन नसकेको बताए । उनले मुलुकले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या रहेको बताए । अर्थमन्त्री पौडेलले साधरण खर्च लिमिट भन्दा माथि भएको भन्दै पुँजीगत खर्च १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताए ।

‘मुलुकले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या रहेका छन् । खर्चको सामथ्र्यको कुरा गर्दा साधरण खर्च लिमिट भन्दा माथि छ । पुँजीगत खर्च १५ प्रतिशतको हाराहारीमा आइपुगेका छौं । जब हामी बजेटको मध्यावधिक समिक्षा गर्ने बिन्दुमा आइपुगेका छौं । मुलुकको आर्थिक अवस्था यस्तो रहेको छ । त्यसले गर्दा यो सबै आर्थिक दृष्टिकोणले जुन किसिमको चुनौति खडा भएको छ । चुनौतिको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई राम्रो बनाउने अभियानमा सबैको साथ सरकारलाई आवश्यक भएको छ । त्यस अर्थमा खर्च कटौतीका निम्ति,मितव्यीताका निमित्त कृषि विकास बैंकको व्यवस्थापनको समेत समर्थनको लागि आग्रह गर्दछु’, उनले भने ।

उनले बजेटको मध्यावधिक समिक्षा गर्ने बिन्दुमा आइपुग्दा समेत १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु अर्थतन्त्र सुधारको लागि चुनौति देखिएको बताए । उनले अर्थतन्त्रमा देखिएको चुनौतिलाई सुधार गर्नको लागि खर्च कटौतीका निम्ति,मितव्ययिताका निमित कृषि विकास बैंकको व्यवस्थापनको समेत साथ पाउने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.