वैदेशिक रोजगारीको भयावह अवस्था, ६ महिनामा ६ सय बढी कामदारको मृत्यु

  २०७९ माघ ४ गते ११:१६     विकासन्युज

काठमाडौं । रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक भयावह छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका गएका ६ सयभन्दा बढी नेपाली कामदारको मृत्यु भएको पाइएको छ ।

वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार गत साउनदेखि पुस मसान्तसम्म विभिन्न २३ देशका ६ सय १२ नेपालीको मृत्यु भएको हो ।

तथ्यांक अनुसार ६ महिनाको अबधिमा सबैभन्दा धेरै साउदी अरेबीयामा १८७ नेपालीले अकालमै ज्यान गुमाएका छन् । यस्तै, युएईमा १०४, दक्षिण कोरियामा ११, कतारमा ११७, मलेसियामा १२३, कुवेतमा ३०, बहराइनमा १२, जापानमा ५ र साइप्रसमा ४ नेपालीले ज्यान गुमाएका हुन ।

रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका ३५० नेपालीको शव ढुवानी गरिएको छ । बोर्डले सार्वजनिक गरेको ६ महिनाको तथ्यांक अनुसार विभिन्न देशबाट नेपाल ल्याईएका ३४९ नेपालीको शव सम्बन्धीत व्यक्तिको घरसम्म ढुवानी गरिएको हो ।

तथ्यांक अनुसार सबैभन्दा धेरै साउदी अरेबियाबाट ल्याईएका १०९ जनाको शव सम्बन्धीत स्थानमा पुर्याईएको छ । यस्तै, युएईबाट ५३, कतारबाट ५०, मलेसियाबाट ९२, कुवेतबाट १९ र बहराइनबाट ७ नेपालीको शव ढुवानी गरिएको हो ।

६ महिनामा ११४ नेपालीले विभिन्न देशमा अंगभंग भएका छन् भने विभिन्न देशमा ज्यान गुमाएका १५५ नेपालीको शव नेपाल ल्याईएको छ ।

३ महिनामा १८ करोड सहायता

वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्षको ३ महिनामा १८ करोड रुपैयाँ बढी बैदेशिक साहायतामा खर्च भएको जनाएको छ ।

बोर्डले विदेशमा मृतु भएका कामदारको परिवारलाई सहायता, औषधोपचार, शव झिकाएर सम्बन्धीत घर ठेगानासम्म शव पुर्याउने तथा अभिमुखीकरण तालिमका लागि १८ करोड ५३ लाख १५ हजार रुपैयाँ खर्च भएको जनाएको हो ।

तथ्यांक अनुसार २८० मृतक कामदारको परिवारलाई आर्थिक सहायताका लागि १६ करोड ७ लाख ५५ हजार रुपैयाँ, अंगभंग भएका ३१ जना कामदारको परिवारलाई १ करोड ३३ लाख ६७ हजार रुपैयाँ, ७ जना कामदारका परिवारलाई औषधोपचारमा ३ लााख ५० हजार रुपैयाँ, ३९ कामदारको उद्धारका लागि सम्बन्धित नियोगसँग समन्वय गर्दा ८ लाख १९ हजार, ६३ जनाको शव झिकाउन ४५ लाख ९८ हजार, २७३ जनाको शव घर ठेगानासम्म पुर्याउन ५३ लाख ६६ हजार र ८५ जनाको अभिमुखीकरण तालिमका लागि ५९ हजार ५ सय रुपैयाँ खर्च भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.