वायुसेवा निगमलाई गौरव गर्न लायक संस्था बनाउँछु : मन्त्री किराती

  २०७९ माघ ३ गते १५:४९     विकासन्युज

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसङ्गतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री किरातीले निगमलाई निगम जस्तो बनाउने बताएका हुन ।

उनले हवाई सुरक्षामा विशेष ध्यान दिने बताउँदै हवाई उडानलाइ व्यवस्थित र सुरक्षित बनाउनका लागि काम गर्ने बताए ।

मन्त्री किरातीले आफन्त, भनसुन र नातागोताका आधारमा कुनै पनि काम नहुने स्पष्ट पारे । आफूले कानुन, विधि र नियमअनुसार नै सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने उनले बताए ।

कोरोना कहरपछि समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न आफू लागिपर्ने उल्लेख गर्दै उनले मुलुकको आर्थिक उन्नतिको केन्द्रमा रहेको पर्यटन क्षेत्रको उन्नयनमा लागिपर्ने स्पष्ट पारे ।

म जहाजको ककपिटमा छु, एकैचोटी जहाज उडाउँदैनौँ, सबै जाँच गरेर मात्रै अब पर्यटन मन्त्रालय अगाडि बढ्छ, जातीय, क्षेत्रीय एवम् नातागोताले अब काम गर्दैन’, उनले भने । यही माघ १ गते मात्रै ठूलो हवाई दुर्घटना भएको र सम्बन्धित मन्त्रालय भएकोले छानबिन समितिलाई सहयोग गर्ने काम हुने उनले बताए ।

हवाई सुरक्षामा विशेष पहल गर्दै थप सुरक्षित बनाउने गरी सबै निकायसँगको समन्वयमा काम गर्ने मन्त्री किरातीको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य किराती मुलुकको ४० औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.