हजारौं विद्यार्थीले रोजेको, समस्याले थिचिएको ज्ञानोदय

  २०७९ माघ ३ गते १५:२३     विकासन्युज

काठमाडौं । समस्याभित्रको सकस अत्यास लाग्दो हुन्छ । कतिपयलाई त्यो सकसले थित्छ । अगाडि बढ्न र सफल हुन दिँदैन । त्यही विवशताले विवश हुँदै धेरैले हार खान्छन् र पछाडि पर्छन् । समस्या देखाउँदै दिनहरु गुजार्छन् । तर, कतिपय व्यक्ति या संस्था भने त्यही समस्याभित्रको सकसलाई पार गर्दै सफल बन्छन् । अल्झनलाई आत्मसाथ गर्दै अब्बल बन्छन् । हो, त्यही व्यक्ति वा संस्था समाजको एक उदाहरणीय र परिचित पात्र बन्छ ।

अहिले देशमा हजारौं निजी तथा सरकारी विद्यालयहरु छन् । काठमाडौं उपत्यकामै पनि सयौं विद्यालयहरु छन् । तर, काठमाडौंको बाफलमा रहेको ज्ञानोदय माद्यामिक विद्यालयको नाम नसुन्नेहरु बिरलै होलान् । सो विद्यालयमा तपाईंलाई सुन्दै अचम्म लाग्ने विद्यार्थी संख्या छ । ज्ञानोदयमा नर्सरीदेखि कक्षा १२ सम्म ४ हजार भन्दा बढी विद्यार्थीले अध्ययन गर्छन् । सीमित जमिन, सीमित जनशक्ति, सीमित भौतिक पूर्वाधार र सीमित प्रविधिका बाबजुत पनि ज्ञानोदय काठमाडौंको एक अब्बल र नमुना विद्यालयका रुपमा परिचित छ ।

हुत त सबै चिजहरुमा अभाव खेपिरहेको यो विद्यालयलाई काम गर्न समस्या नभएको होइन तर त्यही समस्याको सकसभित्र रहेर अब्बल शैक्षिक संस्थाको रुपमा परिचित हुने दौडमा ज्ञानोदय माबि छ । भौतिक पूर्वाधारको सिमितताको कारणले गर्दा विद्यालयले कक्षालाई धेरै सेक्सनमा विभाजन गरेको छ । प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार नर्सरी देखि कक्षा १२ सम्म ८० वटा सेक्सन छन् । एक सय भन्दा कम विद्यार्थी कुनै पनि कक्षामा छैनन् । चालू शैक्षिक सत्रमा सबभन्दा कम कक्षा १ मा एक सय र सबैभन्दा धेरै कक्षा ११ मा छ सय १० जना विद्यार्थीले अध्ययन गर्छन् ।

ज्ञानोदयमा एक सय १० जना शिक्षकले अध्यापन गराउँछन् । जसमध्ये ४५ जना शिक्षकको व्यवस्थापन विद्यालयले आन्तरिक स्रोतबाट गरिरहेको छ । ‘हामीले अभिभावकहरुसँग विद्यालय सञ्चालन गर्ने विषयमा छलफल गर्छौं र उहाँहरुसँग नै सहयोग संकलन गरेर आन्तरिक स्रोत जुटाउन काम गर्छौं’, महर्जनले भने ‘ सहयोग गर्न नसक्नेहरुसँग भने विद्यालयले सहयोग माग्दैन ।’

इजोन कम्पनीले स्कुलको दैनिकी कामलाई सहज होस् भन्ने हिसाबले सफ्टवेयर जडान गरिदिएको छ । प्रध्यानाध्यापक महर्जनका अनुसार सो कम्पनीले जोडिदिएको सफ्टवेयरले शिक्षक–विद्यार्थीको हाजिरी, स्कुलको एकाउन्ट तथा बिलिङ, विद्यार्थीको तथ्यांक र विद्यार्थीको नतिजा सम्बन्धी सम्पूर्ण काम गर्न सकिन्छ । तर, सबै कक्षाकोठामा आवश्यक अनुसार इन्टरनेट जडान गर्न नसकेको कारण सो सफ्टवेयरलाई पूर्ण रुपमा प्रयोगमा ल्याउन नसकिएको उनी बताउँछन् ।

‘हामीले यसलाई ट्रायल गर्यौं तर यसलाई पूर्ण रुपमा प्रयोग गर्न सबै कक्षाकोठामा इन्टरनेट पुग्नुपर्छ, त्यसको व्यवस्था गर्न सकेका छैनौैं’, उनले भने, ‘यदी इजोनले दिएको सफ्टवेयर प्रयोग गर्ने हो भने विद्यालयमा अनुपस्थित भएको विद्यार्थीको अभिभावकलाई तुरुन्त एसएमएसमार्फत् जानकारी दिन सकिन्छ ।’

ज्ञानोदय माबिका प्राधानाध्यापक नातिकाजी महर्जन ।

ज्ञानोदयलाई माइक्रोसफ्ट कम्पनीले पनि माइक्रोसफ्ट टिमको एकाउन्ट निःशुल्क उपलब्ध गराएको छ । जसलाई ग्रुपमा अर्थात् ठूलो संख्यामा विद्यार्थीहरु एकैपटक अनलाइनमा पढाउन सकिने सकिन्छ । सन् २०१७ मा दक्षिण कोरिया सरकारले स्कुलमा आइटी ल्याब बनाइदिएको छ । पाकिस्तान राजदुतबासले पनि दर्जनौको संख्यामा कम्प्युटर दिएको छ । तर, स्कुलमा आइटी जनशक्ति भने छैन ।

महर्जनका अनुसार विद्यालयले ५ जना कम्प्युटर शिक्षक राखेको छ । तिनै शिक्षकहरुबाट कम्प्युटरसम्बन्धी सम्पूर्ण विषयहरुलाई सञ्चालन गर्ने काम भइरहेको छ । परम्परागत ढंगले अध्यापन गर्दै आएका शिक्षकहरुलाई एकैपटक आधुनिक बनाउन नसकिने तर विस्तारै अभ्यस्त बनाउन सकेमा त्यो सम्भव हुने देखिएको महर्जन बताउँछन् ।

‘लकडाउन अगाडि दशैं विदाको समयमा हामीसँग भएको ४० वटा ट्याब मैले शिक्षकहरुलाई दिएँ, उहाँहरु कसैलाई त्यस विषयमा ज्ञान थिएन, मैले घरमा लिएर सिक्नुस्, छोराछोरीबाट भए पनि सिक्नुस् भनेपछि उहाँहरुले लिनु भयो, एक महिनापछि उहाँहरु त्यसलाई प्रयोग गर्न सक्षम हुनु भयो, त्यसले पनि हामीलाई सघाउ पुग्यो,’ उनी भन्छन्, ‘विद्यालयमा आईटीको सामानहरु भएपनि जनशक्ति छैन ।’

उनी आईटीको शिक्षक नै नभएपनि आइटी पढाउन सुरु गरेको बताउँछन् । ज्ञानोदयमा धेरै राजनीतिकर्मी, अभिभावक र संस्थाहरुको पनि सहयोगको लागि ध्यान पर्ने गरेको देखिन्छ । विद्यालयले १५ वटा कक्षामा प्रोजेक्टर जोडेको छ । प्रअ महर्जन केही विषयहरु प्रोजेक्टरबाट पढाउन निकै सजिलो भएको बताउँछन् । ‘विज्ञान, अंग्रेजी, सामाजिक लगायतका विषयहरुमा राम्रोसँग प्रयोग भएको छ’, उनी भन्छन् ।

पढाउँदा एउटै विधि र प्रविधि प्रयोग गर्ने विषय पनि उपयुक्त नहुन सक्ने उनको धारणा छ । उनी स्वयं आफूले विज्ञान विषयको अध्यापन गर्दा प्रोजेक्टरको प्रयोग नगर्ने सुनाउँछन् । ‘कुनै शिक्षकले प्रोजेक्टर प्रयोग गर्नुहुन्छ, कसैले यसै आफ्नो तरिकाले पढाउनुहुन्छ, प्रविधिको नाममा दिनभरी विद्यार्थीलाई एउटै विधिबाट पढायो भने पनि त वाक्क हुनसक्छ नी होइन ?’ उनी भन्छन् ।

स्कुलका ९ वटा कक्षामा टिभी बोर्ड पनि जडान गरिएको छ । एउटा स्मार्ट कक्षा कोठा छ । आइसिटी कक्षामा पनि इन्ट्रयाक्टिभ बोर्ड छ । भिजुअलाइज गरेर अध्यापन गर्नको लागि स्मार्ट प्रविधि निकै उपयोगी हुने गरेको उनी बताउँछन् ।

महर्जनले अध्यापन पेशा थालेको वि.स. २०४६ सालदेखि हो । ज्ञानोदयमा उनले २०७१ सालबाट प्रधानाध्यापकको जिम्मेवारी लिएका हुन् । आफुले बुझेदेखि विद्यालयको अवस्थामा धेरै परिवर्तन आएको उनी सुनाउँछन् । ‘खोलाको छेउको जग्गामा सुरु भएको विद्यालयको आफ्नै जग्गा समेत थिएन, कतिपय दाताहरुले दिनुभो र कतिपय किनेर अहिलेको अवस्थामा आइपुगेको हो’, महर्जन भन्छन् ।

अहिले विद्यालयलाई आवश्यक बनेको भवनले आवश्यकताअनुसारको कक्षाकोठा बनाउन नै नपुगेको उनी गुनासो गर्छन् । क्यान्टिन चलाउनको लागि दुईवटा कोठा छुट्याएका छन् । विद्यार्थीको संख्याले क्यान्टि पनि धान्न मुस्किल भएको उनी सुनाउँछन् ।

झण्डै साढे चार हजार पढ्ने स्कुलले गाडीको व्यवस्था गरेको छैन । कतिपय अभिभावकहरुले गाडी राख्ने सुझाव दिने गरेको तर त्यसका लागि विद्यालयसँग धेरै समस्या रहेको उनी बताउँछन् । ‘गाडी राख्नलाई हामीसँग ठाउँ नै छैन, गाडी राखेपछि चलाउने मान्छे चाहियो, चलाउने मान्छे एउटा शिक्षक भन्दा महंगो हुँदा रहेछ, ड्राइभर पाल्ने पैसाले बरु एउटा शिक्षक आउँछ जस्तो लाग्छ’, प्रअ महर्जन भन्छन् ।

विद्यालयको प्राङ्गण विद्यार्थी संख्याको अनुपातमा निकै साँघुरो छ । विद्यार्थी स्कुल आउने समय, मध्यान्तर समय र छुट्टी हुने समय विद्यार्थी नै अट्दैनन् । ‘हामीलाई कक्षाकोठा पुगेको छैन, प्राङ्गण पुगेको छैन तर बनाउने ठाउँ छैन’, उनी थप्छन्, ‘सरकारले भवन बनाउने पैसा दिन्छ तर जमिन किन्ने पैसा दिँदैन ।’ दुई/चार पटक भवन बनाउनको लागि सरकारमार्फत् आएको पैसा फिर्ता गएको उनी सुनाउँछन् ।

‘नजिकै केही जग्गा पाइएको छ, विद्यालयलाई दिने भनेका छन् तर हामीसँग किन्ने पैसा छैन,’ उनी भन्छन्, यसमा हामीलाई सरकारको सहयोग चाहिएको छ ।’ शिक्षा पेशामा ३३ वर्ष काम गरेका महर्जन विद्यालयलाई व्यवस्थित डिजिटलाइज्ड गर्न चाहन्छन् । तर, उनीसँग ज्ञानोदयको सरकारी सेवामा रहिरहन अब उमेरले धेरै दिँदैन । उनी अर्को वर्ष रिटायर्ड हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.