नयाँ सरकार आएपछि सेयर बजार र बैकिङ क्षेत्र सुधार भयो : महासेठ

  २०७९ माघ १ गते ८:०४     विकासन्युज

काठमाडौं । नेकपा (एमाले) का सचिव, सांसद तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले सरकार गठन भएको ७ दिनभित्र आर्थिक स्थिती र सेयर बजारमा फड्को मारेको बताएका छन् । काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै महासेठले सरकार गठन भएको ७ दिनभित्रै मुलुकको आर्थिक स्थिति, सेयर बजार र बैकिङ क्षेत्रतर्फ सुधार भएको महशुस जनताले गरेका छन् ।

‘सरकार गठन भएको ७ दिनभित्रै मुलुकको आर्थिक स्थिति सुधार हुँदै गएको छ, सेयर बजार र बैकिङ क्षेत्रमा पनि सुधार भएको महशुस जनताले गरेका छन्,’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै नेपाली कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्षी दल नभएको उनले बताएका छन् । कांग्रेसले के उद्देश्य राखेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्ने कुरा माघभित्रै सबै छर्लङ् हुने उनको दाबी छ । एमालेको प्रयास र माओवादी केन्द्रको समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको उनले टिप्पणी गरे ।

‘अहिले देशको राजनीति कांग्रेसको मिश्रित चंगुल र दलदलबाट एमालेको प्रयासबाट त्यो राजनीतिलाई बाहिर ल्याईएको छ, यो देश र राष्ट्रियताको लागि ठूलो जरूरी थियो,’महासेठले अघि भने,‘एमालेको पहल र माओवादीको सहयोगमा राजनीतिलाई कांग्रेसको दलदलबाट बाहिर निकाल्ने काम भएको छ, यसको रिजल्ट ६ महिनापछि थाहा हुन्छ ।’

उनले नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको थियो भन्ने कुरा ६ महिनापछि थाहा हुने सनसनीपूर्ण टिप्पणी गरे । उनले अब विस्तारै पर्दा खुल्दै जाने बताए । महासेठले देशको राजनीति हिजोभन्दा (२०७९ साल मंसिर ४ गते सम्पन्न भएको निर्वाचन) भन्दा अघिको स्थिति र अहिलेको स्थितिमा धेरै फरक रहेको पनि दाबी गरे ।

‘हिजो कांग्रेसले केही मित्रराष्ट्र शक्तिहरुको भरमा यहाँका साना–साना पार्टीलाई मिलाएर देशलाई एउटा अलग बाटोमा लगेको थियो, जुन बाटोमा जाने प्रयास भएको थियो त्यसलाई एमाले र माओवादीको सहयोगले रोक्ने काम भएको छ । र, आज देशमा ७ दलको सरकार बनेको छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनिसकेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा÷परिचर्चा बढि नै हुने गरेको पनि उनको भनाई छ । देशी तथा विदेशी शक्तिले बढि खेलिरहेको उनले आरोप लगाए ।

‘नेपालको भविष्य हामीले बनाउने हो, पञ्चशीलमा आधारित परराष्ट्र नीतिअनुसार सम्बन्ध राम्रो बनाउन चाहन्छौं, एमालेको सोच पनि हो, आर्थिक स्थिति दयनीय अवस्थामा थियो, सामाजिक स्थिति करिब–करिब बिग्रन लागिसकेको थियो, राजनीतिक स्थिति त कुरै छोडौं, नेपालमा योभन्दा पहिलेको सरकारले नेपालीपनले काम गरेको भए त पक्कै राम्रो हुने थियो, देशले हाललाई निकास पाएको छ,’ उनले भने ।

उनले वर्तमान सरकार बाध्यतात्मक अवस्थामा बनेको उल्लेख गर्दै यसले देश र जनताको अहित हुनेगरि कुनै काम नगर्ने विश्वास दिलाए । यद्धपी २०७४ फागुन ३ गते एमाले र माओवादीको एकतापछि बनेको तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारजस्तै काम यो सरकारले गर्न भने नसक्ने उनको ठोकुवा छ ।

‘त्यो राष्ट्रवादी र वापमन्थीहरको सरकार थियो, त्यति काम त यो सरकारले गर्दैन्, यो सरकारमा विभिन्न विचारधारा भएकाहरुको सहभागिता छ, सबैको सल्लाह लिएर यो सरकार अघि बढिरहेको छ, ०७४ कै सरकारजति यो सरकारसँग अपेक्षा गर्न सकिँदैन् तर, हिजोको कांग्रेस सभापति शेरबहादुर देउवाजीको सरकारभन्दा यो सरकारले वास्तवमा धेरै राम्रो काम गर्नसक्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.