दुई करोड लगानीमा ४ ठाउँमा ट्रक स्टेशन निर्माण गर्दै उपाय सिटी कार्गो

  २०७९ पुष २७ गते १३:४४     विकासन्युज

काठमाडौं । लजिष्टिक कम्पनी उपायले देशभरका चार ठाउँमा ट्रक स्टेशन अर्थात उपाय स्टेशन निर्माण गर्ने भएको छ । कम्पनीले ट्रक व्यवसायीहरुको सुविधाका लागि ट्रक पार्किङ तथा खाना बस्नका लागि देशभरका चार ठाउँमा ‘उपाय स्टेशन’ निर्माण गर्ने भएको हो ।

कम्पनीले विराटनगर, विरगञ्ज, बुटवल र नेपालगञ्जमा स्टेशन निर्माण गर्ने तयारी गरेको छ । पहिलो चरणमा विराटनगरमा भने स्टेशन निर्माण भइसकेको कम्पनीका प्रबन्ध निर्देशक सुमन रायमाझीले बताए ।

विराटनगरको स्टेशन माघभित्रै सञ्चालनमा आउने उनले बताए । उनका अनुसार एउटा स्टेशन निर्माण गर्न ५० लाख रुपैयाँ लाग्नेछ भने चारवटा निर्माण गर्न दुई करोड रुपैयाँ खर्च हुनेछ । विराटनगरमा दुई बिघा जग्गा लिएर स्टेशन निर्माण गरेको उनले बताए । त्यसमा ७० वटा ट्रकहरु पार्किङ गर्न मिल्ने उनको भनाइ छ ।

‘उपाय स्टेशनमा नुहाउने र खाना खाने, बस्ने र अन्य मनोरञ्जन खेदको पनि व्यवस्था हुन्छ, हामीले सहुलियत शुल्कमा ती सबै सुविधाहरु दिनेछौं, सँगै वर्कसप पनि हुनेछ, यसले व्यवसायीहरुलाई सहज पनि हुने हाम्रो विश्वास छ,’ उनले भने ।

उपाय नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डको पहिलो लगानी हो । सन् २०१८को अन्त्य तिर सुरू भएको उपाय सिटी कार्गोले काठमाडौं लगायत मुख्य शहरहरूमा सामान ढुवानीको सुविधा दिँदै आएको छ । यस कम्पनीमा हजारौं चार पांग्रे र दुई पांग्रेका चालकहरू आवद्ध छन् ।

प्रविधिको साहयताले कम्पनीले ढुवानी सेवा दिँदै आएको छ । यो लगानीले नेपालमा लजिस्टिक प्रणालीको मेरुदण्ड ‘लजिस्टिक पूर्वाधार’को विकासमा सहयोग पु¥याउनेमा लगानीकर्ताहरू विश्वस्त छन् ।

मंगलबार उपाय र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड (एनआईआईएफ) बीच ६ करोडको लगानी सम्झौता पनि भएको थियो । उपायले यो भन्दा अगाडि सन् २०२१ मा डोल्मा ईम्प्याक्ट फण्ड बाट १८ करोड रुपैयाँको लगानी प्राप्त गरेको थियो ।

‘उपाय २.० विशेष रूपमा पूर्वाधार सरंचना र प्रविधि विकासमा लक्षित रहनेछ । आफ्ना चालक÷सवारी साझेदारहरु, फ्रेन्जाइज साझेदारहरु, व्यापारिक साझेदारहरु र गठबन्धन साझेदारहरुलाई समावेश गरी नेपालको सम्पूर्ण ढुवानी क्षेत्रको उत्थान र विकासमा यो योजना कोशेढुङ्गा हुनेछ,’ प्रबन्ध निर्देशक रायमाझीले भने ।

रायमाझी मोबाइल एपमार्फत् कुनै पनि सामान मुलुकभर पठाउने काम पनि भइरहेको बताउँछन् । यसका लागि यातायात व्यवसायीहरुसँग सहकार्य भइरहेको पनि उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.